ब्रेक्जिटका लागि थप प्रयास गर्दिनँ : मे

ब्रेक्जिटका लागि थप प्रयास गर्दिनँ : मे

लन्डन : बेलायतकी प्रधानमन्त्री टेरेसा मेले ब्रेक्जिटबारे भएको सम्झौता संसद्बाट अनुमोदनका लागि चौथो प्रयास नगर्ने बताएकी छन्। यूरोपेली संघ (ईयू) बाट हुने बेलायतको बहिर्गमन (ब्रेक्जिट)का लागि ईयू नेतासँग भएको सहमतिलाई संसद्बाट अनुमोदन गराउन गरेको तेस्रो प्रयास पनि विफल भएपछि प्रधानमन्त्रीको उक्त धारणा आएको हो। योसँगै सम्झौताविहीन अवस्थामा बेलायत र ईयू छुट्टिने सम्भावना बढेर गएको छ। बेलायती संसद् हाउस अफ कमन्सले शुक्रवार भएको मतदानमा मेको प्रस्ताव तेस्रोपटक अस्वीकृत गरेको थियो।

यद्यपि जनवरी र मार्चमा यस पहिले संसद्मा भएका मतदानमा केही सानो मतान्तरले ब्रेक्जिट सम्झौताका लागि आवश्यक बहुमत समर्थन जुट्न नसकेको हो। मेले ईयूबाट बेलायत कुनै सम्झौताबिना बाहिरिनेसम्बन्धी प्रस्ताव प्रस्तुत गरेकी थिइन्। उक्त प्रस्तावमा मतदान हुँदा बिनासम्झौता बाहिरिनु ठीक हो भन्ने प्रस्ताव ३४४ मतले पराजित भएको थियो। प्रधानमन्त्रीको पक्षमा २८६ मत मात्र प्राप्त भएको थियो।

‘हामीले जनमतसंग्रहको मर्मअनुसार ईयूसँग सम्झौता गर्नुपर्छ’, कन्जरभेटिभ दलका अध्यक्ष ब्रान्डोन लेविसले भने। सम्झौताबारे संसद्मा पहिलेभन्दा समर्थन बढे पनि सम्झौता अनुमोदनका लागि आवश्यक बहुमत नपुगेको मेका प्रवक्ताले सञ्चारकर्मीलाई बताए। उनले भने, ‘कमसेकम हामी सही दिशामा हिँडेका छौँ।’

प्रधानमनत्रीको दलका ‘ब्रेक्जिट पक्षधर’ केही सांसदले सम्झौताले ब्रसेल्ससँगको सम्बन्धका लागि आवश्यक मार्ग प्रशस्त नगरेको भन्दै समर्थनमा मतदान गर्न अस्वीकार गरिरहेका छन् भने प्रतिपक्षी दल लगायतका बाँकी दलले ईयू, नर्वे र स्वीजरल्यान्डसँगको निकट सम्बन्ध चाहेका कारण पटकपटकको मतदानमा मेको पहल विफल भएको हो।

केहीले ब्रेक्जिटकै विरोध गरिरहेका छन्। कन्जरभेटिभ दलकी पूर्वमन्त्री तथा सांसद निकी मोर्गनले वर्तमान समस्यालाई समाधान गर्न संयुक्त राष्ट्रिय सरकार आवश्यक रहेको बताएकी छन्। ‘बेलायती इतिहासमा जबजब विशेष विषयमा निर्णय लिनुपर्छ राष्ट्रिय एकतासहितको संयुक्त सरकार अर्थात् गठबन्धन सरकार बन्ने गरेको छ’, मोर्गनले भनिन्।

बेलायतले शुक्रबार नै ईयूबाट बाहिरिने पहिलेको सहमतिलाई प्रधानमन्त्री मेको आग्रहमा थप केही समय प्रदान गर्न ईयू सहमत भएको थियो। तेस्रो प्रयास असफल भएपछि यसबारे मेले अगाडि के गर्ने भन्ने निर्णय लिन सहज छैन।

यद्यपि ईयू परिषद् प्रमुख डोनाल्ड टस्कले आगामी दिनमा कसरी अघि बढ्ने निर्णय लिन आगामी अप्रिल १० का लागि ब्रसेल्समा ईयू नेताहरूको भेला बोलाएका छन्। ईयूले अप्रिल १२ सम्म सम्झौताविना नै बाहिरिने वा नयाँ धारणासहित आउन केही महिना समयसीमा लम्बाउने भन्ने निर्णय लिनेछ।

यद्यपि प्रधानमन्त्री मेले यूरोपेली संसद्मा आगामी मेमा हुने निर्वाचनमा आफ्ना मतदातालाई भाग लिन लगाउनु ‘असम्भव’ भएको बताएकी छन्। बेलायती सांसदहरूले विनासम्झौता बाहिरिने निर्णयले बेलायत निकटस्थ व्यावसायिक साझेदारलाई समस्यामा पार्ने भयका कारण सम्झौताहीन अवस्थामा बाहिरिने निर्णय पटकपटक अस्वीकार गरिसकेका छन्। एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.