राति खोल्सामा फ्याकेको फोहोर जब बिहान घरमै आइपुग्यो
स्याङ्जा : रातको समय पारेर घरमा जम्मा भएको फोहोर खोला वा खोल्सामा फाल्ने गर्नुभएको छ ? पछुताउनुहोला।
वालिङ नगरपालिकामा यस्तै भयो। रातको समयमा कसैले नदेख्ने गरी खोल्सामा फ्याकिएका फोहरका पोका शनिबार बिहान फाल्नेकै घर घरमै आइपुगे। फोहोर उठाउन आउने टिपरले नै आफैंले फ्याकेको फोहोर मैला र थैला आफनै घर घरमा ल्याएर दिएपछि नगरबासी जिल्लिए।
टिपरबाट पोका झिक्दै ‘लौ तपाईँका सामान तपाईँ नै राख्नुहोस्’ भन्दा स्थानीयबासी अलमलमा परे।
बजारभन्दा केही पर खोल्सामा फोहोर फाल्नेगरेपछि वरपरका स्थानीयवासी फोहोरबाट पिरोलिएका थिए। त्यसपछि वालिङ नगरपालिका १० फेदी मोहोरियाबासीले आफ्नो नजिकको खोल्सामा फोहोर फाल्नेको पहिचान गर्ने काम गरे। उनीहरूकै सहयोगमा ती फोहोर सामाग्री फाल्नेका घरघरमा पुर्याइयो।
वडाले पनि पटक/पटक सम्झाउँदा बुझाउँदा समेत फोहर फाल्ने क्रम नरोकिए पछि स्थानीयहरूले रातमा पालो गरेर निगरानी बढाएको बताउँछन्। शनिवारको नियमित सरसफाई गर्ने क्रममा खोल्सामा फ्याकिएका फोहोर मैला, फोहोर पोकाहरू, अनावश्यक विल तथा अन्य फोहोरजन्य बस्तु कस्को हो भन्दै खोजतलास गरेको थियो।
पोकाभित्र रहेका फोहोरबाट केही घरमूलीको प्रमाण जुटेपछि वडा अध्यक्ष अनन्तराज गैह्रे सहित फोहरका पोकाहरु लिएर व्यापारी र स्थानीयबासीका घर—घरमा नै पुर्याएर फिर्ता गरिए।
फोहोर बुझाउँदै वडाध्यक्ष अनन्तराज गैहे। फोटोः भवानी अधिकारी/अन्नपूर्ण
जथाभावी फोहर फालेर वातावरणलाई प्रदुषित तथा प्राणीलाई रोगी बनाउन पाइँदैन भन्दै फोहर फाल्ने व्यापारीहरूलाई पुनः यस्ता कार्य नगर्न सचेत गराइएको वडा अध्यक्ष गैह्रेको भनाइ छ।
‘फेरि यस्ता कार्य दोहोरिएमा कारवाही गर्छु’, अध्यक्ष गैह्रैले भने। वालिङ बजारस्थित जुना ब्युटीपार्लर, सुपङ इम्पोरियम, दिपेश शर्मा लगायतका फोहरका पोका उनीहरूलाई उपलब्ध गराएर सचेत गराइएको छ।
यसरी फोहोरका पोका आएपछि नगरपालिकाले फोहर व्यवस्थित रुपमा नउठाइको गुनासो केही ब्यापारीको छ। बिहान आफू नउठ्दै ६ बजे फोहोर उठाउन आउँदा समस्या परेको उनीहरूको भनाई छ।
फोहर मैला व्यवस्थापनमा मुलुककै उत्कृष्ट नगर घोषणा भएर वालिङ नगरपालिका ३ पटकसम्म पुरस्कृत भएको छ। नगरपालिका फोहर मैलाबाट लाखौं रुपैया आर्जन गर्न सफल छ।
यहाँ कुहिने सामानको उपयोग गर्दै मल उत्पादन गरिएको छ। नगरपालिकाले नगरवासीका घर घरमा पुगेर एक दिन बिएर कुहिने र नकुहिने फोहोर उठाउदै आएको छ।