के हो यो फ्याक भनेको ?
मैले कुनै संस्थामा नियुक्ति लिँदा ‘प्रेम फुँयाल’सम्म लेखेको पाएको छु। कति ठाउँमा ‘प्रेम फ्याट’सम्म।
‘तपाईंको नाम के हो ? ’
‘म प्रेम फ्याक।’
‘हजुर के भन्नुभयो ? ’
‘म प्रेम फ्याक’
‘फुँयाल हो ? ’
‘होइन।’
‘म फ्याक।’
‘फ्याट ? ’
‘होइन कस्तो नाम हो तपाईंको ? तपार्इं विदेशी हो ? ’
‘होइन म नेपाली’
माथिका लाइन नयाँ मान्छेहरूसँग भेटघाटका क्रममा परिचय दिँदा मैले भोग्नु परेका प्रतिनिधि घटना हुन्। विदेशतिर जाँदा यस्तो समस्या कहिल्यै भोग्नु परेको छैन। तर देशभित्र प्रायः मेरो थरको कारणले चिनजानको क्रम सकसपूर्ण भएको महसुस गर्छु। धेरै ठाउँमा त मैले मेरो पहिलो नाम मात्र भन्ने गरेको छु। बस्, ‘प्रेम’। भन्नै परे दिक्क मानेर ‘लिम्बू हुँ’ पनि भन्ने गर्छु। आखिर किन यतिविघ्न सकस। होइन मेरो नामको कारणले किन यति धेरै प्रश्न ? के मेरो थर यति अनौठो छ र ? कसरी विदेशी भो मेरो नाम ? यी प्रश्न सुन्दा सामान्य छन् तर यिनीहरूले बोक्ने सामाजिक र राजनीतिक अर्थहरू महत्वपूर्ण छन्। यो लेखमा मेरो नामको कारणले भोग्नु परेको सकस र नाम थरको सामाजिक र राजनीतिक पाटाहरू केलाउने कोसिस गरेको छु।
थर र पहिचानको प्रश्न
नेपाल बहुभाषिक, बहुजातीय र बहुसांस्कृतिक देश हो। यहाँ विभिन्न किसिमका जात र थरका मानिसहरू छन्। एउटै जातभित्र फरकफरक थर हुन्छन्। ती थरले भूगोल, इतिहास र संस्कृतिलाई प्रतिनिधित्व गरेका छन्। एउटा व्यक्तिका लागि उसको नाम र थर पहिचानका प्राथमिक स्रोतहरू हुन्। थरले समग्र समुदाय र जातिको पनि पहिचान बोकेको हुन्छ। नेपाली समाजले एउटा व्यक्तिलाई चिन्ने मुख्य पहिचान भनेको उसको नाम र थर नै हो।
नेपालको विविधता यहाँको जात र थरहरूले पनि प्रतिनिधित्व गरेका छन्। तर, यिनै जात र थरहरूले एउटा समाज र व्यक्तिका लागि शक्ति संरचनाको काम पनि गरिरहेका हुन्छन्। जात र थर कुनै समुदाय र व्यक्तिका लागि शक्तिको स्रोतको रूपमा काम गर्छन् भने कसैका लागि हाँसो र विभेदको विषय बन्न पुग्छन्। विशेष गरी अल्पसंख्यक समुदाय, जनजाति र आदिवासीहरूको जात र थर आमजनमानसमा हाँसोको विषय बन्न पुग्छन्। मेरो आफ्नै थरले लिम्बू जातिको प्रतिनिधित्व गर्छ। लिम्बू जातिभित्र एक सयभन्दा बढी थर छन्। लिम्बूभित्रका ‘नेम्बाङ, ‘आङदेम्बे, ‘लाउती÷लाओती, ‘सम्बाहाम्फे’जस्ता थर धेरैका लागि नयाँ नहुन सक्छन्, किनकि यी थर राजनीतिक शक्तिसँग जोडिएका छन्।
