पहलमानको बेथा

पहलमानको बेथा

-लेखनाथ पोखरेल 

२०३७ वैशाखमा भएको पहिलो जनमतसंग्रहका बेला, पालुङबाट मेरो सरुवा चन्द्रनिगाहपुर-गौर सडकमा भएकोले म त्यसतर्फ लागेको थिएँ। एक समय, चोरीसिकार गर्ने थलोको रूपमा प्रख्यात थियो पथलैयादेखि वागमतीसम्मको बाक्लो जंगल। त्यो बाटो भएर साँझ बिहान हिँड्दा बथानमा भेटिने चित्तल, लुइँचे र कालिजको संख्या अब गोटागिन्तीमा झरिसकेको थियो।

 कहिलेकाहीँ कतै मरेको सिकारको खोजीमा उड्ने चील, फाट्टफुट्ट देखिने ढुकुरका जोडी, काँसघारीमा लुकी हिँड्ने एक्ले खरायो, लामो पुच्छर भएका काला ढेडु र रातागेडे बाँदरबाहेक, अब त्यहाँ केही भेटिन्नथ्यो। हातमा भाला लिएर जंगल पस्ने निजगढका दारु भट्टीवालालाई देख्दा कोकोहोलो मच्चाउने, यी बाँदर र लंगुरको मासु, खरायोको बनेर, दारुको सितन बन्न थालेपछि, यिनीहरू पनि लोपोन्मुख स्थितिमा पुगिसकेका थिए।

गर्मी महिनाको घाम, कच्ची बाटो, बुङबुङ्ती उडेको धुलो र उकुसमुकुस गर्मीमा झाँझखोला तरेर कुन्नि कताकता भएर हो, चन्द्रनिगाहपुरबाट हिँडेको दुई घण्टामा हाम्रो गाडी सखुवा-राजपुर पुगेको थियो। फुसको छाना भएको बस्तीको बीचमा फाट्टफुट्ट खपडाका छानु भएका घर देखिने, गौर सडकको छेउमा बसेको, यादव जातिको पुरानो बस्ती थियो सखुवा-राजपुर।

गाउँको बीचमा उभिएको बरको रूखसँगै बनेको चबुतराको चारैतिर काठका फलैंचा राखिएका थिए। साँझ-बिहान त गाउँलेहरू बेफुर्सदी नै हुन्थे। मध्याह्नको समय भने उनीहरूले त्यही 

चबुतारामा आफ्नो फुर्सद कटाउने गर्थे। छेउमै थियो, जमिनभन्दा तीन फुट अग्लो, रङ खुइलिसकेको इँटाको पर्खालले घेरेर बनेको गहिरो पुख्र्यौली इनार। बर्सौंदेखि डोरीमा झुन्ड्याएको बाल्टीबाट पानी तान्ने गरेको त्यो इनारको भित्री गारोमा जताततै डोरीको डाम बनेका थिए। इनारमा पानीको घट्दो सतह सँगै हुन गएको पानीको अभाव पूर्तिको लागि, नजिकै गाडिएको थियो बच्चाहरूको उचाइभन्दा अग्लो यौटा फलामे चापाकल।

 प्रत्येक घरमा गाईबस्तुलाई पानी ख्वाउन राखिएको डुँडदेखि घरको भान्सासम्मको पानीको आवश्यकता पूरा गर्ने यी दुइटा साधनबाहेक त्यहाँ अन्य विकल्प थिएन। इनार र चापाकलमा साँझ बिहान पानी थाप्ने गृहिणीको घुइँचो हुने गथ्र्याे। नुहाउनको लागि भने यिनीहरूले जमिनदारको पोखरीको पानीको उपयोग गर्थे।

