नेपालको पूर्वाधार क्षेत्रमा भारतीय लगानी आवश्यक : राजदूत आचार्य
नयाँ दिल्ली : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले आर्थिक सामाजिक तथा सांस्कृतिक समानताको आधारमा घनिष्ट रहेको नेपाल-भारतबीचको सम्बन्धलाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए। अति निकट छिमेकी भएर पनि गहिरो रुपमा जोडिन नसकेको भन्दै राजदूत आचार्यले यसका लागि भारतले गरेको द्रूत आर्थिक प्रगतिलाई नेपालको विकासमा पनि लगाउनुपर्नेमा जोड दिए।
राजधानी दिल्लीमा आयोजित उद्योगी व्यवसायीको एक अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै राजदूत आचार्यले भने, 'नेपालमा राजनीतिक स्थिरता आएको छ, आर्थिक समृद्धिको पथमा अगाडि बढेका छौं, अबको विकासका लागि हामीले भारतले द्रूत गतिमा गरेको विज्ञान,प्रविधिको विकासलाई नेपाल भित्र्याउनुपर्छ।भारतले नेपालमा अहिलेसम्म जति गरेको छ त्यो भन्दा धेरै गर्न बाँकी छ।'
यसका लागि भारतीय उद्योगी व्यवसायीलाई उद्योगी व्यवसायीलाई संभावना भएका क्षेत्रबारे अध्ययन गरेर लगानी विस्तार गर्न पनि राजदूत आचार्यले आग्रह गरे। पिचडी चेम्बर अफ कमर्शको भारत नेपाल केन्द्रले आयोजना गरेको कार्यक्रममा राजदूत आचार्यले नेपालको अन्य मुलुकसँगको मित्रताले भारतका लगानीकर्ता सशंकित हुन जरुरी नरहेको पनि स्पष्ट पारे।
नेपालका लगानी संभावना भएका क्षेत्रमा चीनको बढ्दो आर्थिक सहकार्यबारे चर्चा हुने गरेको भारतीय लगानीकर्ताबीच राजदूत आचार्यले यस्तो स्पष्ट पारेका हुन् । उनले भने, 'नेपालका अन्य मित्रराष्ट्रसँगको सम्बन्धले नेपाल भारतबीचको निकटतम सम्बन्धलाई प्रतिस्थापन गर्न सक्दैन् ।'
नेपालको आर्थिक विकासका लागि अथाह संभावना रहेको जलविद्युत, पर्यटन,सडक तथा यातायात पूर्वाधारलगायतका क्षेत्रमा भारतीय लगानी आवश्यक रहेको औंल्याए। अन्तराष्ट्रिय लगानीकर्ताको चासो रहेको बुद्धिस्ट सर्किटका संभावनाबारे नेपाल सरकारको गम्भीर पहल आवश्यक रहेको भारतीय पूर्व ब्यूरोक्रेट एमपी बेजबरुवाले उल्लेख गरे।
अन्तराष्ट्रिय सभा सम्मेलनका लागि भारतीयहरु सिंगापुर, मलेसियालगायतका मुलुक पुग्ने गरेको सन्दर्भ उल्लेख गर्दै यही प्रयोजनका लागि स्थलको रुपमा नेपालको संभावना प्रशस्त रहेको बरुवाले औंल्याए।
नेपालका लागि पूर्व भारतीय राजदूत केबी राजनले संघीय राज्य प्रणालीमा गइसकेको नेपालमा अब लगानीका लागि संघीय सहकार्यको संभावना औंल्याए। पूर्वाधार विकासका लागि नेपाल- भारत संयुक्त परियोजनाको परिकल्पना गर्न सकिने संभावना पनि उद्योगी व्यवसायीले औल्याएका थिए
।
कार्यक्रममा दक्षिण एशिया विश्वविद्यालयकी सहायक प्राध्यापक मल्लिका शाक्यले दुई मुलुकबीच नेपालमा लगानीका लागि उद्योगी व्यवसायीले यस क्षेत्रका वौद्धिक सहयोग लिनुपर्ने सुझाव राखिइन्।
आफनो कलेजमा नेपाल भारत कला तथा संस्कृति मञ्चको स्थापना गरेर दुई मुलुकबीच कला क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै मारवाह स्टुडियोजका अध्यक्ष संदीप मारवाहले नेपालको फिल्म तथा कला क्षेत्रमा थप सहकार्यका लागि आफू सदैव तयार रहेको बताए।
हाल दुई सय नेपाली विद्यार्थी अध्ययनरत रहेको पनि मारवाहले उल्लेख गरे। भौतिक पूर्वाधारको विकासका लागि नयाँ प्रविधिको प्रयोगबाट कम लागत तथा छिटोभन्दा छिटो समयमा संरचना तयार पार्ने बताउँदै त्यस क्षेत्रका विज्ञले आफूहरु नेपाल सरकारसँग काम गर्न तयार रहेको इच्छा व्यक्त गरे।
इकमर्श, बुद्ध सर्किट , रामायण सर्किट, इको टुरिजमका साथै शिक्षा,स्वास्थ्यको क्षेत्रमा हब नै बनाउन सकिने संभावना रहेको पनि भारतीय उद्योगीहरुले उल्लेख गरे। दूतावासका अनुसार लगानी सम्मेलनमा भारतका तर्फबाट १ भन्दा बढी उद्योगी व्यवसायीहरु सहभागी हुँदैछन्।