सगरमाथा रिकल

सगरमाथा रिकल

विश्वका मानिसको सपनाको शिखर हो, सगरमाथा। यसको चुचुरोमा पुगेर जीवनको नौलो श्वास फेर्ने रहर सबैलाई हुन्छ। तर मनले कल्पिएको कल्पना कहाँ सबैले पूरा गर्न सक्छन् र। सगरमाथालाई चुम्न साहसिक र आँटिलो मनले मात्र सम्भव छ। त्यही साहसिक यात्रा दोस्रो पटक तय गर्दैछिन्, पत्रकार एवं आरोही कल्पना महर्जन। कल्पनाको कल्पित मन र तनलाई मात्र सगरमाथाले चिनेको छ।

सन् २०१४ मा पहिलो पटक सगरमाथा चढ्ने प्रयास गरेकी कल्पनालाई त्यति बेला भाग्यले साथ दिएन। सगरमाथा चढ्ने रहर पूरा गर्न र तालिम लिन मनाङको एक हिमालमा प्रशिक्षण गर्दा उनी दुर्घटनामा परिन्।

उपचारपछि डाक्टरले उनलाई अब सगरमाथा जाने प्रयास नगर्न सुझाए। उनको जवाफ थियो, ‘हामी कहिल्यै नमर्ने मान्छे हो र ?       जुन प्रयासको म लागि परेको हो, त्यो म पूरा गरेरै छोड्छ। जीवनको केही ग्यारेन्टी छैन, पहिलो प्रयासमा दुर्घटनाबाट बच्नु भनेको अपूरो काम पूरा गर्नका लागि हो।’ आखिर दोस्रो प्रयासमा उनलाई २०१८ मा सगरमाथाले स्वीकार गर्‍यो।

गत वर्ष कल्पनासहित पाँचजनाको महिला पत्रकार टोलीमध्ये चारजनाले सगरमाथाको सफल आरोहण गरे। ‘समानताका लागि बुलन्द आवाज’ नाराका साथ पहिलो पटक मेगा टेलिभिजनमा कार्यरत उनै कल्पनासहित रोशा बस्नेत, देउराली चाम्लिङ र रोजिता बुद्धाचार्यले सगरमाथाको सफल आरोहण गरेका थिए। प्रियालक्ष्मी कार्कीको आरोहण स्वास्थ्यका कारण बीचमै रोकियो।

गत जेठमा पहिलोपटक सगरमाथा चढेर फर्किएकी कल्पना फेरि एक वर्ष नपुग्दै सगमाथा चढ्ने तयारीमा व्यस्त छिन्। उनी दैनिक पाँच बजेदेखि बेलुका सात बजेसम्म अहिले आरोहणको अभ्यास गरिरहेकी छन्।

‘एकपटक आरोहण गरिसकेकोले अहिले त्यति गाह्रो नहोला। बिहान दुई घण्टा युट्युबमा आरोहणसम्बन्धी भिडियो हेर्ने गरेको छु। त्यहाँ खानपान, अक्सिजन, अभ्यासलगायत सबै ज्ञान पाइन्छ। त्यसपछि इन्स्ट्रक्टरको सल्लाहमा जिम, स्ट्रेन्थ, कार्डियो जस्ता व्यायाम गरिरहेको छु। आरोहणको तालिम पनि लिइरहेको छु। ६ वर्षको छोरालाई घरमा एक्लै छाडेर ट्रेनिङ क्यासमा बसेकाले बिहानबेलुका छोरा र       श्रीमान्सँग कुरा हुन्छ’, ३५ वर्षीय कल्पना भन्छिन्।

यसपटक उनलाई सगरमाथा आरोहण गर्न परिवारले झनै सहयोग गरेको छ। ‘पहिलो पटकको तयारी गर्दा छोरो सानै थियो। घरमा       श्रीमान् र सासूलाई सम्झाउन निकै गाह्रो भएको थियो। सगरमाथा चढेर आएपछि मैले यहीबाट पहिचान बनाए। त्यसैले यही क्षेत्रमार्फत समाजसेवाका लागि केही काम गर्छु भनेपछि परिवार झनै खुसी हुनुभएको छ’, कल्पनाले भनिन्।

कल्पनाले यसपटक उत्तरतर्फ चीनको भूभागबाट सगरमाथा आरोहण गर्न लागेकी छन्। नेपालबाट गत वर्ष चढेकाले महिला पत्रकारका रूपमा दुवै देशबाट सगरमाथाको सफल आरोहण गर्नु उनको लक्ष्य छ। त्यससँगै यसपटक उनको आरोहणको नारा ‘कल्पना ब्याक टु एभरेस्ट अ क्याम्पिजियन अगेन्स चाइल्ड म्यारिज’ रहेको छ। उनले अर्को महिना सगरमाथा आरोहण गर्नेछिन्।

