कट् कट् कट् कोट्यास

कट् कट् कट् कोट्यास

प्रकृतिको मोहक परिवेश, एउटी सानी बालिका, भोकले कहिल्यै नरुवाएको, गरिबीको अरिंगालले नचिलेको अत्यन्त सुन्दर बाल्यकाल। यो अरू कसैको सन्दर्भ होइन अपितु मेरै हो। धरानको एकान्त ठाउँ भन्दा पनि हुने। पातला घरहरू, लामा लामा भएर पसारिएका बिगौका मकैबारीहरू, संँगुर, बाख्रा, पाठा र गाईभैंसीका जताततैबाट प्रवाहित हुने स्वरहरू, पिचले नछोपेका बाटाहरू, बाटावरपर आकाशबेलीका ढकमक्क गहना लगाएर उभिएका सिमालीका बोटहरू। यो चित्र हो, धरान-१३ अमरपथको। त्यतिखेर सायद नामकरण गरिएको थिएन। त्यहाँ त्यो परिवेशमा फ्रक लगाएर जताततै उफ्रँदै कुद्दै हिँड्ने केटीहरूमा म पनि एक थिएँ।

सायद म दस वर्षकी थिएँ। आफूले बोक्न सकेसम्मको गाग्रो बोकेर धारामा पानी भर्न जान्थेँ। अहिलेजस्तो घरघरमा पानी पुर्‍याउने खानेपानीको व्यवस्थापन थिएन। ठाउँठाउँमा चौबीसै घण्टा पानी बगिरहने सरकारी धाराहरू थिए। मैले पानी भर्ने धारापछाडि अन्तरी दिदीको सानो खरको झुप्रो थियो। त्यहाँ बसेर उनी साहिँला साहूको निकै ठूलो बारी कमाउँथिन्। केही लंगडाएर हिँड्ने अन्तरी राई जातकी दिदी एक्ली थिइन्। सुँगुर, बाख्रा, पाठा र कुखुराहरू प्रशस्त पालेकी थिइन्। धाराको ठीक पछिल्तिर उनको झुप्रो थियो।

उनको सानो आँगनमा पोथी कुखुराले अनेकौं चल्ला हुर्काउँथ्यो। कट् कट् कट् कोट्यास, कट् कट् कट् कोट्यास— घरिघरि आमा चल्लाहरूलाई सतर्क गराउँदै नजिक बोलाउँथ्यो। आकाशमा चिल उडोस् या अपरिचित मानिसहरू नजिक आऊन्, हत्तपत्त आमा काखमा बच्चाहरू लुकाउने गथ्र्यो। बच्चाहरू अलिक परपर चर्न गए भने ऊ पुनः कट् कट् कट् कोट्यासको स्वर निकाल्दै आफूसँग बोलाउने गथ्र्यो।

अन्डाबाट भर्खर कोरलेका बच्चाहरू विस्तारै बढ्दै थिए। उसको हप्काइबाट नडराईकन म ती फूलजस्ता ससाना बच्चाहरू हत्केलामा लिएर अलमलिने गर्थें। शाकाहारी परिवारको भएकै कारण जीवजन्तुप्रति संवेदनशील हुन परिवारबाट सिकेकी थिएँ मैले।

एक दिन पानी भर्न जाने क्रममा सधैंभन्दा अनौठो वातावरण थियो त्यहाँ। केही लाठेहरू पोथी समात्ने प्रयास गरिरहेका थिए। अन्तरी दिदी पनि खुट्टा खोच्याउँदै आतेसपूर्ण अनुहारले यता र उता गर्दै थिइन्। ससाना चल्लाहरू चिच्चाउँदै आँगनभरि छरिएका थिए। उता आतंकित पोथीलाई समाउने लाठेहरूको प्रयास जारी थियो।

पोथी ती लाठेहरूसँग बच्दै जोगिँदै यता झुप्रोतिर आउने प्रयास गरिरहेको थियो। पक्डिने अवस्थामा भएपछि ऊ फेरि पनि भागेर परपर जान्थ्यो। केही बेरको रमिता हेराइपछि मैले अन्तरी दिदीलाई सोधँे, ‘दिदी कुखुरालाई किन खेदेको ? ’

‘बहिनी आज यो कुखुरा एकाबिहानै बास्यो।’

‘अनि समाएर के गर्ने ? ’

‘यसलाई मार्नुपर्छ’

‘किन दिदी ! किन मार्नु ?       यतिका ससाना चल्लाहरूको बिजोग हुँदैन ? ’ एकै स्वरमा मैले सोधेकी थिएँ।

‘हो नि बहिनी तर यसलाई नमारी हुँदैन।

‘नमार्नु न दिदी। नमार्दा के हुन्छ र ?       यी चल्लाहरूलाई कसले भुइँ खोस्रेर चराउँछ ?       कसले शरीमा राखेर तातो पार्छ। काग र चिलबाट कसले जोगाउँछ ?       दिदी मार्न नदिनु न यसलाई।’

‘होइन नि नानी, यसलाई नमारे त अलच्छिन लाग्छ। घरमा हान्ती हुन्छ। यसलाई नमारे हामीलाई नराम्रो हुन्छ ?

