आमाको किरियामा प्रभा र प्रमिता
काठमाडौं : ताहाचलस्थित ‘श्रेष्ठ कोलोनी’ भित्रको घर नम्बर ३० मा सेतो लुगामा छन्, प्रभा गिरी (२३) र प्रमिता गिरी (२०)। आमा पार्वतीको किरिया गर्न उनीहरू बसेको शनिबार १० दिन भयो।
यही चैत्र सात गते पाठेघरको क्यान्सर भएर आमा बितिन्। आमालाई दुई छोरीले दागबत्ती दिए।
‘सानो ट्युमर पलाएको होला भन्ने सोचेका थियौँ तर, ट्युमर पुरै फैलिसकेको रहेछ,’ जेठी छोरी प्रभाले भनिन्, ‘अस्पताल लगेको हप्तादिन नबित्दै आमाले सदाका लागि हामीलाई छोड्नुभयो।’
स्व. पार्वतीको बिहे २०४८ सालमा भक्तपुर, ताथलीका हरिबहादुर गिरीसँग भयो। ‘बिहे गरेको केही वर्षमै उनले अर्की श्रीमती ल्याए,’ प्रभाका मामा गोपाल गिरीले भने, ‘मेरी बहिनीलाई घरमा एक्लै बिचल्ली बनाएर भक्तपुर, कमलविनायकमा कोठा लिएर बसे।’ हरिका कान्छी श्रीमतीका तर्फबाट अहिले दुई छोरा र एक छोरी छन्।
‘मेरी दुई भान्जीले बुबाको माया कहिल्यै पाएनन्,’ मामा गोपालले भने, ‘सानैदेखि मामाघरमै हुर्के, बढे अनि पढे। अहिले कान्छी भान्जी स्नातक पढ्दैछिन्। जेठी मास्टर्सको तयारीमा छिन्।’
‘म जन्मिएपछि ‘छोरी जन्मी’ भनेर अर्को बिहे गर्नुभएको रहेछ,’ कान्छी छोरी प्रमिताले भनिन्, ‘जन्मेदेखि अहिलेसम्म न उहाँले हामीलाई ‘छोरी’ भनेर बोलाउनुभएको छ, न हामीले नै उहाँलाई ‘बुबा’ भनेर बोलाएका छौँ।’
बुबाको माया कस्तो आफूहरूलाई कहिल्यै थाहा नभएको प्रभा र प्रमिता बताउँछन्। सानैदेखि मामाघरमा हुर्किएकाले मामा गोपाललाई नै उनीहरू ‘बाबा’ भनेर बोलाउँछन्।
‘बुबा नभएपनि हामीलाई कहिल्यै बुबाको कमी महसुस भएन,’ प्रभाले भनिन्, ‘आमा सहयोगी र साथी जस्तै हुनुहुन्थ्यो। उहाँले नै हामीलाई बुबाले दिनेभन्दा बढी माया दिनुभयो। हामी हाम्रो आमालाई नै बुबा मान्थ्यौँ।’
‘आमाले प्लाइउड कारखानामा काम गरेर हामीलाई खर्च दिनुहुन्थ्यो,’ प्रमिताले भनिन्, ‘बाँकी समय मेलापात र मजदुरी गरेर हाम्रो इच्छा पुरा गर्नुहुन्थ्यो।’
आमाले बुबा र उहाँको घर परिवारबाट शारीरिक र मानसिक यातना भोग्दै आएको प्रभा अहिले पनि झल्झली सम्झिन्छिन्।
‘आमाले कहिल्यै आफ्नो हक अधिकार माग्नुभएन,’ उनले भनिन्, ‘जे छ त्यसमै चित्त बुझाउनुभयो। धेरै शारीरिक यातना भोग्नुभयो। दुःखै दुःखमा उहाँको जीवन गयो। उहाँ धेरै कुरा सहेर बित्नुभयो।’
‘बहिनी बितेको खबर पाउँदा समेत उनी अनुहार समेत हेर्न आउन मानेनन्,’ मामा गोपालले भने, ‘वडा अध्यक्ष र गाउँका अगुवाहरूको करबलमा बल्लतल्ल आए।’
छोरी प्रभा र प्रमिता आफ्नै बुबाले सौतेनी बुबाको व्यवहार गरेको बताउँछन्। ‘आमालाई उहाँले जीवनभर त बेवास्ता गर्नुभयो,’ प्रभाले भनिन्, ‘उहाँ बितेर गइसक्दा समेत उहाँको दाहसंस्कारमा हामीलाई साथ दिनु भएन।
‘बुबाले बेवास्ता गरेपछि कसले किरिया गर्ने भन्ने कुरा निस्कियो,’ प्रभाले भनिन्, ‘‘हामी गर्छौँ’ भनेर म र मेरी बहिनी अगाडि सर्यौँ। यसका लागि हाम्रो मामाले हामीलाई धेरै सहयोग गर्नुभयो।’ प्रत्येक दिन भेट्न आउने आफन्तले उनीहरूलाई भन्ने गरेका छन्, ‘तिमीहरू छोरी होइनौ, छोरा हौँ ।’
‘जो भेट्न आए पनि ‘तिमीहरूले छोराले गर्ने काम गर्यौँ,’ प्रमिताले भनिन्, ‘आमाले बाचुञ्जेल हामीलाई ‘तिमीहरू छोरी हौँ, तिमीहरूले केही गर्न सक्दैनौँ’ भनेर कहिल्यै भन्नुभएन। छोराछोरीको फरक छुट्याउने त समाज हो।’
अब घर र बहिनीको सम्पूर्ण जिम्मेवारी आफ्नो थाप्लोमा आएको प्रभा बताउँछिन्। ‘अब म र मेरी बहिनी बलियो बन्नुपर्छ,’ उनले भनिन्, ‘जीवन लामो छ। त्यसैले हामी आँटिलो हुनुपर्छ। आमाले आफ्नो अधिकारको कहिल्यै लड्नुभएन। अब म र मेरी बहिनी आफूले पाउने अधिकारका लागि लड्छौँ।’