‘नेम्बाङ’, थर ‘सुबास नेम्बाङ’, ‘लाओती’ ‘पद्मसुन्दर लाउती’ र ‘आङ्देम्बे’ ‘प्रेमराज आङ्देम्बे’ जस्ता राष्ट्रिय नेताहरूको नामसँग जोडिएको हुनाले यी थर भएका व्यक्तिहरूको नाममा खासै प्रश्न उठ्दैन। तर लिम्बूभित्र ‘फ्याक÷फियाक, ‘येक्तेन, ‘बेघा’ , ‘इधिंगो’ जस्ता थुप्रै थर पनि छन्। यी थर आमजनमानसलाई थाहा नहुन पनि सक्छ। दार्शनिक युर्गेंन हाबरमासले भनेझैं ‘पब्लिक स्फियर’मा नसुनिएका यस्ता थरहरूले डिस्कोर्स र पब्लिक कम्युनिकेसनमा ठाउँ नपाएकाले हाम्रोजस्तो जातजातिले बनाएको संरचनागत समाजमा यस्ता थरसँग जोडिएका नामहरूलाई कम शक्तिशाली ठानिन्छन्। र यी यस्ता थर भएका मानिसहरूको पहिचानलाई हाँसोको विषय बनाइन्छ।
तर उच्च जातसँग जोडिएका ‘कोइराला’, ‘पौडेल’, ‘ओली’, ‘रेग्मी’ (उदाहरणका लागि मात्र) जस्ता थरले शक्तिको रूप धारण गर्छन्। शक्तिका दुई पक्ष छन्। १.) सुन्ने व्यक्तिका इन्द्रियहरूले यी र यस्ता थरलाई सजिलै लिन्छन् र पचाउँछन्। २.) यस्ता थरहरू भएका व्यक्तिहरूको पहिचानमा कसैले पनि प्रश्न सोध्दैनन्। अर्काे शब्दमा भन्दा यी थरहरू कुन जातका हुन् ? कस्तो थर हो ? यो कहाँबाट आयो ? जस्ता प्रश्न-प्रतिप्रश्न गरिरहनु पर्दैन। यस्ता प्रश्नमा शक्ति झल्किन्छन्। शक्ति संरचनामा प्रश्न कमजोरहरूमाथि शक्तिशालीले वर्षाउने हो। कुनै प्रश्नले उनीहरूको व्यक्तित्वलाई खुइल्याउने, कुनैले उनीहरूको पहिचान स्वीकार नगर्ने र कुनैले उनीहरूको उपस्थितिलाई मिनिमाइज गर्छन्। जसरी जातिगत संरचनामा व्यक्तिलाई उचनिच भनेर व्याख्या गरिन्छ, त्यसरी नै थरहरूमाथि गरिने प्रश्नले शक्तिशाली र शक्तिहीन बीचको सम्बन्ध देखाउँछ।
नाम, थर र नेगेटिभ लेबलिङ
मेरो नामभन्दा मैले धेरैपटक हाँसोको पात्र बनेको महसुस गरेको छु। श्रोताको ज्ञानेन्द्रियहरूले मेरो नाम सजिलै ग्रहण गर्न सक्दैनन्। यसै सन्दर्भमा एकजना विद्वान्सँग भएको मेरो संवाद यस्तो थियो :
‘भाइको नाम के हो ? ’
‘म प्रेम फ्याक’
‘के भन्नुभो ? ’
अचम्म मान्दै महाशयको मुहारमा हाँसो फुट्छ।
‘फ्याक’, कस्तो ‘फ्याक’
‘के हो यो, कस्तो थर ? ’
हुँदाहुँदा त विद्वान् महोदयले थरलाई क्रिया बनाएर हाँसोको विषय नै बनाउँछन्।
‘होइन तपाईसँग त डराउनुपर्ने पो रहेछ।’
‘किन र सर ? ’
‘होइन तपाईं त फ्याँक्ने मान्छे पर्नुभएछ नि।’
‘ए हो र सर, त्यस्तो खतरनाक त छुइन है। म अरूजस्तै एउटा सामान्य मान्छे हुँ। म कसैलाई फ्याँक्ने सामथ्र्य राख्दिनँ।’
हाँसोको बीचमा अर्काे प्रश्न तेर्सिन्छ- यो ‘अनौठो’ थर कुन जातिभित्र पर्छ ? मैले भनेँ, ‘लिम्बू’। ए तपाईं ‘लिम्बू’ हो ? हो म ‘लिम्बू हो। कहाँको ‘लिम्बू’ हो ? ‘म इलामको’।
