नगरपालिकामा तालाबन्दी
मुगु : छायानाथ रारा नगरपालिकामा जनप्रतिनिधिले तालाबन्दी गरेका छन्। मेयर हरिजंग शाहीले एकलौटी काम गरेको भन्दै जनप्रतिनिधिले नै आइतबार नगरपालिकामा तालाबन्दी गरेका हुन्।
तालाबन्दीले चार दिनदेखि नगरपालिकाबाट प्रवाह हुने सबै सेवाहरु ठप्प भएका छन्। नगरपालिकाको मुल गेट र अन्य फाँटमा तालाबन्दी गरेपछि नगरपालिकाबाट प्रवाह हुने सबै काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्।
मेयर शाहीले प्रदेश सरकारको ऐन विपरित ९ महिनासम्म पनि नगरसभा नबोलाएको, ४ महिनादेखि नगर कार्यपालिका बैठक नबोलाएको, नगरको वार्षिक समीक्षा समेत नगरेको लगायत मेयरमाथि आरोप लगाएका छन्।माग पूरा नभएसम्म नगरपालिकामा तालाबन्दी जारी रहने उप मेयर सुन्तला रोकायाले बताइन्।
'विद्यालयको कामका लागि नगरपालिकामा आउँदा नगरपालिकाको मुलगेटमै तालाबन्दी गरेको रहेछ।बन्दका कारण कसैलाई नभेटाएपछि विद्यालयको काम नगरेरै फर्कनु परेको छायानाथ रारा नगरपालिका-११ स्थित प्रभात माध्यामिक विद्यालय रोवाका शिक्षक मैनादल बुढाले बताए।
नगरपालिकामा तालाबन्दी भएपछि मेयर र उपमेयर दुवै पक्षलाई छलफल गराउन खोजे पनि मेयर जिल्ला बाहिर गएका कारण छलफल हुन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए।
नगरपालिकामा तालाबन्दी भएपछि सेवा प्रवाह रोकिएको छ भने कर्मचारी घाम तापेर घर फर्किरहेको छायानाथ रारा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख परशुराम नेपालीले बताए।
चार दिनदेखि उप मेयर सुन्तला रोकायाको नेतृत्वमा १६ जना कार्यपालिका सदस्य र वडा अध्यक्षले तालाबन्दी गरेपछि नगरपालिकामा सेवा लिन आएका सेवाग्राहीहरु मर्कामा परेको सोही गाउँपालिका-१२ का नन्दलाल बढुवालले बताए।