३० रुपैयाँ लिटरमा आधा दूध आधा पानी ‍‍...

३० रुपैयाँ लिटरमा आधा दूध आधा पानी ‍‍...

३० रुपैयाँ लिटरमा आधा दूध आधा पानी। ४० रुपैयाँमा दुई हिस्सा दूध र एक हिस्सा पानी। ५० रुपैयाँमा डेढ दूध आधा पानी हुन्छ। मूल्य बढ्दै जाँदा दूधमा पानीको मात्रा कम हुँदै जान्छ।


नेपालगन्ज : त्रिभुवन चोकदेखि उत्तर–पश्चिममा एकाबिहानै साइकलको लस्कर लाग्छ। सबै साइकलमा दूधका थरी थरी भाँडा हुन्छन्। किन्नेहरूले घरबाटै भाँडो बोकेर आउँछन्। मंगलबार बिहान साढे ६ बजे त्रिभुवन चोकमा भेटिएका जानकी–३ बञ्जारे गाउँका बाशा वर्माले हाकाहाकी भने, ‘म ३० रुपैयाँदेखि ६० रुपैयाँसम्मको दूध बेच्छु।’

एउटै व्यक्तिसँग दोब्बर मोलको कस्तो दूध हो ? संवाददाताको जिज्ञासामा उनी भन्दै गए, ‘३० रुपैयाँ लिटरमा आधा दूध आधा पानी। ४० रुपैयाँमा दुई हिस्सा दूध र एक हिस्सा पानी। ५० रुपैयाँमा डेढ दूध आधा पानी हुन्छ। जति मूल्य पैसा बढ्दै जान्छ। दूधमा पानीको मात्रा कम हुँदै जान्छ।’

वर्माले यसो भनिरहँदा चोकमा साइकलमा पसल थापेर बसेका एक दर्जनहाराहारी दूध पसलेले हँमा हँ मिलाइरहेका थिए। मानौं उनीहरूलाई यसरी नै दूध बेच्न आनन्द आइरहेको छ। नाफा पनि यसैमा रहेको उनीहरूको अनुहारबाट प्रष्ट झल्कन्थ्यो।

चारबाहिनी चोकमा भेटिएका जानकी–२ नवाजीगाउँका रामकिशन कुम्हार सबैभन्दा महँगोमा दूध बेच्नेमा दरिए। साइकलमा दूध बेच्न जाँदै गरेका कुम्हारको झोलामा थरीथरीको दूधका बट्टा थिए। ‘हेर्नुस्, यो १०० रुपैयाँ लिटरको दूध हो। विल्कुल शुद्ध दूध। दूहुँदा दुहुँदै भाडामा हालेर ल्याएको हो’, उनले दाबी गर्दै भने।

नेपालगन्जमा जति नै महँगो भए पनि डेरी र डीडीसीले बेच्ने दर ६६ रुपैयाँ मात्र हो। कसका लागि यति महंगो दूध ? ‘सबैले यति महंगो दूध कहाँ किन्छन् सर। डाक्टर साहेबका लागि हो। मसँग जम्मा एक लिटर मात्र छ’, उनले प्लाष्टिकको चकलेट राख्ने बट्टामा ल्याएको दूध देखाए।

नेपालगन्जमा साइकलवालासँग दूध किन्दै हुनुहुन्छ भने दूधका थरी थरी भाउ पाउनुहुन्छ। सुरुमा ‘पियोर’ भनिएको दूधमा पनि पानी मिसिएकै हुन्छ। एकै जनाले ग्राहकको मागअनुसार दूध बेच्ने भएकाले दूध एकनासको हुने कुरै भएन। राम्रो दूध चाहिए प्रतिलिटर कम्तीमा १० रुपैयाँका दरले वृद्धि हुँदै जान्छ। व्यवसायीले विभिन्न बाहनामा दूधको मोल बढाउँदै जान्छन्। पानी नमिसाएको दूध पाउन मुस्किल पर्छ। जुन कुरा त्रिभुवन चोकका सबैले स्वीकारिरहेका थिए। उनीहरू भन्दै थिए, ‘शुद्ध दूध खाने हो भने त पाडै भएर जन्मनुपर्छ।’

सरकारले खुला दूध बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ। दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका, २०७५ मा दूधमा पानीलगायत अन्य कुनै पनि बाह्य पदार्थ मिसावट गर्न नपाउने उल्लेख छ तर नेपालगन्जमा खुलम खुला पानी मिसाएको दूध बिक्री भइरहेको छ। त्यो पनि सामान्यदेखि असामान्य मोलमा। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले त्रिभुवन चोकमा गरेको नमूना संकलनका क्रममा पनि दूधमा धेरै पानी मिसाएको देखाएको छ। ६ चैतयता कार्यालयले दूध परीक्षण गरेको छ। कार्यालयका निमित्त प्रमुख प्राविधिक सहायक नेत्र बोगटी भन्छिन्, ‘नमुना जाँच गर्दा पानी मिसाएको पाइएको छ। अरु मिसाएको पाइएको छैन।’ कार्यालयले नेपालगन्जका त्रिभुवन चोक, धम्बोझीका साथै कोहलपुरमा खुला रूपमा बेच्ने ३३ वटा दूधको नमूना संकलन गरेर परीक्षण गरिरहेको छ। निर्देशिकाले त पानी पनि मिसाउन नहुने व्यवस्था गरेको छ। यो निर्देशिका दूध उत्पादन, संकलन, चिस्यान केन्द्र, सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्री वितरण गर्ने सबै व्यवसायलाई लागू हुने भनिएको छ।

