मलाई गौण बनाइएको छैन : मन्त्री यादव

मलाई गौण बनाइएको छैन : मन्त्री यादव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पछिल्लो समयमा सुनियोजित रुपमा आफूविरुद्ध गलत व्याख्या गरी प्रचार-प्रसार भइरहेको बताएका छन्। दुईदिने लगानी सम्मेलनका क्रममा आफ्नो अभिष्ट पूरा नभएका व्यक्ति तथा समूहबाट नियोजित रुपमा गलत टिका-टिप्पणीभएको उनको आरोप छ।

‘प्राथमिकताका आधारमा काँधमा परेको जिम्मेवारी मैले पूरा गरिरहेको छु’, मन्त्री यादवले भने, ‘तर मेरो भूमिकालाई गौण बनाइयो भनेर नितान्त गलत र नियोजित टिका-टिप्पणी गरियो। लगानी सम्मेलनमा मलाई कसैले पनि उपेक्षा र बाइपास गरेको छैन। सबै बिषयमा छलफल र सहकार्य भएको छ।’

सहकार्य र छलफलकै आधारमा ऐतिहासिक रुपमा लगानी सम्मेलन सफल भएको मन्त्री यादवको कथन छ। आफू मन्त्रीको पद सम्हाले लगत्तैदेखि नेपालमा वैदेशिक लगानी भिञ्याउने, त्यसमा बाधक रहेका नीति परिमार्जन गर्ने र अभाव भएका लगानी मैत्री कानुन निर्माण गर्ने काममा अहोरात्र खटिएको र अहिले त्यसको प्रतिफल प्राप्त भएको उनले बताए।

कार्यक्रमस्थलमा व्यवस्थापन पक्षले व्यवस्था गरेअनुसार आफू सीटमा बसेको भन्दै मन्त्री यादवले भने, ‘अग्रभागमा बस्न सीट नपाएपछि रिसाएर कार्यक्रम छाडी हिँडेको भनेर कुप्रचार गरियो।’

उनले भने, ‘पहिलो दिनको सत्रमा उद्योग र लगानी बिषयमा विदेशी लगानीकर्तासँग मैले गहन रुपमा गरेको छलफलको बिषयमा कसैले राम्रो ब्याख्या गर्न सकेन। लगानीसम्बन्धी पहिलो दिन मैले गरेको छलफललाई गौण बनाइयो। तर, बस्न कुर्सी नपाएर रिसाएर कार्यक्रम स्थलबाट गयो भनी मनगढन्ते प्रचार गरियो।’

उनले आफूविरुद्ध गलत बिषय बस्तु जोडेर बदनाम गराउन केही शक्ति नियोजित रुपमा लागेको आरोप लगाए। मन्त्री यादवले उपहार नलिएको बिषयमा पनि प्रस्ट पारेका छन्। ‘आफैं आयोजक बन्ने र आफैं उपहार ग्रहण गर्ने नैतिकताले नमिल्ने काम हो’, उनले भने, ‘आयोजकले पाहुनालाई उपहार दिने हो। आयोजक भएर म आफैं कसरी उपहार स्वीकार गर्न सक्छु ? ’

प्रधानमन्त्री केपी ओलीसँग व्यक्तिगत र विभागिय मन्त्रीका रुपमा आफ्नो सम्बन्ध निकै सुमधुर रहेको उनले खुलाए। ‘सम्बन्धमा फाटो ल्याउन केही तत्व लागि परेका हुन्। म खरो कुरा राख्ने स्वभावको भएकाले अन्य व्यक्ति र समूहलाई त्यति मन नपरेको हुन सक्छ’, उनले भने।

अन्तर्राष्ट्रिय औद्योगिक ब्यापार मेलाको उदघाट्न सत्रमा पनि प्रधानमन्त्री ओली र आफूबीच निक्कै सौहाद्रपूर्ण वातावरणमा कुराकानी भएको उनले बताए।

भृकुटीमण्डपमा बिहीबारदेखि औद्योगिक ब्यापार मेला सुरु भएको छ। उनका अनुसार उदघाटनका निम्ति पुगेका प्रधानमन्त्री ओली तत्कालै अन्य विशेष कामका लागि निस्किनु पर्ने अवस्था आएको थियो।

‘विशेष कामका लागि निस्कनु पर्ने भएकाले उहाँले पानसमा बत्ती बालेर सानो मनतव्य दिएर फर्किने कुरा मसँग गर्नु भयो’, मन्त्री यादवले भने, ‘उहाँले बाँकी काम आफंै गर्नुहोला भनेर मलाई भन्नुभयो। रिबन काट्ने काम पनि उहाँले मलाई दिनुभयो।’

मन्त्री यादवका अनुसार प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने क्रममा आफूलाई इंगित गर्दै ‘रिबन काट्न कैची चलाउन जान्नुहुन्न’,भनेका थिए।

उनले भने, ‘कैची चलाउन जान्नुहुन्नको यर्थाथता म गडवड गर्न जान्दिन भनेर उहाँले भन्न खोज्नुभएको हो। तर, यसलाई पनि नकारात्मक रुपमा टिका-टिप्पणी गर्ने काम भयो।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.