स्तरोन्नति नहुँदा कर्णाली राजमार्गमा सास्ती
कालिकोट : यातायात सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि स्तरोन्नती नहुँदा कर्णाली राजमार्गमा सवारी सञ्चालनमा सास्ती हुने गरेको छ। साँघुरो सडक र खाल्डाखुल्डीका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ हुने गरेको छ। राजमार्ग फराकिलो नहुँदा गाडी बिग्रेको खण्डमा घण्टौंसम्म जाम हुने गरेको हो।
साँघुरो सडकका कारण दोहोरो सवारी सञ्चालनमा समस्या हुँदै आएको छ। कतिपय मोडमा त आधा किलोमिटरजति पछाडि फर्केर अर्को गाडीलाई पास गराउनुपर्ने बाध्यता छ। कर्णाली राजमार्गअन्तर्गत कालेखोला, जिते र तल्लो डुंगेश्वर सडकखण्डमा उकालो बाटो भएको र बढी भार लिएर आउने सवारी साधन बाटोमै बिग्रिनाले जाम हुने गरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले बताए।
‘बढी भार बोकेका सवारीसाधन बीच बाटोमै बिग्रिएपछि दिनभर जाममा पर्यौँ’, कालिकोटदेखि सुर्खेत जाँदै गरेका मनवीर भट्टराईले भने, ‘दोहोरो गाडी गुडाउने बाटो नभएपछि बाटो खुलाउन आएका प्रहरी पनि गाडी नबन्दासम्म हेरेरै बस्नुपर्यो।’
राजमार्ग स्तरोन्नति नहुँदा यस्तो समस्या झेल्नुपरेको सवारीचालकको गुनासो छ।