दूध दुहेपछि संकलन केन्द्र÷चिस्यान केन्द्र वा प्रशोधन कारखानामा बढीमा २ घण्टाभित्र पुर्‍याउनुपर्ने व्यवस्था गरिएको छ तर बिहान ४ बजेतिर नेपालगन्जको त्रिभुवन चोक, धम्बोझी चोकलगायत ठाउँमा चार÷पाँच घण्टासम्म पनि बेचिरहेका भेटिन्छन्।

मारमा उत्पादक किसान

दूधको गुणस्तरका लागि निर्देशिका बने पनि दुग्ध उत्पादन किसान भने मारमा पर्ने गुनासो गरिरहेका छन्। कोहलपुर–८ पिपरीमा प्रकृति गाई फार्मका सञ्चालक विष्णु पोखरेल निर्देशिकालाई डेरी पोषाउने कानुनको रूपमा अथ्र्याउँछन्। भन्छन्, ‘मैले आफ्नो फार्मबाट ७० रुपैयाँ प्रतिलिटर दूध बेच्छु। डीडीसीलाई बेच्दा ३५ रुपैयाँ मात्र पाउँछु। उपभोक्ताले ६६ रुपैयाँमा दूध किन्नुपर्छ। झन्डै दोब्बर मुनाफा खान किन छुट दिने।’

उनको फार्मबाट अहिले दैनिक दुई सय लिटर दूध उत्पादन हुन्छ। एक पाउदेखि १० लिटर किन्ने फार्मसम्मैै पनि पुग्छन्। बाँकी रहेको दूध डीडीसीलाई बेचिन्छ।

जानकी –३ इन्द्रपुरका मालिकराम यादव पनि डेरीमै राम्रो दररेट पाउँदा बजार बजार डुलाएर दूध बेच्ने रहर नभएको बताउँछन्। उनी पनि डेरीले ठगेकाले खुला रूपमा बेच्नु बाध्यता दर्शाउँछन्।

बाँके जिल्लामा २३ वटा डेरी सञ्चालनमा छन्। जसमा दुई हजार पाँच सय लिटरदेखि तीन हजार लिटर दूध खपत हुन्छ। जिल्ला दुग्ध व्यवसायी संघका अध्यक्ष बदरुद्दिन अन्सारी गाईको दूध ४२ देखि ४५ र भैंसीको दूध ५० देखि ५५ रुपैयाँमा खरिद गरिरहेको बताउँछन्। चिल्लोपदार्थ (फ्याट) र ठोसपदार्थ (एसएनएफ) का आधारमा मिल्क एनालाइजरले मूल्य निर्धारण गर्ने बताउँछन्। उनले बढीमा प्रतिलिटर ८० रुपैयाँसम्म किसानलाई दिएको बताउँछन्। यस्तो मोल पाउने थोरै मात्र भाग्यमानी हुन्छन्।

डुडुवा गाउँपालिका–३ हल्कारापुर्वाका श्रीचन्द्र यादवले नेपालगन्जको बागेश्वरी डेरीलाई दूध बेच्दा प्रतिलिटर ८० रुपैयाँसम्म पाएको बताए। उनले भने, ‘यो वर्ष त ६३ रुपैयाँ मात्र पाएको छु। गत वर्ष मैले १२ एक लिटरको ८० रुपैयाँसम्म पाएको थिएँ।’ डुडुवा–३ जिल्लामै सबैभन्दा धेरै भैंसी पाल्ने गाउँमा पर्छ। जहाँ हरेकको घरमा भैंसी छन्।

जिल्लामा डेरीका अलावा दुग्ध विकास संस्थानको नेपालगन्ज दुग्ध वितरण आयोजनाले किसानको दूध खरिद गर्छ। आयोजनाका प्राविधिक अर्जुन पन्थी भने किसानले औसत रूपमा बढीमा ५० देखि ५५ रुपैयाँ र कम्तीमा ४४ देखि ४५ रुपैयाँमा गाईको दूध किनिरहेको छ। आयोजनाले बिक्री गर्दा भने ६६ रुपैयाँ प्रतिलिटर दूध बेच्छ।

भारतीय दूधको बिगबिगी

जिल्लामा बागेश्वरी, कोहलपुर, सीतापुर महादेवपुरी, कचनापुर, वनकटवा, चिसापानी र बैजापुर गाई पकेट क्षेत्र हुन् भने कोहलपुर, परसपुर, वनकटवा, बेलभार, बनकट्टी, मनिकापुर र शम्शेरगन्ज भैंसी पकेट क्षेत्रमा पर्छ। भारतीय सस्तो मोलमा पाइने दूधसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले व्यावसायिक रूपमा गाईभैंसी पाल्नेहरू घट्दै गएका छन्। नेपालगन्जमा भारतीय दूधको बिगबिगी छ। पशु क्वारेन्टाइनले कडाइ गरेपछि भन्सार नाका हुँदै दूध आउनै छोडेको छ। जिल्ला दुग्ध व्यवसायी संघका अनुसार दैनिक चोरबाटो हुँदै दुई हजारदेखि तीन हजार लिटर भारतीय खुला दूध नेपालगन्जमा आउँछ। त्रिभुवन चोकको शुभ मिष्ठान भण्डारका ऋषि गुप्ता मिठाइका लागि भारतबाट दैनिक २० देखि २५ लिटर दूध आउने गरेको स्वीकार्छन्। बिहान ५ देखि साँझको ५ बजेसम्म चोर बाटो हुँदै भारतबाट दूध आउँछ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.