अन्तरी दिदीको अनुहारमा आतेस प्रस्ट देखिन्थ्यो। उता लाठेहरूको कर्म जारी नै थियो। घरि वर आउँदै घरि पर भाग्दै थिई पोथी। ज्यानको माया एकातिर गुँडको माया अर्को तिर अनि भर्खरै कोरलिएका निरीह अशक्त चल्लाहरूको माया झन् अर्कोतिर। मलाई लाग्थ्यो, यो भागोस् आपत्कालीन स्थितिमा। आफ्ना पखेटाहरू प्रयोग गर्दै भागोस्। प्रकृतिको घना साम्राज्यमा कतै न कतै आ श्रय पाइहाल्ने छ यसले। साना चल्लाको माउ पनि नभन्ने, सुत्केरी पनि नभन्ने हृदयहीन मानिसको बस्तीबाट प्रकृतिको पोल्टामा सुरक्षित अवतरण गरोस्।

म सुखमा, माया र ममताको सरोवरमा हुर्किएकी सानी केटी त्यति बेला मलाई के थाहा यो सांसारिक प्रपञ्चको। यो स्त्री जातिप्रति असहिष्णु समाजको, यसका विभेदकारी रीतिथितिको, यो अन्यायी व्यवहारको, आँगनमा चिहिलविहिल भएर चिच्याउँदै आमालाई बोलाइरहेका बच्चाहरूको मायाको।

अन्ततोगत्वा जीवनभन्दा बच्चा, गुँड र सधैं चर्ने आँगनको माया बलियो भयो। आतिएकी पोथी मैले सोचेजस्तो भाग्न सकिन, भागेको भाग्यै गर्न सकिनँ। खहरे खोलामा। जताततै भएका बाक्ला झाडीहरूमा गएर ज्यान जोगाउन सकिन। अहो चल्ला, गुँड, आँगन र कठोर हृदया अन्तरीलाई माया मार्न सकिन। त्यतिखेर आमा नभइसकेकी मलाई बच्चाहरूको मायाको बोध हुने कुरै थिएन जसको बच्चा रोए पनि आफ्नै बच्चा रोएको लाग्ने अनुभूतिको अनुभव नै थिएन।

म सानी बालिका थिएँ। सायद दस वर्षकी। कठोरता भोग्नुनपर्ने मायालु अनि शान्त परिवारमा हुर्किएकी। सबै कुरा अत्यासलाग्दा थिए त्यो दिन। कुन समय थियो, सायद बिहानको समय थियो। प्रकृति कस्तो थियो, कुन महिना थियो, गर्मी या जाडो कुनै कुराको स्मृति छैन मलाई। मात्र हस्याङफस्याङ गर्दै पोथीलाई लखेटिरहेका लाठेहरू, आत्तिँदै यताउता गर्दै जोगिँदै घरि घरतिर घरि अलि पर्तिर गर्दै गरेकी पोथी, आँगनमा आत्तिँदै आमालाई गुहार मागिरहेका ससाना चल्लाहरू अनि अनिष्टको आशंकाले रातोपिरो भएकी अन्तरी दिदी मात्र याद छ मलाई। केही बेरपछि बलिष्ठ लाठेहरूको हातमा च्यापिएर आँगनमा आइपुग्छे त्यो निरीह प्राणी। त्योसँग न बच्चाको आर्तनाद सुन्ने अवस्था हुन्छ, न उम्किएर कतै भाग्ने सामथ्र्य हुन्छ। हेर्दाहेर्दा खस्रा, अररा हातहरूबाट उसको कोमल घाँटी निमोठिन्छ अनि भयभीत अन्तरी दिदीको झुप्रोको धुरी नगाएर पारिपट्टि पुर्‍याइन्छ। सबै आश्वस्त हुन्छन्, मात्र चल्लाहरूको आतेस जारी नै रहन्छ।

पोथीलाई भुटिन्छ र लोकल रक्सीसँग खाइन्छ। ठूलै अनिष्ट टरेको अनुभूति हुन्छ लाठेहरूलाई। ठूलै युद्ध जितेजस्तै ढुक्क हुन्छ अन्तरीलाई। मेरो कलिलो मन खिन्न हुन्छ। किन बासेछ त्यो पोथी ?       नबासेको भए सायद मारिने थिएन होला ?       त्यसका ससाना चल्लाहरूको बिजोग हुने थिएन होला।

आँगनमा पोथीको स्वर प्रवाहित हुन छोडेको थियो। शून्य आँगनमा कलिला चल्लाहरू यताउता गर्दै हुन्थे। ती सुन्दर चल्लाहरू विस्तारै दुब्लाउँदै गए, झुसिलकीरा जस्ता हुँदै गए। भुइँ खोस्रेर खुवाउने आमा थिइन; चिल, बिरालोबाट बचाउने भुवादार न्यानो शरीर थिएन। अनि कट् कट् कट् कोट्यासको मीठो आवाज पनि थिएन।