यस्ता प्रश्न र संवाद मेरा लागि सामान्य भइसकेका छन्। ‘फ्याक’को पहिचानमा म जति गर्व गर्छु, त्यति नै ‘ह्यारस’ र सकस पनि भएको महसुस गर्छु। विशेष गरी मेरो थरको कारणले मलाई दिइएका नेगेटिभ लेबलिङले मेरो चरित्र हत्यासम्म पनि गरेका छन्। हालसालै कुरै नबुझी केही व्यक्तिको गलत सूचनाका आधारमा मेरो चरित्र हत्या गर्ने उद्देश्यले ‘फ्याक’ले ‘फेक’ विधि अपनाए भन्नेसम्मको समाचार छापेको रहेछ। ‘फेक’ मेरो थरको ‘नेगेटिभ लेबलिङ’ हो। सायद लिम्बू भएको भए त्यहाँ नेगेटिभ लेबलिङ हुने थिएन होला। समाज भाषा वैज्ञानिक हिसाबबाट हेर्दा यस्तो नेगेटिभ लेबलिङ व्यक्तिको चरित्रहत्या गर्न, उसको पहिचान कमजोर बनाउन र उसलाई शक्तिहीनका रूपमा प्रस्तुत गर्न प्रयोग गरिन्छ।
यतिसम्म त ठिकै छ, मैले कुनै संस्थामा नियुक्ति लिँदा ‘प्रेम फुँयाल’सम्म लेखेको पाएको छु। कति ठाउँमा ‘प्रेम फ्याट’सम्म लेखेको पाएँ। धेरै ठाउँमा दिक्क लागेर मैले मेरो नाम ‘प्रेम सुब्बा’ भनेको छु। ‘सुब्बा’ले पञ्चायती राष्ट्रियता बोकेको छ। राजामहाराजाहरूले केही लिम्बूलाई लिम्बुवान्को स्रोतसाधनलाई व्यवस्थित गर्न ‘सुब्बा’ पदवी दिएर काम लगाएका थिए। ‘सुब्बा’ हुनु भनेको शक्ति र सत्ता पाउनु हो। राज्यको नजिक हुनु हो र मूलधारमा आउनु हो। मुख्यतः ‘सुब्बा’ भनेपछि नामको कारणले प्रश्नको सामना गर्नु नपर्ने भो।
नाम र थरको कारणले एउटा व्यक्तिलाई हेर्ने दृष्टिकोण नै फरक भएको पनि पाइन्छ। जातीय संरचना हावी भएको देशहरूमा त नाम र थरको कारणले व्यक्तिहरूको ‘हाइएराअर्की’ नै बन्छ। विशेषगरी दलित, अल्पसंख्यक र आदिवासीजन्य थरका आधारमा व्यक्तिको पहिचानसँग सम्बन्धित दृष्टिकोणहरू बनाइन्छन्। यस्तो सोच र व्यवहारहरू एकांकी राज्य र औपनिवेशिक आइडियोलोजीको निरन्तरता हो। यो आइडियोलोजीले समग्र समाजलाई एउटा पक्षबाट मात्र हेर्छ र फरक पहिचानहरूमाथि प्रश्न गर्छ। यति मात्र होइन, नाम र थरको कारणले बुलिङको सिकार पनि हुने गरेको तथ्यहरू संसारभरि नै पाइन्छ। एक दिन मेरी छोरीले मलाई झस्काइन् ः
‘बाबा मेरो नाम फेर्न मिल्दैन ? ’
‘किन नाम फेर्नु र ? ’
‘मलाई साथीहरूले जिस्क्याउँछन्।’
‘के भनेर जिस्काउँछन् ? ’
‘मलाई ओई फ्याक, तँलाई कहाँ फ्याँकिदिऊँ भन्छन्।’
‘किन त्यसो भनेको रे ? ’
‘होइन स्ट्रेन्ज भयो रे।’
मानवशास्त्रीय चेत र नाम
