निर्वाचन आयोगले दल दर्ता गर्न अस्वीकार गरेपछि विवेकशील गयो सर्वाेच्चमा
काठमाडौं : दल दर्ता गर्न अस्वीकार गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध विवेकशील नेपालीले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको छ। विवेकशील साझाबाट विभाजित भएर बनेको विवेकशील नेपाली दल दर्ताका लागि आवश्यक केन्द्रीय सदस्यको संख्या नपुगेको भन्दै आयोगले दर्ता गर्न अस्वीकार गरेको थियो।
विवेकशीलले पुस २७ मा दल दर्ताका लागि आयोगमा निवेदन थियो। फागुन २८ गते बसेको आयोगको बैठकले दल दर्ताका लागि आवश्यक संख्या नपुगेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो। पार्टी विभाजनका बेला विवेकशील साझामा ३७ जना सदस्य रहेको दाबी गरेको विवेकशील नेपालीले १६ जना केन्द्रीय सदस्यसहित दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो।
आयोगले भने ३३ जना मात्र केन्द्रीय सदस्य रहेको भन्दै विवेकशील नेपालीले दिएको केन्द्रीय सदस्यको विवरणलाई मान्यता नदिएको हो। ‘१६ जनाले विवेकशील नेपाली दल दर्ताका लागि आयोगमा निवेदन दिएका थियौं। सो संख्या राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको दलसम्बन्धी ऐनको दफा ३३ (२) ले निर्दिष्ट गरेबमोजिम ४० प्रतिशतभन्दा बढी छ’, विवेकशील नेपालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आयोगको घोर अन्यायपूर्ण र कानुनविपरीत रहेको हाम्रो ठम्याइ छ। गलत निर्णय सच्याउन सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गराएका हौं।’