विप्लवका दुई नेता भक्तपुरबाट पक्राउ
भक्तपुर : भक्तपुर प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका दुई जिल्लास्तरीय नेतालाई नियन्त्रणमा लिएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जिल्ला सदस्य चमारसिंह तामाङ र सविन बिक विरही भन्ने बुद्धराज सुनारलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
उनका अनुसार तामाङ काभ्रेको मण्डन देउपुर नगरपालिका ३ निवासी हुन् भने सुनार काठमाडौंका हुन्।
प्रहरी उपरीक्षक श्रेष्ठले विप्लवका थप नेता तथा कार्यकर्ताको खोजी भइरहेको जानकारी दिए। उनीहरुबाट कुनै अप्रिय घटना हुनसक्ने सम्भावनालाई रोक्न जिल्लाका क्रियाशील सबै नेता तथा कार्यकर्ताहरुको खोजी तीव्र बनाइएको उनको भनाइ थियो।
भक्तपुर प्रहरीले यसअघि नै विप्लवका भक्तपुर जिल्ला सेक्रेटरी कुशल बोगटीलाई नियन्त्रणमा लिइसकेको छ। उनीसँगै सविन लामालाई समेत नियन्त्रणमा लिएको थियो।
मध्यपुर थिमी नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि योजनाबद्ध सांघातीक हमला गरेको आरोपमा जिल्ला सेक्रेटरी बोगटीलाई नियन्त्रणमा लिएको थियो। गएको वैशाख ८ गते साँझ मध्यपुर थिमीको गट्ठाघरस्थित आफ्नै निवास प्रवेश गर्ने क्रममा पाँचजनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले सांघातिक हमला गरेको थियो।
उनलाई हमला गरेको २४ दिनपछि महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले काठमाडौंको बागबजारबाट कालीकोटको नरहरिनाथ गाउँपालिका ४ घर भएका बोगटीलाई प्रमुख आक्रमणमा प्रत्यक्ष संलग्न भएको आरोपमा पक्राउ गरेको थियो।