प्रश्नपत्रमा गैरजिम्मेवारी खेल

प्रश्नपत्रमा गैरजिम्मेवारी खेल

विगतका वर्षहरूमा जस्तै यसपटक पनि दस कक्षाको अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) विवादरहित रहन सकेन । परीक्षामा चिट चोर्ने, चोराउने र अर्काका नाममा परीक्षा दिने प्रवृत्ति हाम्रा लागि सामान्यजस्तै बनिसकेको छ । झन् यसपालि परीक्षाअघि नै प्रश्नपत्र छरप्रस्ट भएपछि प्रदेश २ मा परीक्षा स्थगित गर्नुपर्‍यो । 

यस प्रदेशमा चारवटा विषयको परीक्षा सम्पन्न भएपछि बाँकी परीक्षा स्थगित भएको छ । अचानक परीक्षा स्थगित भएपछि विद्यार्थीलाई आक्रोशित बनाएको छ । ठाउँठाउँमा तोडफोड र भिडन्त भए । यसले प्रदेश २ का ७० हजार पाँच सय परीक्षार्थीले दुःख त पाए नै, परीक्षाको गोपनीयता कायम गर्न राज्य पूर्ण असफल देखियो । साथै यसले सिंहदरबार र सानोठिमीमा बसेर मुलुकको शिक्षा प्रशासनको रिमोट चलाउने शिक्षाका हाकिम सा’बहरूमा ‘हामी ठूला हौं’ भन्ने दम्भ पनि उदांगो पारिदिएको छ ।

कानुनतः मुलुक संघीय संरचनामा गइसकेपछि कक्षा १२ सम्मको विद्यालय शिक्षाको दायित्व स्थानीय सरकारमातहत पुगेको छ । यो हिसाबले परीक्षा प्रदेशस्तरबाट सञ्चालन गरिनुपथ्र्यो, तर सरकारले यो अधिकार स्थानीय सरकारलाई दिनु त कहाँ हो कहाँ, परीक्षाको प्रश्नपत्र निर्माणदेखि केन्द्र तोक्नेसम्मको काम एकलौटी रूपमा गर्‍यो । यसले गर्दा स्थानीय र प्रदेश सरकारले परीक्षाको अपनत्व लिन सकेनन् । जिल्ला परीक्षा समन्वय समितिका संयोजक रहेका शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखलाई कर्मचारी समायोजनका क्रममा सरुवाको निर्णय गरियो । अन्यत्रै जानुपर्ने भएपछि एकाइ प्रमुखहरू कसरी परीक्षा मर्यादित बनाउनेभन्दा पनि आफू सरुवा भएर जाने नगरपालिकाबारेमा बढी सोच्न थाले । तत्काल उनीहरूलाई सरुवा गर्दा परीक्षामा असर पर्ने देखेर परीक्षा सम्पन्न हुनुअघि रमाना पत्र नलिन केन्द्रबाट निर्देशन त दिइयो, तर ढिलो गरी दिइएको निर्देशनका कारण जिल्लामा परीक्षा सञ्चालन तथा प्रश्नपत्र सुरक्षा सम्बन्धमा उनीहरूले पर्याप्त तयारी गर्न सकेनन् । परीक्षाको मर्यादा कायम गर्न नसक्नु यो अर्को कारण हुन सक्छ ।

दस कक्षाको परीक्षालाई पनि राज्यले विगतको एसएलसीलाई जस्तै हाउगुजी मानेर सञ्चालन तयारी गर्‍यो । एसईईको परीक्षा ग्रेडिङ प्रणालीमा हुन्छ । यसले परीक्षार्थीमा ‘राम्रो नम्बर ल्याउन सक्दिनँ कि’ भन्ने मनोवैज्ञानिक त्रास कायमै रह्यो । यही त्रासबाट मुक्ति पाउन पनि परीक्षामा अमर्यादित घटना बढेको हो । कक्षा १२ सम्मको परीक्षा सञ्चालनको जिम्मेवारी राष्ट्रिय परीक्षा बोर्डको हो । तर बोर्डमा दुइटा परीक्षा नियन्त्रक छन्, कक्षा एघार र बाह्रको परीक्षा सञ्चालन गर्ने उपसचिवस्तरका एकजना र एसईई मात्र सञ्चालन गर्ने सहसचिवस्तरका अर्को एकजना । विडम्बना ! तीनै सहसचिवस्तरका नियन्त्रक काजमा खटिएका कर्मचारी लिएर परीक्षा सञ्चालन गरिरहेका छन् । अर्को वर्षदेखि बोर्ड नरहने भएपछि ती कर्मचारीले कुन मानसिकताले काम गरिरहेका छन् भन्ने अनुमान जोसुकैले गर्न सक्छन् ।

यस्ता थुपै्र समस्या हुँदाहुँदै पनि शिक्षा प्रशासन हाँकिरहेकाहरूले प्रश्नपत्र बाहिरिएको घटनालाई गम्भीर रूपमा लिएको देखिएन, नजानेर हो या चासो नभएर । दुई विषयको प्रश्नपत्र निरन्तर बाहिरिएपछि मात्र शिक्षामन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा समिति र राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गर्‍यो । अनिश्चितकालका लागि परीक्षा स्थगित गर्नुको सट्टा हरेक दिन प्रश्नपत्र छापेर भए पनि परीक्षा सञ्चालन गर्ने हिम्मत शिक्षा मन्त्रालयले गर्नुपथ्र्यो ।

यसले परीक्षा स्थगनपछि आन्दोलनमा उत्रेका परीक्षार्थीलाई समेत केही राहत दिन सक्थ्यो । हरेक वर्ष दोहोरिने यस्ता घटनामा प्रभावकारी अनुसन्धान भएर दोषीलाई कारबाही गरिएको घटना बिरलै पाइन्छ । घटनामा संलग्न समूह पहिचान गर्न नसक्नु र कारबाही नहुनुले पनि यस्ता समूहलाई थप प्रोत्साहन मिलेको देखिन्छ । यसपटकको घटनाबाट पाठ सिकेर शिक्षा मन्त्रालय एसईई परीक्षाको गरिमा बचाउन सजग हुनुपर्छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको तीनघेरे सुरक्षाभित्र प्रश्नपत्र छाप्दैमा परीक्षाको गोपनीयता कायम गर्न सकिँदैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.