आफ्नो पाखुरीमा विश्वास गर्ने पराक्रमी र स्वाभिमानी जातिको रूपमा चिनिन्छ यादव जाति। आफूलाई       श्रीकृष्णको वंशज मान्ने यिनीहरू, हनुमानको भक्ति गरेर अखाडामा पहलमानी सिक्नु र गाईभैंसीको सेवा गर्नुलाई आफ्नो पुख्र्यौली धर्म मान्छन्। जस्तोसुकै कमजोर आर्थिक स्थितिमा भए पनि यादवको घरमा एउटा भैंसी या गाई पालिएको हुन्छ। दहीका हाँडी र दूधको भार बोकेर गौर बजारसम्म पुर्‍याउने यहाँका गाउँलेको दैनिकी हुन्थ्यो भने, गाउँको यो नै एकमात्र आयको स्रोत पनि थियो।

गाउँमा भएको, जमिनदारको यौटा मात्र पक्कीघरमा, हामीले आफ्नु क्याम्प राखेका थियौं। देख्दै धू्रर्त जस्तो लाग्ने, छिचिमिराजस्तो ज्यान भएको जमिनदारको एकछत्र राज्य थियो गाउँमा। गाउँका मानिसहरू उसको अगाडि हात बाँधेर उभिएका हुन्थे। नियम कानुनलाई आफ्नो खल्तीको बस्तु सम्झिने जमिनदारको हैकम यस्तो थियो, लाग्थ्यो त्यहाँका रूख-बिरुवाका पात हल्लिनसमेत उसको आदेश चाहिन्छ। रोजगारीको कुनै विकल्प नभएको त्यो गाउँका प्रायः सबै मानिस जमिनदारको घरखेतमा कमैया बनेर काम गर्न बाध्य थिए। प्रशस्त धान खेत, ठूलाठूला बगैंचा र पोखरीले सम्पन्न जमिनदारको त्यो गाउँ विपन्नताले भरिएको थियो।

तातो हावा चल्दै गरेको, टन्टलापुर घामको चकमन्न मध्यान्नमा, गाउँको चबुतरामा जम्मा भएर गफ चुट्ने र उङ्ने काम त्यहाँका बासिन्दाको दैनिकीमा पथ्र्याे। प्रत्येक दिनको ठीक त्यही समयमा भोंपु ... भोंपु ... को आवाज निस्कने फुटबल जत्रो हर्न बजाउँदै गौरबाट चन्द्रनिगाहपुर जाने एउटा गाडी बुङबुङ्ती धुलो उडाउँदै त्यो गाउँ भएर निस्कने गथ्र्याे। गाउँको वातावरण क्षणभरको लागि ग्रहण लागेजस्तो बन्न पुग्थ्यो। रातो गम्छा हम्किएर उङ्दै चबुतरामा बसेका गाउँलेले आ-आफू गम्छाले टाउको र मुख छोप्थे। ओसारामा पंखा हम्केर बच्चालाई फुल्याउँदै बसेका गृहिणीले, धुलो उडेतिर धारेहात लगाउँदै, बच्चाको मुख, आफूले लगाएको एकसरो पहेँलो सारीभित्र हत्तपत्त घुसार्ने गर्थे। क्षण भरमा नै गाउँ फेरि चकमन्न हुन्थ्यो।

गाउँमा भएका आँपका बोटको कल्कलाउँदो पालुवाहरूले, उखर्माउलो त्यो गर्मीमा, शीत्तल भै पो हाल्ने हो कि भन्ने आभाससम्म जगाएको हुन्थ्यो। ढल्कँदो दिनसँगै, बेलाबेलामा चल्ने पछिया हावाको कारण सास फेर्न केही राहत मिलेझैं लाग्थ्यो। सूर्य देवता अस्ताचल लाग्दै गर्दा, घरतिर फिर्दै गरेका गाईबस्तुले उडाएको बुङ्बुङ्ती धुलोले आकाशमा गोधूलिको आभास पैदा गरेको हुन्थ्यो। गाई र बाछाको घाँटीमा बाँधेको घण्टीको मीठो आवाजले गाउँ गुञ्जायमान बन्ने गथ्र्याे। त्यो सँगै, गाउँमा भएको यौटा मात्र इनार र ट्युबवेलमा हलचल सुरु हुन्थ्यो। गाईबस्तुसँगैै मान्छे पनि बाक्लिन थाल्थे। गाईबस्तुलाई पानी पिलाएर कोही कुटी काट्न थाल्थे भने कोही आआफ्नु घरधन्दाको दैनिकीमा लागेका हुन्थे।

