पर्यटनमा ६‍.८ अर्ब लगानी

पर्यटनमा ६‍.८ अर्ब लगानी

 

अस्ट्रेलियाको सिल्भर हेरिटेज ग्रुपले पर्यटन क्षेत्रमा ६ अर्ब ८० करोड रुपैयाँ (६ करोड अमेरिकी डलर) लगानी गरेको छ। भैरहवाको टाइगर प्यालेस रिसोर्ट र सांग्रिला होटेलमा रहेको मिलेनियर्स क्लब क्यासिनोमा लगानी गरेको यो समूहले पर्यटन पूर्वाधार विकास र केही नियामकीय व्यवस्थामा सरलीकरण भए लगानी थप्न सकिने बताएको छ। सिल्भर हेरिटेज ग्रुपले भैरहवास्थित टाइगर प्यालेस रिसोर्टलाई आगामी दुई–तीन वर्षभित्र तेब्बर क्षमतामा विस्तार गर्ने योजना अघि सारेको छ। पूर्वी नेपालको झापा र सुदूरपश्चिमको धनगढीमा सुविधायुक्त रिसोर्ट खोल्ने योजना कम्पनीको छ। लगानी सम्मेलनमा वक्ताका रूपमा आएका सिल्भर हेरिटेज ग्रुपका सीईओ माइक बोल्सोभरसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानीः


नेपालको पर्यटन क्षेत्रमा गरिएको लगानीमा यहाँको अनुभव कस्तो रह्यो ?

हामी सांग्रिला होटलको मिलेनियर्स क्लब क्यासिनोमार्फत नेपाल आएका हौं। त्यतिबेला कर नतिरेर क्यासिनो बन्द भएका थिए भने सरकारले नयाँ नियमावलीका लागि तयारी गर्दै थियो। यही क्रममा हामी नयाँ लगानी र प्रविधिसहित नेपाल आएका थियौं। हामी नयाँ लगानी लिएर मात्र आएको होइन, सञ्चालनमा रहेका तारे होटलमा क्यासिनो सञ्चालनका लागि गेमिङ मेसिन उपलब्ध गराएका थियौं। वास्तवमा म २००३ मा पर्यटकको रूपमा पहिलोपटक नेपाल आएको थिएँ।

त्यतिबेला म सगरमाथाको आधारशिविरका साथै पोखरा, माथिल्लो मुस्ताङ, जोमसोम र कागबेनीलगायत ठाउँमा घुमेको थिएँ। मलाई यो देशमा पर्यटन क्षेत्रमा सम्भावना छ भन्ने लाग्यो। पछि द्वन्द्वरत पक्षहरू पनि शान्तिवार्तामा आएर शान्ति सम्झौता भएपछि अब राजनीतिक रूपमा पनि स्थायित्व आउँछ। पर्यटकको आगमन बढ्छ भनेर हामीले लगानी गर्ने निर्णय लियौं। सन् २००३ देखि २०११ को बीचमा मा १५ पटक जति नेपाल आएँ। २०११ देखि २०१३ को बीचमा हामीले हायत, र्‍याडिसन, याक एन्ड यती लगायत होटलमा प्राविधिक सल्लाह र गेमिङ मेसिन दिएका थियौं।

पछि सन् २०१३ मा क्यासिनो नियमावली आएपछि यसले हामीलाई लगानी भित्र्याउन पनि सहज भयो। पछि भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले गति लिएपछि विमानस्थलसँगै सम्पन्न गर्ने गरी टाइगर प्यालेस रिसोर्टको निर्माण सुरु गरेका हौं। खासमा भैरहवा अन्तर्राष्ट्रिय विनमास्थल २०१७ मा निर्माण सम्पन्न भएपछि हवाई सम्पर्क विस्तार भएर त्यसको लाभ हामीलाई पनि हुनेछ भन्ने अनुमान थियो।

तर विमानस्थल निर्माण अझै सम्पन्न भएको छैन। हामीले भने समयमा नै रिसोर्ट निर्माण सम्पन्न गरी १८ महिनादेखि सञ्चालनमा छ। अशा छ, विमानस्थल निर्माण पनि चाँडै सम्पन्न हुनेछ। अहिले त हामी भर्खरै सञ्चालनमा आएका छौं। केही समयपछि एक तहको नाफा फिर्ता हामीलाई आवश्यक पर्छ।

नेपालका अन्य ठाउँमा गर्ने लगानीका योजना के छन् ?

हाम्रो विशेषज्ञता हस्पिटालिटी (आतिथ्य सत्कार) मा छ। हामीले पूर्वी नेपालको झापामा पनि सुविधा सम्पन्न मल्टिप्लेक्स, नाइट क्लब, ब्यांकेटसहित सुविधाको रिसोर्ट बनाउने सोच बनाएका छौं। हामीले जग्गा प्राप्ति गरेका ठाउँ काँकडभिट्टाबाट नजिक पर्छ। सीमाबाट ३० मिनेट दूरीमा पर्ने सिलिगुडीको २० लाख जनसंख्यालाई ध्यानमा राखेर हामीले त्यहाँ लगानी गर्न लागेका हौं।

अर्को, सुदूरपश्चिम नेपालको धनगढीमा यस्तै रिसोर्ट खोल्ने योजना छ। यो सबै हामीले भैरहवाबाट प्राप्त गर्ने प्रतिफलमा भर पर्छ। हामीले झापा र धनगढी छनोट गर्दा सीमाका भारतीय जनसंख्यालाई पनि लक्षित गरेका छौं। सुदूरपश्चिम नेपालमा हामीले प्रस्ताव गरेको ठाउँ त भारतको राजधानी नयाँ दिल्लीबाट पनि नजिक पर्छ। अब लगानी बोर्डले नै ६ अर्बमाथिका परियोजना हेर्ने भएको छ।