विद्वान् लुपेंगा एम्फन्डाले अमेरिकामा अफ्रिकन नामहरूको ऐतिहासिक र सांस्कृतिक पक्षहरूलाई विश्लेषण गरेका छन्। नामले व्यक्तिको मात्र पहिचान नदिएर, समग्र समुदायको प्रतिनिधित्व गर्ने कुरालाई उनले जोड दिएका छन्। अफ्रिकीहरूले अमेरिकी नाम राख्नुको पछाडि रंगभेदको सिकार हुनबाट बच्नु रहेको भन्ने उनको ठम्याइ छ। दासप्रथा र औपनिवेशिक युगमा धेरै अफ्रिकीले अमेरिकी नाम राखे। नाम राख्दा आफ्नो रंग र जातिका बारेमा कसैले प्रश्न सोध्ने डर नहुने भएकाले अफ्रिकी अल्पसंख्यकले गोरा अमेरिकीको नाम राख्ने प्रचलन रहेको देखिन्छ। नामकै आधारमा अमेरिकाबाट फर्किनुपर्ने साथै ‘अपराधी’ हुनुपर्ने जस्ता डरका कारण धेरैले अफ्रिकीले नाम फेरेको पाइन्छ। दासप्रथा उन्मूलन भएपछि अफ्रिकी नाम राख्ने चलन बढेको देखिन्छ।
एम्फन्डाकै अनुसार अफ्रिकी मूलका व्यक्तिहरूले आफ्नो सांस्कृतिक र सामाजिक पहिचान जोगाउन र लामो समयदेखिको विभेदकारी सामाजिक चिन्तनलाई चुनौती दिन अफ्रिकी पहिचान बोकेका नाम राख्ने प्रचलन हाल बढेको देखिन्छ। कतिसम्म भने एक प्रख्यात विद्वान् बेल हुक्सले आफ्नो नाम र थरको पहिलो अक्षरलाई पनि क्यापिटलाइज्ड गरेनन्। धेरैले उनको नामलाई गलत सम्झेर क्यापिटलाइज्ड गरेका छन्। यो गर्नु उनको पहिचानलाई इरेज गर्नु हो।
येने गुतिरेजको भनाइमा कुनै व्यक्तिको नामलाई गलत तरिकाले उच्चारण गर्नु, लेख्नु र सुन्नुलाई उसको समग्र पहिचानलाई प्रश्न गर्नु हो भन्ने तर्क गर्छन्।
उनको अनुभवमा नामलाई गलत तरिकाले प्रयोग गर्नु भनेको व्यक्ति र उसको समग्र समाजलाई गलत बुझ्नु र कम आकलन गर्नु हो। उसको उपस्थितिलाई स्वीकार नगर्नु हो। नामका आधारमा जिस्क्याउने र उडाउने काम एउटा अपराध हो। नामको कारणले प्रश्न गर्नु भनेको ‘अदरिङ’ गर्नु हो। एडवार्ड साइदले भनेझैं ‘अदरिङ’ले कुनै व्यक्ति र समुदायलाई कमजोर र बहिष्कृतका रूपमा लिन्छ। तिमी र तिम्रो समुदाय अझै पनि मूलधारमा आएको छैन भन्ने सन्देश दिनु हो। यसले व्यक्ति र समुदायलाई बहिष्कृत भइरहेको महसुस गराउँछ। नेपाली समाजको डरले दलित, मधेसी र जनजाति समुदायले आफ्नो नाम फेरेको पनि इतिहास छ। संरचनागत विभेद त छँदै छ, त्यसमाथि नामको कारणले धेरैले ‘डिस्कर्सिभ’ विभेदको सिकार भएको महसुस गर्छन्।
नामको कारणले भोग्नुपर्ने समस्याले नेपाली समाजको परिचय दिन्छ। विशेष गरी यसले लामो जातीय, क्षेत्रीय र आर्थिक विभेदको प्रतिविम्बका रूपमा काम गरेको छ। मेरोजस्तै अदिवासी जनजाति र अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गर्ने नामहरू प्रायः हाँसोको विषय बन्ने गर्छन्। थरको कारणले हुने यस्ता व्यवहारलाई समग्र समाजको सोच र संरचनाको एउटा महत्वपूर्ण पक्षका रूपमा लिनुपर्ने हुन्छ।
फ्याक अंग्रेजी शिक्षाशास्त्र केन्द्रीय विभाग, त्रिविमा अध्यापनरत छन्।