गर्मी महिनाको राजपुर गाउँको बिहानीको वातावरण भने भिन्न किसिमको हुने गथ्र्याे। सूर्यको लालिमासँगै खुला चौरबाट मन्दमन्द बग्दै आउने पूर्वीया हावाले, रातभरि रुमल्लिएर बसेको घुरको धुवाँलाइँ केही हदसम्म सफा पारेको हुन्थ्यो। उज्यालो भएसँगै चराचुरुंगी चिर्बिराउँदै चारोको खोजीमा उड्न सुरु गर्थे। अल्छी मान्दै उग्राइरहेका गाईबस्तु जर्‍याकजुरुक उठेर आङ जुर्काउन थाल्थे। कोपिला लागेको जमिनदारको आँपको बगैंचामा मौरी भुनभुनाउन सुरु गरिसकेका हुन्थे। किसानहरू हलो र जुवा काँधमा बोकेर गोरुको पुच्छर निमोठ्दै खेततिर लाग्न थाल्थे। गृहिणीहरू नुहाउनका लागि जमिनदारको पोखरीतर्फ लाग्थे भने कोही-कोही पानी भर्न इनारतर्फ लाग्थे।

सखुवा राजपुरको दक्षिणपट्टिको गाउँको नाम थियो झुन्खुन्वा। राजपुर यादवहरूको गाउँ थियो भने झुन्खुन्वा मुसलमानको। त्यसो त हिन्दु र मुसलमान एकै बस्तीमा मिलेर बसेको दृश्य, बाँके जिल्लाको कुनै कुनै गाउँमा बाहेक मैले अन्यत्र भेटेको छैन। हिन्दु र मुसलमानको बस्ती सधैं अलगअलग नै भेटिन्छन्। फरक जातिहरूको बस्ती भए पनि, झुन्खुन्वा र सखुवा राजपुर गाउँको बीचको सम्बन्ध भने उदाहरणीय थियो। यी दुवै गाउँका हिन्दु-मुस्लिम आवश्यक परेको ठाउँमा सधैं एक ठाउँमा उभिन पुग्थे।

झुरुम्म परेर बसेको, बाक्लो बस्ती भएको गाउँ थियो झुन्खुन्वामा। कामको सिलसिलामा मलाई त्यता गइरहनु पथ्र्याे। त्यो गाउँको खोल्सा पारि ठूलो कम्पाउन्ड भित्र बनेको सानु मस्जिद थियो भने त्यसको छेवैमा थियो बच्चाहरू पढ्ने मदरसा। मदरसासँगै भएको सानो बगैंचा र बच्चाहरूको खेल्ने व्यवस्थित चौरमा बसेर, साँझको बेला मौलवीहरूसँग हुने वार्तालापको आध्यात्मिक प्रसंग मलाई रोचक लाग्ने गथ्र्याे। स्वस्थ मानसिकता भएका, त्यो गाउँका मुसलमान परिवारबाट मैले पाउने गरेको आत्मीयताले मलाई बेलाबेलामा आफ्नो विद्यार्थी जीवनको स्मरण गराउँथ्यो।

