भुइँमा राखेर बिरामीको उपचार

भुइँमा राखेर बिरामीको उपचार

भोजपुर : अस्पतालमा पर्याप्त बेड र उपचार कक्ष नहुँदा ग्रामीण भेगबाट आउने बिरामीलाई सकस भइरहेको छ। समयमै अस्पताल भवन नबन्दा बिरामी र चिकित्सकले सास्ती व्यहोर्नुपरेको हो।

ज्वरोले थलिएपछि भोजपुर नगरपालिका–११ आम्तेकका पर्शुराम ओझालाई दाजु शिवले एम्बुलेन्समा रातारात जिल्ला अस्पताल ल्याए। ४ दिनअघि अस्पताल ल्याइएका उनलाई इमरजेन्सी वार्डमा भर्ना गरियो। तर, वार्डमा कुनै शड्ढया (बेड) नभएपछि भुइँमै राखेर उनको उपचार सुरु भयो। ‘सबै पहिले नै भरिएका कारण बिरामीलाई आरामदायी एउटा बेड पनि पाइएन। भुइँमा काठको बाक्सा राखेर उपचार गर्नुपर्ने अवस्था छ,’ शिवले भने।

भुइँमा राखेर बिरामीको उपचार गराउँदा र कुरुवालाई समेत सास्ती हुने गरेको भोजपुर नगरपालिका–५ बोखिमका लक्ष्मी प्रधानले दुखेसो गरे। उनले भने, ‘भुइँमा बिरामीलाई राख्दा झन् समस्या हुन्छ। चिसो लाग्ने र थप संक्रमित हुने तथा एउटा बिरामीको रोग अर्कोमा सर्ने खतरा पनि हुन्छ।’

इमेरजेन्सी, इन्डोर र प्रसूतिका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ। एकै ठाउँमा राखेर सबै खाले बिरामीको उपचार गराउनुपर्दा औषधोपचार र रेखदेखमा पनि समस्या हुने गरेको डा. विपन राईले बताइन्। उनले एकै ठाउँमा बिरामीलाई राखेर उपचार गर्दा औषधि र चेकजाँचमा एकदमै गाह्रो हुने सुनाइन्। ‘चिकित्सकको राउन्डका समयमा एकैजना डाक्टरले सबै बिरामी हेर्नुपर्छ,’ राईले भनिन्, ‘संख्या धेरै भएर भुइँमा समेत ठाउँ नहुँदा कतिपय बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ।’

बिरामीको चाप बढी हुँदा एकै ठाउँमा राखेर उपचार गराउँदा समस्या थपिने गरेको डा. शिवजी रिजालले बताए। उनका अनुसार अहिले दैनिक ४५ जनासम्म झाडापखाला, दम, टाइफाइड, रुघाखोकी, निमोनियालगायत समस्या भएका बिरामी अस्पतालमा भर्ना हुने गरेका छन्। यसअघि यो अस्पतालमा दैनिक १० जना बिरामी भर्ना हुने गर्थे।

चिकित्सक रिजालले मौसम परिवर्तनसँगै बिरामीको चाप एक्कासि बढ्दा उपचारमा समस्या भएको र धेरैजसोलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको बताए। ‘केही दिनयता बिरामीको चाप धेरै छ। अधिकांशलाई बेड भर्ना नै गरेर उपचार गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कतिपयलाई उपचार ठीक नभईकन डिस्चार्ज दिएर पनि पठाउनुपर्ने बाध्यता छ। बेड नहुँदा कतिपयलाई रेफर गरेर अन्यत्र पठाउनुको विकल्प छैन।’

०७२ सालमा नेपाल सरकारको करिब १२ करोड लगानीमा निर्माणाधीन ५० बेडको भवन ठेकेदार कम्पनीको ढिलासुस्तीले सम्पन्न हुन नसकेको हो। तत्कालीन समयमा मधेसको बन्द र हडतालले गर्दा पनि भवन निर्माणको सामान ढुवानीमा समस्या थपिएको थियो। बन्दले सामान ल्याउन समस्या भएपछि निर्माणले गति लिन नसकेको ठेकेदार कम्पनी डाँफे सिद्धबाबा सगरमाथा जेवीले जनाएको छ। साथै, पुरानो अस्पताल भवनको संरचना भत्काउनुपर्ने भएकाले पनि निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि जनक रेग्मीले बताए। निर्माणाधीन अस्पताल भवनको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उनले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.