१५ परियोजनामा लगानी प्रतिबद्धता

१५ परियोजनामा लगानी प्रतिबद्धता

काठमाडौं : लगानीकर्ताहरूले नेपालका १५ वटा परियोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । शनिबार सम्पन्न लगानी सम्मेलनमा ऊर्जा, यातायात पूर्वाधार र प्रस्तावित ७७ परियोजनामध्ये १५ वटामा लगानी गर्न दुई पक्षबीच समझदारी भएको हो । सरकारले आयोजना गरेको सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा सरकारले सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरी कुल ३४ खर्ब ५८ अर्ब रुपैयाँका ७७ आयोजना प्रदर्शनीमा राखिएको थियो ।

सम्मेलनमा चौधरी गु्रपले चारवटा परियोजनामा लगानी गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । गु्रपले तीनवटा विदेशी कम्पनीलाई ल्याउनेछ । ग्रुपले मल्टी मोडल लजिस्टिक पार्कका लागि सराफ गु्रपसँग सम्झौता गरेको छ । त्यसैगरी ६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काई पावर कम्पनीलाई भिœयाउने भएको छ । चौधरी ग्रुपले सिजी लाइफसेल टेलिकमको साझेदार टर्कसेलसँग पनि समझदारी गरेको छ ।

समझदारीपत्रमा चौधरी गु्रपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरी र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए । चौधरी ग्रुपले सोलार प्लान्ट राख्न प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ । समझदारीपत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हस्ताक्षर गरेका छन् ।

भारतीय कम्पनी एसजेभिएन (सतलज) ले निर्माण गरिरहेको अरुण तेस्रोमा थप लगानी जुटेको छ । नौ सय मेगावाटको उक्त परियोजनामा स्टेट बैंक अफ इन्डिया, एभरेस्ट बैंक र नबिल बैंकले संयुक्त रूपमा लगानी गर्ने भएका छन् । परियोजनामा स्टेट बैंक अफ इन्डियाले ६५ अर्ब ६० करोड, एभरेस्टले ८ अर्ब १२ करोड ६१ लाख र नबिलले ४ अर्ब ८७ करोड ५८ लाख ऋण दिने प्रतिबद्धता जनाएका छन् ।

एक सय ६४ मेगावाटको कालीगण्डकी गोर्जे हाइड्रोपावर परियोजनालाई संयुक्त रूपमा विकास गर्न युनान सिन्ह्वा वाटर कन्र्जभेन्सी एन्ड हाइड्रो पावर इन्भेस्मेन्ट कम्पनी, हाइड्रो सोलुसन ग्रुप एन्ड सांघाई इन्भेस्टिगेसन र डिजाइन एन्ड रिसर्च इन्स्टिच्युटबीच समझदारी भएको छ । सझदारीपत्रमा नेपालका तर्फबाट हाइड्रो सोलुसन ग्रुपका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान र कम्पनीका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

सिमरा विशेष आर्थिक क्षेत्रलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा विकास गर्न लगानी बोर्ड, इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) र स्पेसल इकोनोमी जोन अथोरोटी (सेजा) बीच सम्झौता भएको छ ।

यस्तै हाइड्रो सोलुसन ग्रुपका ज्ञानेन्द्रलाल प्रधानले बनेपामा हिमालयन बुटिक भिलेज रिसोर्ट गर्ने समझदारी गरेका छन् । प्रधानले सिन्सियर कन्सल्टेन्सी कम्पनी लिमिटेड र रिसोर्स हिमालय भिलेज रिसोर्टबीच रिसोर्ट बनाउने समझदारी गरेका हुन् ।

एनआरएनले उद्योग क्षेत्रमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । समझादारीपत्रमा एनआरएनका अध्यक्ष भवन भट्ट र उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले हस्ताक्षर गरेका छन् ।

ग्रेनवेयर हाउस सञ्चालनका लागि नेसनल कोल्याटल म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेयर हाउस कम्पनीबीच समझदारी भएको छ । समझदारीपत्रमा नेपाल वेयर हाउसबाट आनन्द बगरिया र नेसनल कोल्याटलबाट अनुपम कौशिकले हस्ताक्षर गरेका छन् ।

यस्तै नेपाल निर्माण व्यवसायी महासंघ र म्यानमार लाइसेन्स निर्माण व्यवसायीबीच पूर्वाधार विकासका लागि समझदारी भएको छ । सम्झौतापत्रमा महासंघका अध्यक्ष रवि सिंह र काओ विनले हस्ताक्षर गरेका छन् ।

