लामाबगर भन्सार : आम्दानी शून्य, खर्च ५ करोड
दोलखा : माओवादी द्वन्द्वकालमा विस्थापित दोलखाको लामाबगर भन्सार कार्यालयले २६ वर्षदेखि एकपैसा पनि कर संकलन गरेको छैन। २०५४ सालताका तत्कालीन विद्रोही नेकपा माओवादीका कारण विस्थापित लामाबगर भन्सारले २०४८ सालमा २५ हजार कर संकलन गरेयता २६ वर्षसम्म एकपैसा पनि आम्दानी गरेको छैन।
भन्सार विभागको ०३०६५०१०१२२ कोड नम्बर रहेको लामाबगर भन्सार कार्यालयले कर नउठाए पनि कर्मचारीले भने २६ वर्षदेखि तलब बुझिरहेका छन्। दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भने, ‘गत साउनमा एक जना कर्मचारी झुलुक्क देखा परेका थिए।’ काजमा खटिएका छन् रे भन्ने सुनेको छु’, प्रजिअ पाठकले भने, ‘लिखित जानकारी आएको छैन।’
काम नगरी जागिर पकाएका लामाबगर भन्सार कार्यालयका कर्मचारीका लागि मात्र २६ वर्षमा करिब पाँच करोड रकम खर्च भइसकेको छ। लामाबगर भन्सारबारे एक जानकारले कार्यालयमा करिब ५० कर्मचारी आएको अनुमान गरेका छन्। २६ वर्षको अवधिमा कर्मचारी तलब, स्थानीय भत्ता, दुर्गम भत्ता, अन्य भत्ता, पोसाक, स्टेसनरी, फर्निचर, घरभाडा, सञ्चार र बिजुलीलगायत गरी कुल पाँच करोड खर्च भएको अनुमान गरिएको छ।
भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी शिशिर घिमिरेले नाफा घाटाको लागि भन्दा पनि राज्यको उपस्थितिका लागि मात्र भए पनि कार्यालय राखिएको जिकिर गरे। कर्मचारी सम्बन्धित क्षेत्रमा रहे÷नरहेको बारे स्थानीय प्रशासनबाट लेखी जानकारी आएमा खोजिने, कारबाही गरिनेलगायत काम गर्न सकिने सूचना अधिकारी घिमिरेको भनाइ छ।
केही महिनाअघि भन्सार विभागले एक नायब सुब्बालाई काजमा खटाएको भए पनि उनी पनि मन्त्रालयमा नै हाजिर हुने गरेको बताइएको छ। आपूmमातहत रहेका सरकारी कार्यालयको अभिलेखसमेत नभएर स्थानीय प्रशासन आजसम्म पनि अन्यौलमा रहेको पाइएको छ। अभिलेख नभएपछि यस्ता सरकारी कार्यालयका कर्मचारीले कामै नगरी तलब र पेन्सन पकाउने गरेको पाइएको छ।
सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालय खुल्नुअघि खुबै चर्चामा रहेको दोलखाको लामाबगर भन्सार कार्यालय द्वन्द्वका कारण विस्थापित भइ केही वर्षअघि पुनस्र्थापना गरिएको भनिए पनि कहाँ छ भन्ने स्थानीय प्रशासनलाई थाहा छैन। साबिकको लामाबगर गाविस हाल विगु गाउँपालिका–१, लामाबगरमा कार्यालय र कर्मचारी छन् भनिए पनि कार्यालयको साइनबोर्ड समेत भेटिँदैन।
चालु वर्षमा पनि लामाबगर भन्सारका लागि २८ लाख ९५ हजार बजेट प्राप्त भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ। आर्थिक वर्ष २०७५÷७६ को ८ महिनामा लामाबगर भन्सार कार्यालयको नाममा घरभाडा, बिजुली, पानी र सञ्चार गरी दुई लाख ६५ हजार खर्च भएको दोलखाको प्रमुख कोष नियन्त्रक भीष्मप्रसाद न्यौपानेले जानकारी दिए।