अझै कठिन
पहिलो पटक घरमै भएको प्रतियोगिता। नेपाल उपाधिको दाबेदार थियो। यद्यपि नेपालले फेरि भारतको दबदबा तोड्न सकेन। गएको शनिबार विराटनगरमा सम्पन्न दक्षिण एसियाली फुटबल महासंघ (साफ) वुमन्स च्याम्पियनसिपको फाइनलमा फेरि भारतसँगै पराजित हुँदा नेपाल उपाधिबाट वञ्चित भयो।
योसहित साफ वुमन्स च्याम्पियनसिप पाँचांै संस्करणसम्म आइपुग्दा नेपाल पाँचंै संस्करणमा भारतकै कारण उपाधिबाट वञ्चित हुँदै आइरहेको छ। सन् २०१० बाट सुरु साफ वुमन्स च्याम्पियनसिपको सुरुआती तीन संस्करणमा नेपाल लगातार फाइनलमा भारतसँग पराजित हुँदा उपविजेतामै सीमित बन्यो। २०१६ मा भएको चौथो संस्करणमा सेमिफाइनलमै भारतको अवरोध सामना गरेको नेपाल यस पटक फेरि फाइनलमा भारतबाट पराजित हुन पुग्यो।
दक्षिण एसियाली महिला फुटबलमा नेपाल र भारत नै बलिया टोली हुन्। यो क्षेत्रमा हुने कुनै पनि प्रतियोगितामा यी दुई टोली नै उपाधिको बलियो दाबेदार रहने गर्छन्। यस पटक पनि समीकरण त्यस्तै बन्यो। यद्यपि भारतविरुद्धको पराजयको त्यो ‘जिंक’ तोड्ने नेपालको प्रयास यस पटक पनि सफल हुन सकेन। यो प्रयासमा नेपाल केही पक्षमा चुकेको छ।
भारत यस पटक आफ्ना युवा खेलाडीलाई महŒव दिँदै नेपालमा साफ च्याम्पियनसिप खेल्न आएको थियो। भारतले आसन्न ओलम्पिक छनोटलगायत ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी तयार पार्न आफ्ना क्षमतावान् युवा खेलाडीको बाहुल्यमा टोली तयार पारेको थियो। प्रतियोगिताका लागि नेपालले पनि आफूसँग भएका उत्कृष्ट खेलाडीहरूको टोली तयार पारेको हो। घरेलु मैदान र सयौं दर्शकको साथमा नेपाली टोलीले पनि फाइनल खेलको पहिलो हाफमा सशक्त प्रदर्शन गरेको थियो।
त्यसको फलस्वरूप नेपालले पहिलो हाफमा १–१ को बारबरी खेलेको थियो। तर, दोस्रो हाफमा भारत निक्कै बलियो गरी खेलमा फर्कियो। थप दुई गोल गर्दै भारतले ३–१ को जितसहित उपाधि जित्यो।
खेलको नतिजाले पनि देखाउँछ भारतसँग दोस्रो हाफका लागि रणनीतिक योजना थियो। नेपाल त्यसमा पनि चुक्यो। नेपालको मुख्य स्ट्राइकर सावित्रा भण्डारीलाई कुनै पनि खेलमा विपक्षी रक्षकले धेरै ‘मार्क’ गर्छन्। त्यो अवस्थामा खेल जित्न दोस्रो स्ट्राइकर अघि आउनुपर्ने हो। अघिल्ला खेलमा त्यो भूमिका मिडफिल्डर अनिता बस्नेतले पूरा गरेकी थिइन्।
यद्यपि भारतविरुद्धको फाइनल खेलमा अनिता अघिल्ला खेलमा जत्तिको सशक्त उत्रिएको देखिएन। उनी कतिसम्म पछि परिन् भने बल नियन्त्रणमा लिने मात्रै हैन, आफूले समेत सही ठाउँमा बल पु¥याउन संघर्ष गरिरहेकी देखिन्थिन्। त्यसमाथि पहिलो रोजाइका खेलाडीले राम्रो खेल्न नसकिरहेको अवस्थामा उनीहरूलाई परिवर्तन गर्न सक्ने नयाँ खेलाडीको समेत अभाव देखियो। फाइनल खेलमा जति खेलाडी ‘सब्सिच्युड’ का रूपमा मैदानमा प्रवेश गरे, कुनै पनि खेलाडीले गतिलो छाप छाड्न सकेनन्।
नेपाल सामान्य लाग्ने तर अन्य महŒवपूर्ण कुरामा समेत पछि प¥यो। भारत र नेपाल दुवै टोलीका खेलाडी फाइनल अघि एउटै होटेलमा बसेका थिए। भारतीय खेलाडी अबेर ब्रेकफास्ट र हल्का नास्तामात्रै गरेर फाइनल खेल्न गएका थिए। नेपाली खेलाडी मासुभात खाएर खेल्न गएका थिए। विराटनगरको मौसम। त्यसमाथि मासुले यत्तिकै पनि शरीरलाई आलस्य बनाउँछ।
साफ च्याम्पियनसिप सक्किएलगत्तै नेपाली टोली अर्काे ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा जुटेको छ। सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुद प्रतियोगिताका लागि यही अप्रिलको पहिलो साताबाट म्यानमारमा सुरु हुने दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन नेपाली टोलीले बुधबारबाट तयारी सुरु गरेको छ।
दोस्रो चरणको छनोट प्रतियोगिताको समूह एमा रहेको नेपालले फेरि पनि भारत, म्यानमार र इन्डोनेसियाजस्ता बलिया टोलीसँग प्रतिस्पर्धा गर्दैछ। प्रतियोगिताको विजेता एक मात्रै टोली तेस्रो चरणको छनोट प्रतियोगितामा पुग्नेछ। यी टोलीविरुद्ध सशक्त प्रदर्शन गर्दै ओलम्पिक छनोटको तेस्रो चरणमा पुग्न नेपालले साफ च्याम्पियनसिपमा गरेको गल्ती र कमजोरीलाई सुधार गर्न आवश्यक छ।