कल्पना महर्जनसहित रोशा बस्नेत, देउराली चाम्लिङ र रोजिता बुद्धाचार्यले सगरमाथाको सफल आरोहण गरेका थिए। प्रियालक्ष्मी कार्कीको आरोहण स्वास्थ्यका कारण बीचमै रोकियो।

‘मैले सगरमाथा चढेर एउटा आरोहीको पहिचान बनाए। यसलाई म त्यत्तिकै राख्न सक्दिनँ। नेपालमा धेरै बालबालिका उमेर नै नपुगी विवाह गर्न बाध्य छन्। यसलाई रोक्ने एउटै माध्यम भनेको शिक्षा हो। आरोहणबाट बचेको रकम मैले शान्ति शिक्षा अभियान नेपाल नामक संस्थामार्फत बालबालिकाको शिक्षामा खर्च गर्न चाहेको छु। आरोहणसँगै समाजसेवा मेरो उद्देश्य हो’, कल्पनाले भनिन्।

उनले बालबालिकाको क्षेत्रमा सहयोग गर्ने सोच सगरमाथाको आरोहणकै क्रममा पलाएको बताइन्। ‘साना बालबालिका पढ्ने उमेरमा भरियाका रूपमा हिँडेको देख्दा मेरो मनमा केही गर्ने जोश पलायो। सगरमाथाबाट फर्किएपछि विभिन्न क्षेत्रमा सम्मान पाएँ। समाजले गरेको सम्मानले मलाई सामाजिक काम गर्न झनै प्रेरित गरेको हो’, कल्पना भन्छिन्।

सगरमाथा आरोहणको सिजन एक प्रकारको अन्तर्राष्ट्रिय सम्मेलनजस्तै हुने भएकाले त्यहाँ उठाएको आवाज सबैले सुन्ने उनको ठम्याइ छ। ‘हाल विश्वमा दुई सेकेन्डमा एक जनाको बालविवाह हुने गरेको छ। विश्वमा सर्वाधिक बालविवाह हुने देशमा बंगलादेश र भारतपछि नेपाल तेस्रो हो। यहाँको बालविवाह अत्य गर्न मैले आरोहणलाई माध्याम बनाएको हुँ। बालविवाह रोक्ने एउटै उपाय शिक्षा हो। मेरो सानो प्रयासले केही होला भन्ने आशा छ’, कल्पनाले अठोट गरिन्।

कल्पनाले आरोहणकै लागि मेगा टेलिभिजन (अफिस)बाट छुट्टीसमेत लिइसकेको बताइन्। उनलाई सगरमाथा आरोहणको बस्दोबस्त एक्स्पेरियन्स आउटडोर्स संस्थाले गरिदिएको छ। ‘चीनबाट सगरमाथा चढ्न नेपालबाट भन्दा महँगो छ। भिसा र आरोहण शुल्क, गाइड, सामग्री र तयारीका लागि करिब ६० लाख रुपैयाँ खर्च हुन्छ। आरोहणका लागि धेरै रकम जुटाइसकेको छु। अझै केही रकम पुगेको छैन’, उनी भन्छिन्।

कल्पनाको आरोहणलाई यसपटक ललितपुर महानगरपालिकाले आफ्नो एक सय वर्ष पुगेको अवसरमा र संस्कृतिविद् सत्यमोहन जोशीको शतवार्षिक कार्यक्रमअन्तर्गत ३० लाख रुपैयाँ सहयोग गरेको छ। सहयोगबापत कल्पनाले सगरमाथामा ललितपुर महानगरको झन्डा र सत्यमोहनको फोटो फहराउनेछिन्।

महानगरसँगको सहमतिअनुसार कल्पनाले त्यहाँको तस्बिर महानगरलाई उपलब्ध गराउनु पर्नेछ। सगरमाथाको सफल आरोहणपछि कल्पनालाई महानगरको सद्भावना दूतका रूपमा विभिन्न कार्यक्रममा सहभागी गराइने उल्लेख छ। कल्पनाको हेली पार्टनरमा सिम्रिक एअर रहेको छ। यसैगरी उनको आरोहणलाई ललितपुर चेम्बर्स, ज्यापू समाज ललितपुर, युनाइटेड सिमेन्ट, माइजान तेल, ग्रेस इन्टरनेसनल कन्सल्टेन्सी, आईएमएस कलेजलगायत संस्थाले सहयोग गर्ने भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.