आठौं राष्ट्रिय खेलकुदको मिति तय

आठौं राष्ट्रिय खेलकुदको मिति तय

काठमाडौं : पटकपटक सर्दै आएको आठौं राष्ट्रिय खेलकुदको मिति तय भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को शुक्रबार सम्पन्न १११ औं बोर्ड बैठकले प्रदेश ५ को सहर नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको हो।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद कुनै पनि हालतमा अब नसर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए। ‘पूर्वाधारको सबै तयारी लगभग सकिएको छ। गर्मी मौसम भएकाले खेलहरू बिहान र रातिको समयमा हुनेछन्। नेपालगन्ज रंगशालाको प्यारापिट एक सातामा तयार हुनेछ। प्रतियोगिताका लागि खेलाडीको छनोट सकिएको छ’, विष्टले भने। विष्टले आठौंका लागि भौतिक पूर्वाधारमा ९० करोड रुपैयाँ खर्च भइसकेको जानकारी पनि दिए।

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले आठौंको मिति सहमतिमा तय गरिएको बताए। ‘मौसम र भौतिक तयारीका हिसाबले भन्दा पनि आठौं गर्नुपर्ने बाध्यता छ। आठौं नेपालमा आयोजना हुने आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी हो। अहिले प्रतियोगिता नगर्दा १३औं सागलाई असर पर्ने देखिन्छ’, पीताम्बरले भने।

प्रतियोगिताको उद्घाटन चैत ५ गते र समापन ११ गते बाँकेको नेपालगन्ज रंगशालामा हुनेछ। प्रतियोगितामा समावेश ३५ खेलमध्ये केही खेल चैत २७ बाट सुरु हुनेछ। आठौंका खेलहरू बाँके, बर्दिया, दाङ, कपिलवस्तु र रूपन्देहीमा सञ्चालन हुनेछन्। हरेक दुईदुई वर्षमा आयोजना गर्ने हिसाबले २०३८ सालदेखि सुरु गरिएको राष्ट्रिय खेलकुद विभिन्न कारणले समयमा हुन सकेको छैन। भौतिक संरचनाका कारण आठौं अन्तर्गतका केही खेल प्रदेश ५ बाहिर समेत खेलाइने छ। स्क्वास ललितपुर, प्याराग्लाइडिङ कास्की र गल्फ काठमाडौंमा हुनेछ।

स्वर्ण विजेतालाई १५ हजार

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा व्यक्तिगत स्पर्धामा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिने निर्णय गरिएको छ। यसअघिको संस्करणभन्दा योपटक पुरस्कार राशिमा वृद्धि गरिएको हो। यसअघि स्वर्ण विजेताले १० हजार रुपैयाँ पाएका थिए। नयाँ कीर्तिमान बनाउने खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। सामूहिक स्पर्धामा स्वर्ण विजेतालाई सात हजार रुपैयाँको व्यवस्था गरिएको राखेपले जनाएको छ। प्रतियोगितालाई सभ्य र भव्य बनाउन व्यवस्थापकीय हिसाबले कुनै कमजोरी नहुने मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम वलीले बताए।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, सात प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए)बाट आउने नौ देशका २४ खेलाडीसहित पाँच हजार दुई सय ११ खेलाडीको सहभागिता रहनेछ। जसमा दुई हजार आठ सय २५ पुरुष र दुई हजार तीन सय ८६ महिला खेलाडी रहनेछन्।

सबै खेलका ६ सय ४० प्रशिक्षक र चार सय ६१ व्यवस्थापक सहभागी हुनेछन्। सहभागी टोली र खेलाडीले कुल सात सय ९३ स्वर्ण, सात सय ९३ रजत र एक हजार एक सय दुई कांस्यका लागि प्रतिस्पर्धा गर्नेछन्। खेलाडी छनोट प्रक्रिया पूर्ण भइसकेको छ। एउटै प्रकृतिका खेलको दुईवटा संघ भए पनि खेलाडीले खेल्न पाउने व्यवस्था गरिएको छ।

३५ खेलमा प्रतिस्पर्धा

आठौं राष्ट्रिय खेलकुदमा विभिन्न ३५ खेल समावेश छन्। जसमा फुटबल, एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, टेवलटेनिस, क्रिकेट, लनटेनिस, पौडी, सुटिङ, भलिबल, स्क्वास, तेक्वान्दो, जुडो, आर्चरी, कबड्डी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, साइक्लिङ, कराते, कुस्ती, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, गल्फ, ह्यान्डबल, बुद्धिचाल, सफ्टटेनिस, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, जिम्न्यास्टिक, शारीरिक सुगठन, फुलकन्ट्याक्ट कराते र हक्की समावेश छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.