अबको ५ वर्षमा हामीले पूर्वमा बहुचरणमा उक्त परियोजना कार्यान्वयन गर्छौं। नेपालमा लगानी गर्ने हाम्रो १० वर्षको योजना हो। हामी २३ करोड डलरबराबर लगानी गर्ने योजनामा छौं।

पछिल्लो समय भारत र चीनबाट विश्वमा भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भइरहेको छ। तिनीहरूलाई नेपालतर्फ आकर्षण गर्न के गर्न सकिन्छ ?

पछिल्लो समय विश्वव्यापी रूपमा चिनियाँ पर्यटकको संख्या बढिरहेको छ। चिनियाँहरूको लागि भाषाको व्यवधान हुनसक्छ। भारत र नेपालको भाषाको केही समानताका कारण समस्या हुँदैन। अहिले नेपालबाट चीनका पाँच सहरमा सीधा हवाई सम्पर्क छ। अब भैरहवा विमानस्थल निर्माण भइसकेपछि त्यहाँबाट पनि सीधा हवाई सम्पर्क स्थापित हुने अपेक्षा गर्न सकिन्छ। चीन र भारतबाट नेपालका अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा हवाई सम्पर्क गर्नुपर्छ।

यसले गर्दा पर्यटकहरू सीधा भैरहवा या पोखरा आएर लुम्बिनीमा या पोखरामा केही समय बिताएर चितवन हुँदै काठमाडौं आउन सक्छन्। यसले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवाको चाप पनि कम हुन्छ। त्यस्तै सडक पूर्वाधारको गुणस्तर सुधार गर्न आवश्यक छ। यसले गर्दा देशका अन्य भागमा पनि होटल, रिसोर्ट बन्नेछन्। पर्यटनबाट हुने आयको लाभ सबै ठाउँमा बाँडिनेछ। ठूला होटल मात्र होइन, स्थानीय रेष्टुराँ, स–साना होटल तथा अन्य व्यवसाय र उत्पादकले समेत यसको लाभ हासिल गर्नेछन्।

नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै समस्या आइपरे कि ?

त्यस्तो समस्याको सामना गर्नु परेको त छैन। तर, हामीले भैरहवा विमानस्थललाई हेरेर नै भैरहवामा यो परियोजना अघि बढाएका थियौं। विमानस्थल नभएसम्म हामीकहाँ पर्यटक आगमन त कम हुन्छ नै। सरकारले कार्यान्वयन गर्ने परियोजना पनि समयमा कार्यान्वयन भएको भए यसको लाभ हामीलाई प्राप्त हुने थियो। भैरहवा आन्तरिक पर्यटकीय गन्तव्य चितवन र पोखरासँग पनि नजिक छौं।

भारतको गोरखपुरबाट (सडकमार्गबाट) तीन घण्टाको दूरीमा पर्छ जहाँ ६ लाख मानिस बसोबास गर्छन्। त्यहाँबाट केही पर्यटक आउँछन् तर उल्लेख्य संख्यामा छैनन्। त्यसकारण भैरहवाको परियोजनाले राम्रो प्रतिफल दिन भैरहवा विमानस्थल सञ्चालनमा आएर विभिन्न मुलुकसँग सीधा हवाई सम्पर्क हुनुपर्छ। अर्कोतर्फ विदेशी विनिमयमा हामीलाई केही समस्या छ।

यसबारे हामीले अर्थ मन्त्रालयसँग पनि कुरा गरिसकेका छौं। हामीले क्यासिनोमा जुनसुकै देशको मुद्रा साट्न सक्छौं तर बेच्न सक्दैनौं। क्यासिनोमा खेल्दा नेपाली रुपैयाँ साटेर खेल्नुपर्ने भएकाले पर्यटकले असीमित ढंगले खेल्दैनन्। उदाहरणका लागि, भोलिपल्ट फ्लाइट छ भने नेपाली रुपैयाँ कहाँ साट्ने भन्ने चिन्ताले पनि उनीहरू सीमित मात्र खेल्छन्।

यदि हामीलाई विदेशी मुद्रा साट्ने पनि अनुमति दिइयो भने यसले गेमिङका लागि आउनेहरू विश्वस्त भएर खेल्न सक्छन्। अर्कोतर्फ, हामीले यति ठूलो लगानी भित्र्याएर व्यवसाय गरेका छौं। सञ्चालनमा आएयता भ्याट, स्रोतमा कर कट्टा र आयकर गरेर एक करोड ५० लाख डलरबराबर कर तिरिसकेका छौं। यति ठूलो प्रत्यक्ष वैदेशिक लगानी ल्याएर रोजगारीका साथै कर बुझाएपछि सरकारबाट हाम्रो लगानीको संरक्षण होस् भन्ने चाहना हुन्छ। अहिले सीमा नाकामा (हाम्रो व्यवसाय भएको ठाउँ वरपर) धेरै मिनी क्यासिनो खुलेका छन्। तिनीहरूले न कर तिर्छन्, न सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियम नै पालना गरेका छन्। तर पनि सरकारले तिनीहरूलाई नियन्त्रण गरेको छैन। यो दुःखद् छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.