दुई सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् परियोजनामा कोरियाली कम्पनी केओएसईपीले ६ अर्ब ५० करोड डलर लगानी गर्ने भएको छ । केओएसईपीका उपाध्यक्ष हक बिन किमले त्रिशूली १ मा लगानी गर्ने घोषणा गरेका हुन् ।

युनाइटेड फाइनान्स लिमिटेडमा भारतीय मुथु फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ । त्यसको घोषणा मुथु ग्रुपका कन्ट्री हेड अनिल कार्कीले गरेका छन् । सम्मेलनमा लगानी बोर्ड र लगानी बोर्ड साउथ अफ्रिकाबीच सहकार्यका लागि समझदारी भएको छ ।

अपी पावर कम्पनी र कँडेल ग्रुपले सोलार जलविद्युत् र हावाबाट बिजुली निकाल्नका लागि सम्झौता गरेका छन् । यसअन्तर्गत १८ मेगावाटको सोलार, ९८ मेगावाटको जलविद्युत् र १० मेगावाटको हावाबाट बिजुली निकालिनेछ । सम्झौतामा अपी पावरका गुरुप्रसाद न्यौपाने र कँडेल ग्रुप अफ कम्पनीका तर्फबाट राजेन कँडेलले हस्ताक्षर गरेका छन् ।

विदेशी लगानीकर्ता आकर्षित : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मेलनमा भएका समझदारीले विदेशी लगानीकर्ता नेपालप्रति आकर्षित भएको पुष्टि भएको दाबी गरेका छन् । उनले पाइपलाइनमा रहेका परियोजना चाँडै भि­œयाउन सरकारले सक्दो प्रयास गर्ने बताए । उनले भने, ‘लगानीकर्ताकै औद्योगिक प्रतिबद्धताले नेपाललाई लगानीको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने मेरो विश्वास छ ।’

अर्थमन्त्री खतिवडाले सम्मेलन विदेशी तथा स्वदेशी निजी क्षेत्रले एकअर्कासँग व्यावसायिक साझेदारीका लागि छलफल गर्ने वातावरण बनेको बताए । उनले भने, ‘सम्मेलनमा सरकारी अधिकारीले व्यावसायिक साझेदारीका लागि सहजीकरण र सुशासन सुधारमा काम गर्ने मौका मिल्यो । सहभागीले नेपालमा लगानी अवसरबारे गहन ज्ञान प्राप्त गरेको विश्वास छ ।’ सम्मेलनमा कृषि, पर्यटन, यातायात, सूचना प्रविधि, ऊर्जा विषयमा छलफल भएको थियो । यसले ती क्षेत्रमा अवसर खोज्न मद्दत पुगेको मन्त्री खतिवडाले बताए । उनले नेपालको लगानी क्षेत्र, साझेदार र नीतिगत अवस्था लगानीका लागि उपयुक्त रहेको प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री खतिवडाले सरकार नेपालमा लगानीका लागि सहजीकरण गर्न तत्पर रहेको बताए । सरकारले लगानी बोर्डलाई अधिकार प्रत्यायोजन गरेर लगानीका सम्पूर्ण सेवा एकद्वार प्रणालीमा विकास गरेको छ ।

तत्काल कार्यान्वयन सुरु गरिने

सम्मेलनमा एक हजार दुई सयभन्दा बढी सहभागी थिए । तीमध्ये ४० मुलुकका तीन सय कम्पनीका सात सय विदेशी थिए । १० वटा शृंखलामा सम्पन्न यो सम्मेलनले लगानी आकर्षणमा टेवा पु¥याएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । सम्मेलनका क्रममा तीन दर्जनभन्दा बढी बीटूजी बैठक सम्पन्न भयो । लगानीकै एजेन्डामा केन्द्रित भएर प्रधानमन्त्री र अर्थमन्त्रीले ३० वटा विभिन्न लगानीकर्ता तथा एजेन्सीसँग छलफल गरेका दिए ।

सरकारले शनिबार हस्ताक्षर भएका परियोजना कार्यान्वयनका लागि तुरुन्त काम सुरु गर्ने अधिकारीले बताए । नीतिगत तहमा हुनुपर्ने सुधारका प्रयास समेत जारी रहेको उनले बताए ।

१७ परियोजनामा आवेदन

सम्मेलनमा १७ वटा परियोजनामा लगानीका लागि आवेदन परेको बोर्डले जनाएको छ । बोर्डका अनुसार यातायात तथा पूर्वाधार क्षेत्रमा सात, ऊर्जामा चार , कृषि पूर्वाधारमा तीन, शिक्षा तथा स्वास्थ्यमा दुई र लजिस्टिकमा एउटा आवेदन परेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.