थाइल्यान्डमा सात दलीय गठबन्धन
एएफपी/ बैंकक : थाइल्यान्डका सातवटा दलले बुधबार नयाँ गठबन्धन बनाएका छन्। सन् २०१४ मा भएको सैनिक ‘कु’पछिको पहिलो निर्वाचनलगत्तै उनीहरूले गठबन्धन बनाएका हुन्। यही गठबन्धनले नै नयाँ सरकार बनाउने प्रयास गर्ने भएको छ। निर्वाचनको वैधानिकता र निष्पक्षतामाथि भने कतिपयले प्रश्न उठाइरहेकै बेला उनीहरूले गठबन्धन बनाएर सरकार बनाउने कसरत शुरु गरेका हुन्।
स्वेच्छिक निर्वासनमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको समर्थन रहेको फिउ थाई पार्टी सहित अन्य ६ दल गठबन्धनमा सहभागी छन्। ‘हामीले सरकार बनाएर शक्तिको दुरुपयोग रोक्न चाहन्छौँ’, फिउ थाईका तर्फबाट प्रधानमन्त्रीका उम्मेदवार सुदारात केयुराफानले भने। लोकतन्त्रका पक्षधर दलहरूलाई नै जनताले विश्वास गर्दै साथ दिएको बताएका छन्। गत आइतवार सम्पन्न मतदानको अन्तिम नतिजा भने औपचारिक र आधिकारिक रूपमा अहिलेसम्म सार्वजनिक गरिएको छैन। कुनै कारणबिना नै मतगणनाको पूर्ण परिणाम सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै निर्वाचन आयोगको आलोचना भएको छ।
निर्वाचन आयोगका अधिकारीले भने ‘मानवीय त्रुटीका कारण’ मतपरिणाम ढिलाइ भएको दाबी गरेका छन्। यसैबीच पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले भने निर्वाचनमा ‘व्यापक धाँधली’ भएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा अधिकांशले सिनावात्राको भनाइप्रति सहमति जनाएका छन्। कतिपय स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘मतगणना पारदर्शी नभएको तथा मतपरिणाम निकै त्रुटिपूर्ण’ रहेको बताएका छन्।
उनीहरूले अनुगमनका क्रममा देशव्यापी रूपमा मत किनबेच भएको आरोप लगाएका छन्। सत्ताच्युत प्रधानमन्त्री थाक्सिन सिनावात्रा र सेना समर्थकहरूबीचको सत्ता संघर्षका कारण थाइल्यान्डमा केही वर्षयता राजनीतिक अस्थिरता रहेको छ। कुल ७५० सिट रहेको थाइल्यान्डको संसद्को तल्लो सदनमा ५ सयजना निर्वाचनमार्फत छानिन्छन् भने माथिल्लो सदनमा २ सय ५० सिटमा सेनाले मनोनीत गर्ने व्यवस्था छ।