चिकित्सा शिक्षा आयोग गठन गर्न तीन कार्यदल
काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोग गठनबारे गृहकार्य गर्न तीन कार्यदल गठन गरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले प्रवेश परीक्षा शुल्क, संगठन संरचना निर्माण तथा नियमावली तर्जुमा गर्न छुट्टाछुट्टै कार्यदल गठन गरेको हो।
संगठन संरचना निर्माण तथा नियमावली तर्जुमा गर्न शिक्षा मन्त्रालयका सचिव खगराज बराल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव पुष्पा चौधरी रहेको दुई सदस्यीय कार्यदल गठन गरिएको हो। शुल्कबारे अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य उषा झा र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष भीमप्रसाद सुवेदी सदस्य रहेको अर्को कार्यदल गठन गरिएको छ।
प्रवेश परीक्षा सञ्चालनबारे अध्ययन गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बास्कोटालाई जिम्मेवारी दिइएको छ। बैठकले हरेक कार्यदललाई आफ्नो कार्यविधि आफैं बनाउने, आवश्यकताअनुसार कार्यदल गठन गर्ने, आवश्यक जनशक्ति थप्ने तथा आवश्यकता परेको अवस्थामा विज्ञको सहयोग लिनेलगायत अधिकार कार्यदललाई दिएको छ।
कार्यदललाई उपसमिति गठन गर्ने अधिकार दिइएको छ।
शिक्षा मन्त्रालयका अनुसार कार्यदललाई उपसमिति गठन गर्ने अधिकार पनि दिइएको छ। यसको समन्वय शिक्षा मन्त्रालयले गर्ने पनि बैठकले निर्णय गरेको छ। कार्यदललाई एक महिनाभित्र कार्यविधि बनाउन भनिएको छ।
बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, योजना आयोगका सदस्य झा, अनुदान आयोगका अध्यक्ष सुवेदी तथा मेडिकल काउन्सिलका अध्यक्ष बास्कोटा र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्रकुमार यादव पनि सहभागी थिए। दुई साताअघि प्रधानमन्त्री काार्यलयमा आयोगको पहिलो बैठक बसेको थियो।