पाखी बुनेर पढाइ खर्च
जुम्ला : हिमा गाउँपालिका-७ माथि कुडुकी मुनकला बुढा विद्यालयबाट घर पुग्नेबित्तिकै राडीपाखी बुन्न व्यस्त हुन्छिन्। अधिकांश पुरुषले गर्ने यस काममा २१ वर्षीया मुनकला संलग्न भएको दुई वर्ष पुग्यो। घरको आर्थिक अवस्था कमजोर हुँदा पढाइ खर्च जुटाउन उनले अध्ययनसँगै राडीपाखी बुन्न थालेकी हुन्।
भेडाबाख्रा पाल्ने किसानले बुन्ने राडीपाखी व्यवसायमा संलग्न किशोरी मुनकला त्यस ठाउँकै एक्ली हुन्। एसएलसीपछि अध्ययनसँगै राडीपाखी बुन्दै गरेकी मुनकला कक्षा १२ पनि उत्तीर्ण भइसकिन्। ‘राडीपाखी बुन्ने सीप सिक्न कुनै गाह्रो छैन, मैले पनि मेरो बुवाबाट सिकेकी हुँ’, उनले भनिन्, ‘आर्थिक जोहो गर्ने अर्को कुनै माध्यम नभएपछि बुवालाई सघाउन सिक्न बाध्य भएँ।’
उनले वार्षिक तीन लाखसम्म कमाउने गर्छिन्। तर, यस पेसाप्रति युवा पुस्ताको आकर्षण घट्दो छ। सानो लगानीमा राडीपाखी बनाउन थालेकी उनलाई देख्ने र भेट्नेजति सबै दंग पर्छन्। ‘यो पेसा नअपनाएको भए पढ्न पनि मुस्किल हुन्थ्यो, अन्य आयस्रोत छैन’, उनले भनिन्, ‘राडीपाखी बुनेरै जम्मा गरेको पैसाले डिग्री हासिल गर्ने लक्ष्य छ।’ उनले कमाएको पैसाले घरखर्चसमेत चलेको छ। १० जनाको संयुक्त परिवारको जिम्मेवारी नै मुनकलाले राडीपाखीमार्फत धानेकी छन्।
राडीपाखीको एक थानको ७ देखि १० हजारसम्म बिक्री हुने गरेको उनले बताइन्। एउटा राडीपाखी बुन्न १० दिनसम्म लाग्ने उनको भनाइ छ। उनका अनुसार बजारमा राडीपाखीको माग बड्दो छ। तर, मागअनुसार उत्पादन पुर्याउन मुस्किल छ। स्थानीय तहले सहयोग गरे गाउँका अरू दिदी-बहिनीलाई पनि सीप सिकाउने योजना छ। हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले आगामी बजेटमा गाउँमै मुनकलाको जस्तै सीप सिकाउने योजना राखिने बताइन्।