युवा विदेश पलायन : तराईका फाँट बाँझै
टीकापुर : जानकी गाउँपालिका–६ का रामबहादुर विकको घरसँगै जोडिएको तीन क्विन्टल धान फल्ने एक बिघा जमिन बाँझै छ। केही वर्षअघि अरूको खेतमा समेत खेती गर्दै आएका उनका दुवै छोरा विदेश लागेपछि ६७ बर्से उनले खेत बाँझै छाडेका हुन्।
कामको खोजीमा उनका जेठा छोरा ४ वर्षअघि भारत पसे भने कान्छा छोरा २ वर्षदेखि मलेसियामा छन्। खेतीपाती गर्ने छोरा विदेसिएपछि रामबहादुरको उर्वर जमिन बाँझै रहेको हो। ‘३ वर्षअघिसम्म ३० क्विन्टल धान र १८ क्विन्टलसम्म गहुँ फलेको यो खेत अहिले बाँझै छ’, खेत देखाउँदै रामबहादुरले भने। ‘काम गर्ने दुइटै छोरा विदेसिए, अधिया बनाउने मान्छे भेटिँदैनन् आफूले गर्न सकिन्नँ।’
रामबहादुर मात्रै नभई उनकै गाउँका अन्य किसानको अवस्था पनि उस्तै छ। काम गर्ने उमेरका युवा धमाधम विदेसिन थालेपछि अधिकांश उब्जाऊ जमिन बाँझो रहन थालेको छ। जानकी गाउँपालिका–९ का हरि चौधरी कुनै समय १५ बिघा जमिनमा खेती गर्दै आएका थिए। १८ जनाको उनको ठूलो परिवारका ४ जना विदेशमा छन्। घरमा वृद्ध हरि, ४ बुहारी र बालबालिका मात्र छन्।
खेतीकिसानी गर्ने छोराहरू विदेसिएपछि उनले आफ्नै ३ बिघा जमिन अधियाँ (बटैया) दिएका छन्। अधियाँबाट आएको धान, गहुँले उनको परिवारलाई खान पनि धौ धौ हुन्छ। ‘मेरो परिवार ठूलो छ, अधियाँबाट आएको त खान पनि पुग्दैन’, छोरा विदेसिएपछि खेती छाडेको बताउँदै उनले भने, ‘विदेशबाट उनीहरूले पठाएको पैसाले किनेर खाने गरेका छौं।’
आफ्नो उर्वर जमिन बाँझै राखेर किनेर खानुपर्ने बाध्यता अहिले कैलालीका धेरै किसानको छ। गाउँघरका युवाहरू विदेसिनेको लहर नै चलेपछि खेतीयोग्य जमिनसमेत बाँझै रहने गरेको छ। ‘गाउँका धेरै युवा विदेसिएका छन्, राम्रो आम्दानी नहुने भएपछि खेतीयोग्य जमिन पनि बाँझै रहने अवस्था छ’, टीकापुर नगरपालिका–३ का कालिराम थारुले भने, ‘पहिले पहिले किसान विदेश जाँदैनथे, खेतबारीमै काम गर्थे तर अचेल विदेश जानेको लहर नै चलेको छ, त्यसैले खेतीयोग्य जमिन बाँझै छ।’
यस क्षेत्रका बासिन्दाहरु अधिकांश भारत जाने गरेकोमा पछिल्लो समय मलेसिया, दुबई, कतार, दक्षिण कोरिया र केही युवाहरु जापान समेत पसेका छन्। भारत पसेकाहरू खेतीपातीका बेला घर आउने भए पनि तेस्रो मुलुक जानेहरू भने २÷३ वर्षमा आउने गरेकाले खेत बाँझै रहन थालेका हुन्। टीकापुर नगरपालिकाले केही समयअघि सार्वजनिक गरेको नगर पाश्र्वचित्रको तथ्यांकअनुसार यो नगरपालिकाबाट मात्रै झन्डै १८ हजार विदेसिएका छन्।
खेतीयोग्य जमिन बाँझो हुनुको कारण युवाहरू विदेसिनु मात्र होइन। समयमा मलखाद नपाउनु, सिँचाइ नहुनु, उत्पादनको उचित मूल्य नपाउनुले पनि कृषि पेशाप्रति कृषक उदासिन बन्दै गएका किसानहरु नै बताउछन।
काम गर्ने उमेरका युवा धमाधम विदेसिन थालेपछि अधिकांश उब्जाऊ जमिन बाँझो रहन थालेको छ।
लागत अनुसार किसानले उत्पादनको मूल्य नपाउनु र समयमा मलखाद्य उपलब्ध नहुनुले पनि किसानहरु खेती गर्न छोड्दै गएका छन्। टीकापुर नगरपालिका वडा नं. १ लक्ष्मीराज शर्माले वर्षभरि मेहनत गरेको उत्पादनको मूल्य सरकारले समयमा नतोकेपछि सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताए।
‘यो पटक युरिया नै पाइएन, सरकारले धानको मूल्य किसानको धान बिक्री भएपछि मात्रै तोक्छ’ शर्माले भने ‘युवाहरु विदेसिन थाले, जसले खेती गरिरहेका छन्, तीनलाई पनि सरकारले प्रोत्साहन गर्दैन, त्यसैले यहाँका अधिकांश जमिन बाँझै छन्।’
युवाको विदेस मोह र कृषिप्रति सरकारको उदासिनताले खाद्यान्नका लागि उर्बर भूमि मानिएको कैलालीमा जमिन बाँझै रहने गरेको छ। विदेसमा पसिना बगाएर कमाएको रेमिट्यान्ससमेत वैदेशिक रोजगारीमा गएका परिवारहरुले खाद्यान्न किन्नमा खर्चने गरेका छन्। यसले एकातर्फ जमिन बाँझै रहने गरेको छ भने अर्कोतर्फ विदेशमा बगाएको पसिनासमेत खाद्यान्न खरिद जस्ता न्यूनतम आवश्यकता पूर्ति मै खर्च हुने गरेको छ।