गण्डकी प्रदेशमा विषादी अवशेष प्रयोगशाला सञ्चालनमा
स्याङ्जा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको उद्घाटन गरेका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत स्याङ्जाको गल्याङ् नगरपालिका १ मालुङमा मुख्यमन्त्री गुरुङले बिहीबार प्रयोगशाला उद्घाटन गरेका हुन्।
मालुङ्गामा गल्याङ् नगरपालिकाले १५ रोपनी जग्गा व्यवस्था गरेपछि प्रदेशमै पहिलो पटक विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। प्रयोगशाला बिहीवारदेखि नै सञ्चालनमा आएको छ।
स्याङ्जा लगायत प्रदेशका अन्य जिल्लामा मुलुकभित्रका अन्य भूभाग र भारतबाट आयात हुने तरकारी, फलफूल, पशुपंक्षी लगायतका बस्तुको चेकजाँच गरी भित्र्याइने गण्डकी प्रदेश सदस्य दीपक थापाले जानकारी दिए। गण्डकी प्रदेश र प्रदेश नं. ५ को सीमानामा स्थापित प्रयोगशालामा १५ जना कर्मचारीको दरबन्दी छ।
गण्डकी प्रदेश भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले रोगग्रस्त पशुपंक्षी र गुणस्तरहीन फलफूल ढुवानीमा प्रतिबन्ध लगाइने भएकोले सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे।