जोडिँदै, सुदूरपश्चिम र कर्णाली प्रदेश
टीकापुर : सुदूरपश्चिम र कर्णाली प्रदेश अब छोटो दूरीको सडक सञ्जालमा जोडिने भएका छन्। कैलालीको कुइनेस्थित कर्णाली नदीमा पुल निर्माण सुरु भएसँगै सुदूरपश्चिम र कर्णाली प्रदेश छोटो दूरीको सडक सञ्जालमा जोडिने भएका हुन्।
साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएको चिसापानी–कुइने–सुर्खेत बाटोमा कर्णालीवारि र पारि सडक बनिसकेको छ। तर, कर्णालीमा पुल नभएका कारण दुई प्रदेशको यातायात सम्बन्ध भने हुन सकेको छैन।
कैलाली र सुर्खेत जिल्लाको कुइनेमा निर्माणाधीन कर्णाली नदीको पुलले उक्त बाटोलाई पूर्व–पश्चिम राजमार्गको चिसापानीसम्म सडक सञ्जालसँग जोड्नेछ।
पुल निर्माणसँगै साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउनेछन्।
कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणपछि सुर्खेतको बड्डीचौर हुँदै कोहलपुर–चिसापानीसम्मको करिब दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा छोटिनेछ। कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट बड्डीचौर हुँदै कुइनेबाट ५२ किलोमिटरको यात्रामै पूर्व–पश्चिम राजमार्गको चिसापानी पुगिनेछ।
कुइनेस्थित कर्णाली नदीमा अनत÷लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ। पुल निर्माणका लागि ०७२ सालमा ठेक्का सम्झौता भएको थियो। सडक विभागले दुई वर्षसम्म डिजाइन स्वीकृत नगरेका कारण पुल निर्माण ढिलो सुरु भएको निर्माण कम्पनीले जनाएको छ।
निर्माण कम्पनीका साइड इन्चार्ज दिनेशकुमार श्रेष्ठले ०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माण सुरु भएको बताए। ‘नदीले बर्सेनि धार परिवर्तन गरेका कारण डिजाइन स्वीकृत गर्न ढिला भएको हुन सक्छ’, श्रेष्ठले भने, ‘भौगोलिक अवस्थितिका कारण पनि केही ढिला भएको हो।’
यसै वर्ष पुलका दुईवटा पिलर तयार भइसक्ने निर्माण कम्पनीले जनाएको छ। थप दुईवटा पिलर पुलको दुवैतर्फ निर्माण गरिनेछ।
सुर्खेतको पञ्चपुरी नगरपालिका–११ का शिक्षक मिलन शाहीले ढिलै भए पनि पुलले कर्णाली प्रदेशलाई छिमेकी मुलुक भारतसँगको छोटो दूरीमा पर्ने नाकाका रूपमा जोड्ने बताए।
कैलालीको मोहन्याल गाउँपालिकामा पर्ने कुइनेका कलौरा माझीले पुल निर्माणसँगै सडक स्तरोन्नति हुने आशा व्यक्त गरे। चिसापानीदेखि कुइनेसम्मको ११ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। उता, सुर्खेततर्फ कुइनेदेखि बड्डीचौरसम्म १९ किलोमिटर सडकमा साना सवारीसाधन सञ्चालन भएका छन्। सुर्खेतमा पर्ने भेरी नदीमा पक्की पुल निर्माण भएपछि अटोरिक्सालगायत साना सवारीसाधन बड्डीचौर हुँदै कुइनेसम्म पुग्न थालेका हुन्। भेरी नदीमा निर्माण भएको पुल असोजदेखि सञ्चालनमा आएको थियो।
उक्त पुल निर्माणले सुर्खेतको पश्चिमी क्षेत्रका बासिन्दालाई कैलालीसम्म पुग्न निकै छोटो हुनेछ। उनीहरू कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुग्नुभन्दा छिटो कैलालीको चिसापानी पुग्नेछन्।
चिसापानी–कुइने हुँदै बड्डीचौरसम्मको सडक र कुइनेस्थित कर्णाली नदीमा पुल निर्माणका लागि जिल्ला समन्वय समिति कैलालीले सक्रियता देखाउँदै आएको छ। जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले उक्त सडक र पुल साविक सुदूर र मध्यपश्चिमका बासिन्दाको भविष्यसँग जोडिएको बताए।
संयोजक थापाले राज्यले उपेक्षा गरेका कारण छोटो दूरीको बाटो निर्माण हुन वर्षौं लागेको बताए। ‘घुमाउरो बाटो कालोपत्रे भएका छन् तर यो छोटो बाटोबारे कसैले ध्यान दिन सकेन’, थापाले भने, ‘यो बाटो सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दाको समृद्धिसँग जोडिएको छ।’