मौलिक गीतको माया : विदेशी गायक, जसले नेपाली गीत भाइरल बनाए
काठमाडौं : नेपाली तथा नेपालीभाषी श्रोता–दर्शकमाझ एउटा ‘क्लासिकल’ लोकगीत भाइरल बनेको छ अचेल, ‘तिम्रो नै माया लाग्दछ साईँली...’
यूट्युबमा भाइरल त भयो, तर नयाँ पुस्ताका अधिकांश श्रोतालाई यो गीत कसले गाएको भन्ने कुरा पछिसम्म पत्तो नै भएन । युट्युबमा भने लामो कर्ली कपाल पाल्ने भारतीय गायक गिटारमा यो गीत गाइरहेका देखिन्छन् । उनलाई साथ दिएका छन् अरु दुईजनाले ।
मुखर्जीको कभर ‘तिम्रो नै माया लाग्दछ साईँली...’
यो मौलिक गीत कसको भनेर खोज्दा थाहा भयो, झलकमान गन्दर्भको पो रहेछ ! भारतीय ती गायकले भने गन्दर्भको भन्दा भिन्न तरिकाले गाएका छन् । मोडर्न मेलोडीको फ्युजनमा उनले यसलाई झन कर्णप्रीय बनाए । रोचक त के भने, भारतीय गायक आरको मुखर्जीले गाएको यो गीत भाइरल भएपछि उनले गाएका अरु थुप्रै गीत हेरिन थालिएको छ । संगीत पारखीमाझ आरको नै सम्भवतः सबैभन्दा धेरै खोजिएका गायक हुन् अहिले । उनका अरु थुप्रै नेपाली गीत अहिले युट्युबमा चर्चित छन् ।
को हुन् आरको ?
आरको मुखर्जी उत्तर भारत क्षेत्रका क्लासिकल गायक हुन् । उनी ‘अर्बन फोक आर्टिस्ट’को रुपमा पनि चिनिन्छन् । कलकत्तामा जन्मिएका उनी पछिल्लो समय भारती, बंगाली र आसपासका क्लासिकल गीत उत्खनन गर्दै गाउँदै चाहारिरहन्छन् । उनले सयौं वर्ष पुराना लोप हुनै लागेका अरु थुप्रै गीत गाइसकेका छन् । यही शिलशिलामा नेपाली लोक गीत पनि उनले आधुनिक शैलीमा गाएर लोकप्रिय बनाए ।
विश्व संगीत संसारमा उनी संगीतमै जीवन बाँच्ने गायकमध्ये एक हुन् । जस्तो कि, बब डिलन, बब मार्ले जस्ता गायकले संगीतलाई नै आफ्नो जीवन बनाए । एक भर्सटाइल सिंगरको छवि बनाएका आरकोले आफ्नै परिवारबाट गायन सिकेका थिए । ब्लुज र आदिवासी गायनसँगै प्लेब्याक सिंगरको रुपमा पनि उनी चिनिएका अनुहार हुन् ।
१५ भन्दा धेरै भाषामा गीत गाउने आरकोले बंगाली, भारतीय नेपाली थुप्रै आदिवासी गीतलाई फरक र आधुनिक शैलीमा गाएर चर्चित बनाइसकेका छन् । यसका लागि उनी अरु केही संगीतकर्मीसँग यूरोपका लगभग सबै मुलुक पनि घुमिसके ।
त्यहाँ हुने थुप्रै संगीत फेस्टिभलमा पनि उनी सहभागी भएका छन् । चार वर्षअघि फ्रान्समा भएको फेस्टिबलमा फ्रेन्च आदिवासी संगीत गाएर राम्रो चर्चा पाएका थिए । कोलकत्तामा ‘फिडलर्स ग्रिन’ नामको स्वतन्त्र गायकहरुको समुह स्थापना गर्ने मुख्य अभियन्ता पनि हुन् उनी । त्यो समुह मूलतः एउटा सहरी लोक ब्यान्ड नै हो ।
मुखर्जीको कभर ‘रेशम फिरिरि...’
केही वर्षयता भने उनले भारतीय मौलिक गीतको खोजीमा समय बिताएका छन् । उनी युरोप, अमेरिकालगायतका मुलुकसँग भारतीय मौलिक गीतको सम्बन्ध स्थापित गर्ने प्रयासमा सक्रिय छन् । आरको गिटारसँगै काजु र उुकुले पनि राम्ररी बजाउँछन् । सन् २०१३ मा उनले घातेर कोठा नामको बंगाली लोक गीत पहिलो पटक सार्वजनिक गरेका थिए ।
नेपालीमा लोकप्रिय
तिनै प्रावशाली गायक अचेल नेपाली युवामाझ निकै रुचाइएका गायक बनेका छन् । त्यसो त आरकोले पनि एकपछि अर्को नेपाली लोक गीत गाउँदै छन् । रोचक त के भने, नेपालकै मुर्धन्य गायक झलकमान गन्धर्भका लगभग हराइसकेका थुप्रै गीत विदेशी गायक आरकोले गाएपछि नै फेरि सुनिन थालियो । रेसम फिरिरि, तिम्रो नै मायाँ लाग्दछ साईँली, अल्लारे नानी केशी लगायत नेपाली पुराना लोक गीत गाएर उनले नेपाली माझ चर्चा पाएका छन् ।
मौलिकको महत्व
आरको मुखर्जी मात्रै हैन, विश्वमा अहिले मौलिक गायनको खोजी ब्यापक हुन थालेको छ । हरेक समाज र सभ्यतासँग आफ्नै किसिमका जीवनका लय हुन्छन् । तिनै जीवनका लयलाई गीत, नाच, कथा, क्यानभास जस्ता कलाका ‘फर्म’मा उतारिन्छ ।
यस्तो चलन पुरानै हो । आधुनिक समाजमा कलाका रुप केही नयाँ चिनिए । केही संकटमा परे । औधोगिकरण र बसाइसराइसँगै संस्कृति र कला पनि संकटमा परे । अहिले प्रविधिको ब्यापकताले ती मौलिक कला र संस्कृतिलाई नयाँ पुस्तासँग चिनाउने पहल हुन थालेको छ ।
भारतीय गायक आरको मुखर्जीको गायनशैलीले यसलाई पुष्टि गर्छ । झण्डै दश वर्षयता मौलिक गायनमा लागेका उनले आफ्नो जीवनशैली नै एक फकिर जस्तै बनाएका छन् ।
हिप्पी जस्तो देखिने उनको साथमा अरु केही संगीतमै लागेका अभियन्ता छन् । जसले जीवन र संगीतलाई जोडिरहेछन् । आखिर उनको यस्तो पहलबाट समग्रमा लोप हुनै लागेका मौलिक गीत–संगीतमाथि न्याय हुन्छ ।
नेपाली संगीतकर्मी अमृत गुरुङ, लोचन रिजाल, ‘द नाइट ब्यान्ड’, आभाष, झुमा लिम्बु जस्ता गायक तथा व्यान्डको प्रयास पनि लगभग यही लयमा छ । जो बजारमा चल्तीका गीत गाएर रातारात हिट हुने यात्रामा नभएर गीत–संगीतलाई जीवनसँग जोड्न हरदम प्रयत्नरत छन् ।