इन्डियामा पढ्दै गरेको बेला, मसँग राम्रो मित्रता भएका हैदराबाद र लखनउका धेरै मुसलमान साथीहरू थिए। खासगरी ‘इद’ को मौकामा छुट्टी मिलाएर, साथीहरूको घरमा गएर म हप्तौंसम्म बस्ने गर्थें। त्यो बेला साथीहरूको परिवारबाट मैले पाएको मीठो बोली-वचन, न्यानो आत्मीयता र खुलापन म भित्र अविस्मरणीय बनेर बसेका छन्। घर बाहिर निस्किँदा बुर्कामा छोपिएर हिँड्नुपर्ने महिलाहरूको बाध्यात्मक परिधानबाहेक, मुसलमानको अन्य रहनसहन र खानपानको म प्रशंसक हुँ। मलाई यो जाति औधी मन पर्छ। मसँग अहिले पनि एउटा यस्तो सन्की मन छ जस्ले मुजरा, सायरी र सुफी गीत मन पराउँछ। उर्दु नामकरण भएको र मुगल संस्कृतिको सानो झलक मात्र भएको हिन्दी फिल्म काठमाडौंको कुनै सिनेमा हलमा लागेको कुरा मैले थाहा पाएँ भने, म त्यो सिनेमा हेर्न, अझै पनि सिनेमा हलमा नै पुग्छु, टीभीमा हेरेर चित्त बुझ्दैन।

गाईबस्तुलाई मच्छरबाट जोगाउन बालिने राजपुर गाउँको प्रत्येक साँझको घूरको धुवाँ हाम्रो लागि सधैं आपत् बनेर आउने गथ्र्याे। रातभरि गाउँमा रुमलिएको घूरको धुवाँले बन्द भएको नाक खोल्न, प्रत्येक बिहान, एक करुवा पानी नाकको एउटा प्वालबाट खन्याएर अर्कोबाट ननिकालेसम्म नाक खुल्ने सम्भावना हुँदैनथ्यो। त्यो क्रिया सम्पन्न भएपछि, नीमको हाँगा भाँचेर दाँत घोट्दै पसिनाले गनाएको आफ्नो शरीर, जिम्दारको पोखरीमा पखालेर कोठामा फर्किने मेरो दैनिकी थियो। नाकको प्वालभित्र पानी खन्याउँदै गर्दा, तीन हात लामु लाठी बोकेको पहलमान, दूधको लोहोटा बोकेर मेरो भान्सातिर पस्दै गरेको हुन्थ्यो। नित्यकर्मबाट निवृत्त भई कोठामा पुग्दा, पहलमानले भैंसीको बाक्लो दूधमा बेस्सरी पकाएको चिया, स्टिलको ग्लासमा खन्याएर दिने गथ्र्याे। मलाई चिया दिएसँगै, धोती सुर्किंदै मेरो खाटको छेउमा आएर पलेँटी कसेर बस्ने उसको बानी थियो।

कस्को घरमा बाख्रो ब्यायो, कस्को भैंसीले कति दूध दियो, कस्को घरमा कति मक्खन बन्यो, हरेरामकी आमाले बुहारीको कस्तो धुलाई गरी, रामप्रितकी चोथाले छोरी धनियाँले घाँस काट्न जाँदा , क-कस्लाई आमा-चकारी गाली गरी भन्ने कुरादेखि, नन्कुले दारु पिएर घरवालीलाई बेस्सरी भकुरेसम्मको गाउँको सम्पूर्ण कुराको बेलिबिस्तार लगाई सकेपछि मात्र ऊ भान्सातिर पस्थ्यो। जसरी ऊ हनुमानको भक्त थियो, ठीक त्यही किसिमले मप्रति वफादार थियो। म जता जाउँ, तीन हात लामु लाठी लिएर मेरो पछि-पछि लाग्ने, ऊ मेरो चौकीदार थियो।

