सेवाग्राहीलाई मुक्का हान्ने अड्डामा मन्त्रीको छड्के (फोटो र भिडियो)
मनिका झा/राजकरण महतो
कर्मचारीले काम नगरेर सास्ती भएको दुःखेसो पोख्ने सेवाग्राहीले मन्त्री यादवसँग गुनासो गरेका हुन्। मन्त्री यादव कार्यालयको अनुगमनमा करिब ४५ मिनेट रहँदा सेवाग्राहीले हरेक काममा सास्ती सहनु परेको गुनासो सुनाएका छन्।
कार्यालयको मुख्य गेटमा ताला लागेकाले छड्के पुगेका मन्त्री करिब पाँच मिनेट बाहिरै उभिनु परेको थियो। त्यत्तिबेलासम्म उनलाई २० बढी सेवाग्राहीले फारम देखाउँदै कार्यालयमा सहनु परेको सास्ती सुनाएका थिए।
श्रम तथा रोजगार कार्यालयमा सेवाग्राहीले दुःख पाएको गुनासो बढ्दै गएपछि मन्त्री यादव बुधबार अनुगमनका लागि पुगेका हुन्।
सेवाग्राहीलाई मन्त्री यादवले चाँडै सबै प्रक्रिया ठिक हुने आश्वासन दिएका छन्। मन्त्री यादवले कार्यालयका निमित्त प्रमुख मनोज यादवसँग भेटेर काममा ढिलाइबारे बुझेका थिए।
प्रमुख यादवले कर्मचारी अभाव, प्राविधिक कठिनाइले समयमै काम गर्न नसकिएको जानकारी गराए। मन्त्री यादवले कार्यालय प्रमुखलाई सेवाग्राहीको लागि बस्ने, खानेपानी र शौचालयको उचित बन्दोबस्त मिलाउन निर्देशन दिए।
‘कार्यालयको सेवाप्रति जनताबाट निकै गुनासो आयो’, मन्त्री यादवले भने, ‘समयमा काम हुँदैन्, काम भन्दा पनि जनताले सास्ती पाइरहेका छन्। कर्मचारीको पनि अभाव छ।’ उनले सबै समस्याको समाधानका लागि प्रदेश सरकारले पहल गर्ने बताए। भिडियाे : राजकरण
श्रम कार्यालयको वेथितिबारे अन्नपूर्ण पोस्ट्मा चैत ५ गते ‘पहिला मुड्की अनि श्रम स्वीकृति’ शीर्षकमा समाचार छापिएको थियो।