भारतीय विदेशसचिवको विरोध गर्दा ग्रेटर नेपालका नेताको घर खानतलासी
काठमाडौं : ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालको निवासमा प्रहरी टोलीले कानून विपरित खानतलासी गरेको भन्दै यस्तो कामको विरोध भएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले प्रहरी र सरकारको विरोध गर्दै आज विज्ञप्ति समेत निकालेको छ । नेता नेपालले भारतीय विदेश सचिव विजय गोखलेको नेपाल भ्रमणको विरोध गरेकाले प्रहरीले खानतलासी गरेको दावी गरेका छन् ।
‘म घरमा नभएको बेलामा श्रीमति र छोरासँग अनुमति नलिएरै भित्रै छिरेर खानतलासी गरेछन्,’ नेपालले अन्नपूर्णसँग भने, ‘मेरा परिवारका सदस्यले म घरमा छैन भनेर जानकारी गराउँदा पनि प्रहरी जबर्जस्ती घरमा छिरेछन् । प्रहरीको यस्तो हर्कतमा ग्रेटर नेपालले आपत्ति जनाएको छ ।’
नेपालले यसअघि भारतीय विदेश सचिव गोखले ‘नरुचाइएका पाहुना’ भन्दै नेपालको अहितमा उनको भ्रमण भएको अभिव्यक्ति दिएका थिए । उनले यसरी गोखलेको विरोध जनाएको केही घण्टाभित्रै प्रहरी उनको निवासमा छिरेको बताइएको छ ।
नेपाल नेपालले आफ्नो परिवारका सदस्यलाई मानसिक ‘टर्चर’ दिएको पनि प्रहरीलाई आरोप लगाएका छन् ।