गाउँका मान्छेले उसको असली नाम बिर्सिसकेका थिए। ६ फुट अग्लो ज्यान भएको उसको नाम नै पहलमान भइसकेको थियो। ऊ पक्का भक्त थियो हनुमानको। उमेरमा ऊ पाँच गाउँ परसम्म पुग्थ्यो कुस्ती खेल्न। त्यो बेला ऊ आफ्नो गाउँको यादव समुदायको नाक थियो अरे। आफ्नो नाक आफैं कटाएको हो भन्ने कुराको ख्याल जुन दिनदेखि उसलाई हुन पुग्यो, त्यो दिनदेखि दुःखी हुन थालेको ऊ, अहिलेसम्म पनि दुःखी नै थियो।

एक दिन मैले उसलाई सोधेको थिएँ, किन त्यस्तो भयो भनेर। ऊ एकाएक भावुक बनेर भक्कानियो र अलि पर चौरमा भैंसी चराउँदै गरेकी, झुम्राकी पुतली जस्ती देखिने आफ्नी       श्रीमतीतिर औंलो तेस्र्याएर भन्यो, ‘ऊ त्यसले गर्दा त हो नि’ ! मानिसलाई आफ्नुो समवेदना पो पहाड जस्तो लाग्ने हो, अरूको त ख्याल ठट्टा ! उस्ले मतिर हेर्‍र्यो, मैले पनि त्यो बेला, उसको लागि आफ्नो अनुहार मलिन बनाइदिएको थिएँ। उसले मनमनमा सोच्यो होला, मेरो कुरा बुझ्ने भनेको कि त हनुमान हुन्, कि त यिनै हाकिम। त्यस्तै लागेर नै त होला, उसले आफूभित्र रहेको पीडाको गहन कारण सुनाएको थियो मलाई।

राजपुर गाउँको लक्का जवान उसले, सोह्र वर्षको हुँदा, गौरको सरकारी स्कुलबाट तीन कक्षा पास गरिसकेको थियो। उसलाई चार गाउँका कुनै पनि तन्नेरीले अखाडामा पछार्न सकेका थिएनन्। ऊ सधैं अब्बल रहन्थ्यो। एक पटक पाँचौं गाउँबाट उसलाई कुस्ती खेल्ने निम्ता आएकोले ऊ त्यता गएको रै’छ। पहिलो दिनको खेलमा उसले अखडामा कसैलाई टिक्न नदिएपछि, उसको नाक घिरौंला जस्तो घोक्रिएको थियो रे। त्यही दिन बेलुका उसको प्रतिद्वन्द्वी पहलमानको बाबुले उसलाई स्याबासी दिन आफ्नु घरमा लिएर गएछ। प्रतिद्वन्द्वीको घरमा पुग्दा उसको भव्य स्वागत सत्कार गरिएको थियो।

त्यो सत्कारमा उसलाई खान दिएको मखन, मट्ठा र देशी घिउको पराठा सम्झिँदा अहिले पनि उसको मुखमा पानी उम्रिने गरेको कुरा उसले मलाई सुनायो। खाना खुवाएको त्यही बेलुकी, प्रतिद्वन्द्वीको बाबुले, आफ्ना कल्चौंडीमध्येकी यौटी छोरीलाई देखाएर, दहेजको लोभ दिँदै विवाहको प्रस्ताव राखेछ। त्यो बेला उसलाई, छोरी त छोरी नै हो, अनुहार जस्तोसुकै होस्, हातखुट्टा सग्ला छँदैछन, भैंसी चराउन र भाँडा माझ्न सकिहाल्छे भन्ने लागेको थियो अरे ! भन्थ्यो, विवाह गरिसकेपछि बोलेअनुसारको दहेज पो नदिने हुन् कि भन्ने झस्का भने ऊ भित्र पसेको थियो रे !

