एसईई परीक्षा रद्द गर्नु संघीय सरकारको षडयन्त्र - सांसद यादव
वीरगन्ज : पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले प्रदेश-२ मा एसईईको दुई दिनको परीक्षा रद्द हुनुको जिम्मेवार संघीय सरकार रहेको बताएका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद यादवले संघीय सरकारकै चलखेलमा एसईई प्रश्नपत्र, परीक्षा सुरु हुनुभन्दा अघि बाहिरिएको आरोप लगाएका छन्।
बदनाम गराउने नियतले संघीय सरकारको षडयन्त्रमा प्रदेश-२ मा मात्र प्रश्नपत्र, परीक्षाभन्दा पहिले बाहिरिएको भन्दै विज्ञप्तिमा उनले भनेका छन्, 'संघीयतालाई बदनाम गराएर असफल बनाउने संघीय सरकारको कुनियतस्वरुप नै यो तानबाना बुनिएको हो।'
एसईईको प्रश्नपत्र छाप्ने निकाय र प्रश्नपत्र जिल्ला जिल्लामा लगेर परीक्षा केन्द्रसम्म पुर्याउने प्रहरीलगायतका सबै निकाय संघीय सरकारकै मातहतकै रहे पनि प्रदेश सरकारमाथि दोष थुपार्न खोज्नु संघीय सरकारको बदनियत रहेको पुष्टि भएको सांसद यादवको भनाइ छ।
संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष समेत रहेका सांसद यादवले प्रदेश-२ सरकारको बदनाम गराउने संघीय सरकारको षडयन्त्रको पर्दाफास गर्ने चेतावनी पनि दिएका छन्।
प्रश्नपत्र बाहिरिएको घटनाको जिम्मेवार संघीय सरकारका शिक्षमन्त्री गिरिराजमणि पोख्रेल नै हुनुपर्ने भन्दै उनले भने, 'नैतिकताका आधारमा मन्त्री पोखरेलले तत्कालै राजिनामा दिनुपर्छ।'
परीक्षा रद्द भएपछि सडकमा उत्रिएका परीक्षार्थीको पीडा र आक्रोश जायज रहेको उनको भनाइ छ। पीडित परीक्षार्थीको साथमा आफू रहेको भन्दै उनले भने, 'सडकमा उत्रिएर तोडफोड र आगजनी गरेर सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु हुँदैन, विधार्थीले संयमता अपनाउनुर्छ।'