आधाउधी चल्लाहरू केही दिनमा मरे। केही चिल, काग र बिरालोका आहार भए। थोरै बचेकाहरू दुब्ला र हेर्नै नहुने भए। यो सबैको प्रत्यक्षदर्शी त्यो सानो केटी, या नि कि म। बारम्बार वर्षौंसम्म त्यो घटना मेरो स्मृतिमा टाँसिएर बसिरह्यो, अनि मेरो मनलाई दुखाइरह्यो।

पछि विस्तारै युद्धजस्तै जीवन भोग्न थालेपछि मैले कुराहरू बुझ्न थालेँ। नारी उत्पीडनका अनुभवहरू गर्न थालेँ। किन बास्यो त्यो पोथी ?       झुल्कन झुल्कन आँटेको सूर्यको अद्भुत सुन्दरताले आल्हादित भएर, चिसो निष्पट्ट रात बित्न लागेको थाहा पाएर, उज्यालोले कुत्कुत्याएपछि खपिनसक्नु भएर वा अन्य कुनै कारणले बास्यो। जे भए पनि बास्यो र बासेरै छोड्यो।

बास्नुको ठूलै मूल्यै चुकाएरै भए पनि बास्यो। उसले बासेको त्यो क्षण उसको लागि महाकाल भएर आयो। तर पनि पोथी बास्यो, बासेको बास्यै गर्‍यो। पोथीहरू पनि बास्दा रहेछन्, बास्न सक्दा रहेछन्, उनीहरूसँग पनि बास्ने स्वर हुँदो रहेछ भनेर एउटा अनुपम उदाहरण प्रस्तुत गरेर बास्यो। खानेले खाए, हड्डी चपाई चपाई खाए, रक्सीको घुट्को निल्दै खाए। खुसियाली मनाउँदै खाए। जे भए पनि पोथी बास्यो, बासेरै छोड्यो। धेरै पाठक र श्रोताले रुचाउनुभएको मेरो कविताको रचनागर्भ निर्माण त्यहीँनिर भयो। धन्य छ, सम्मान छ, अन्तरहृदयदेखि सम्झना छ— त्यो उज्यालोसँग रमाउने, परिवर्तन देखेर आल्हादित हुने पोथीलाई।

पोथी बास्नु हुँदैन

सधैं सधैं घरका धुरीहरूमा

आँगनहरूमा, बार्दलीहरूमा

घाँटी तन्काउँदै, सिउर हल्लाउँदै

बास्ने काम भालेको हो

आवाज उकास्ने काम भालेको हो।

पोथीले मात्र कुर्कुराउनु पर्छ

आक्रोशका घुड्काहरू चुपचाप निल्नु पर्छ

अण्डा पार्नु पर्छ, ओथारा बस्नु पर्छ

चल्ला काढ्नु अनि

तन्मयतापूर्वक बच्चा हुर्काउनु पर्छ

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन।

तौलीतौली बोल्नु पर्छ

शब्दमा आदरभाव घोल्नु पर्छ

पाउमा निहुरिनु पर्छ

दासताको फूल सिउरिनु पर्छ

लक्ष्मणरेखा नाघ्नु हुँदैन

अधिकार माग्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन।

आँसु हतियार हो

मुस्कान हतियार हो

स्थितिअनुसार प्रयोग गर्नु पर्छ

परिस्थितिअनुसार उपयोग गर्नु पर्छ

साँचो कुरा बोल्नु हुँदैन

अन्धकारको पर्दा खोल्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन।

टेक गर्नु हुँदैन

थुनछेक गर्नु हुँदैन

मालिक मालिक रट्नु पर्छ

यन्त्र जस्तो भएर खट्नु पर्छ

नयाँ परिवेशमा टेक्नु हुँदैन

नयाँ विचार राख्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन।

बासेमा के हुन्छ ?

साह्रै अनिष्ट हुन्छ

नीति नियम रुष्ट हुन्छ

ठूलो अवरोध सहनु पर्छ

आँसुको नदीमा बग्नु पर्छ

सपना तुहिन सक्छ

जीवन चुँडिन सक्छ

ओथारोको अन्डा

त्यसै त्यसै कुहिन सक्छ

चल्लाको कलिलो जीवन

नफुल्दै झर्न सक्छ

प्रहार हुन सक्छ

संहार हुन सक्छ

त्यसैले चेतनाको डाक बोल्नु हुँदैन

अन्धकारको पर्दा खोल्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन।

अवरुद्घ चेतना

कहिलेकाहीँ प्रवाहित हुन खोज्दा

जडताको विरुद्घ

गतिशीलताको पाइला चाल्न खोज्दा

उज्यालोले कुत्कुत्याएपछि

आँटिला मुटुहरूले मुख खोल्दा

साँचो कुरा बोल्दा

आतंकित बर्बरताहरू

एकैपल्ट ब्यूँझिएर

जीवनको विरुद्घ

मृत्युघण्ट ठोक्न सक्छनएकोहोरो शंख फुक्न सक्छनत्यसैले ठूलो आँट नलिई

दरिलो साथ नलिई

काँडाघारीमा पस्नु हुँदैन

उन्मुक्त हाँसो हाँस्नु हुँदैन

पोथी बास्नु हुँदैन।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.