ठूलो रोगव्याधीको रूपमा रहेको दहेज प्रथाको त्यो बेलाको मधेसमा, साइकल, रेडियो र घडी पाउने दुल्हालाई भाग्यमानी ठानिन्थ्यो। यी सब कुरा पाउने सर्तमा उसले विवाहको मञ्जुरी दिएको थियो। विवाहको मञ्जुरी दिएको भोलिपल्टको कुस्तीको अखडामा, आफ्नो प्रतिद्वन्द्वीबाट उसले नराम्रोसँग लात-घुस्सा खाएर पराजय खेप्नु परेको थियो। भन्थ्यो, जति पटक त्यसलाई पछार्न खोज्थें, त्यति पटक उसकी बहिनी आँखाको अगाडि झल्झली आउँथी। यसलाई चोटपटक लाग्यो भने, केटीभन्दा पनि दाइजो उम्केला भन्ने पीरले के गरौं, गरौं भएर निर्णय लिन नसकेको कारण, उसले खुब ठोकाइ खाएर, हार बेहोर्नु परेकोमा उसलाई अहिले थक्क ... थक्क ... लाग्थ्यो। तर प्रतिद्वन्द्वीको बाबु, बोलीको पक्का निस्कियो।

उस्ले आफ्नो बोलकबोलअनुसारको दाइजो दिएर छोरी बिदा गरेको थियो। पहलमान पनि दंग थियो। घडी बाँधेको हातले साइकल चलाएर, रेडियो घन्काउन्दै बेहुली भित्र्याएको त्यो रमाइलो दिनको सम्झना गर्दा उसको अनुहारमा अर्कै खाले उत्साहको चमक देखिन्थ्यो। विवाह गरेको सात वर्षको अवधिमा, यौटा पनि छोरो नजन्माएर, भकाभक पाँच ओटी छोरी जन्माएकी, सन्ठी जस्ती तुरिधुई अग्ली देखिने उसकी       श्रीमती उसलाई अब पटक्कै मन पर्न छोडेकी थिई।

जमिनदारको गाउँभन्दा पश्चिमपट्टि, ठूलो खाली चौर थियो। त्योभन्दा निक्कै पर एउटा गाउँ देखिन्थ्यो। यी दुई गाउँको बीचको अघिपछिको सम्बन्ध नराम्रो भए पनि, गाउँमा डाका लागेको बेला भने यिनीहरू एकजुट हुने गर्थे। त्यो वर्ष जेठको दोस्रो हप्ता बित्दासम्म पनि पानी पर्ने सुरसार देखिन्नथ्यो। पछिया हावाको तातो थामिनसक्नु हुन थालेको थियो। गाउँका गड्याहा र इनार सुक्न लागेका थिए, जमिन पटपट फुट्दै थियो, गाई-भैंसीलाई पानी पियाउन समस्या भइसकेको थियो।

त्यस्तै गर्मीको एक रात, हामी जमिनदारको घरको छतमा सुतेका थियौं। मध्यरातमा गाउँमा कतै बन्दुक पड्किएको आवाज सुनियो। चकमन्न गाउँमा एकाएक हलचल सुरु भयो। गाउँको चारैतिर मसाल बल्न थाले, हल्ला बढ्दै गयो। कोही बन्दुक लिएर निस्के, कोही भाला त कोही लाठी लिएर। गाउँको नजिकै फेरि अर्को पटक बन्दुक पड्किएको आवाजसँगै, दुवैतिरबाट बन्दुक हानाहान सुरु भएको थियो।

त्यो रात बन्दुक कै आवाज र हलखल्लमा नै बित्यो। भारतबाट आएका डाँका र गाउँलेको बीचमा गोली हानाहान हुँदा, दुई जना डाँका र गाउँको एक जना चौकीदार मारिएको कुरा बिहान मात्र थाहा भयो। डकैती, लुटपाट र छोरी-चेलीको बलात्कार यहाँ भइरहने नियमित घटना रहेछ। गाउँले बलिया भए डाकालाई भगाउँथे, गाउँले कमजोर भए डाँकाले गाउँ लुट्ने, बलात्कार गर्ने र मौका परे छोरीचेली अपहरण गरेर भारततिर लिएर जाने गर्थे। यस्तै हल्लामा बितेका थिए हाम्रा अनगिन्ती रातहरू। ०००


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.