महिला उद्यमी व्यापार मेला सुरु
काठमाडौं : महिला उद्यमी महासंघ नेपालको आयोजनामा चौथो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०१९' सुरु भएको छ।ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको मेलाको महिला तथा बालबालिका मन्त्री थममाया थापाले उद्घाटन गरेकी हुन्।मेला चैत्र १८ गतेसम्म संचालनमा रहनेछ।
मेलामा देशभरका साना तथा मझौला महिला उद्यमी, व्यापारी, निर्यातकर्ताका र विदेशी मुलुकका उद्यमी महिलाको सहभागिता रहेको छ। नेपालमा उत्पादन भएका वस्तु, हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्न सुरू गरिएको आयोजकले जनाएको छ।
मेलामा हस्तकलका सामान, ढाका तथा घरबुनाका कपडा, प्राकृतिक रेशाजन्य वस्तु, काठजन्य वस्तु, हाते कागजका वस्तु, जैविक खाद्य पदार्थ, स्वदेश तथा विदेशका खानेकुराका परिकार, पुष्प सामग्री, कृषिजन्य उत्पादन,जडीबुटी, गरगहना, सजावटका सामान, विभिन्न सेवा प्रदायक संस्थाका स्टल राखिएका छन्।
मेलामा १ सय सातवटा स्टल रहेका छन्।मेलामा बंगलादेश, भारत, कम्बोडिया, थाइल्यान्ड, पाकिस्तानलगायत मुलुकका महिला उद्यमीसमेत सहभागी छन्।