'एशियन ट्रि अफ द इयर' बन्यो नेपालको तस्बिर
काठमाडौं : बिनिता कार्कीले भक्तपुरमा खिचेको तस्बिर 'एशियन ट्रि अफ द इयर–२०१९' को बिजेता बनेको छ। तीव्र शहरीकरण बढिरहेका बेला शहरको बिचमा प्रकृतिको उत्कृष्टता दर्शाएकाले उक्त तस्विर बिजेता बनेको हो।
विजेता नेपाली तस्विरले मलेसिया, सिंगापुर, नेपाल, भारत, श्रीलंका, फिलिपिन्स र ब्रुनेईका तस्विरहरूसँग प्रतिस्पर्धा गरेको थियो। क्रिएशन नेपाल आयोजनामा भएका अघिल्ला दुई संस्करणमा पनि नेपालकै तस्विर उत्कृष्ट भएका थिए।
‘ट्रि अफ द इयर नेपाल–२०१९’ मा दोस्रो भएको उक्त तस्बिर ‘एशियन ट्रि अफ द इयर–२०१९’ का लागि प्रतिस्पर्धामा पठाइएको थियो । ‘तीव्र सहरीकरणका बेला रुखले वर्तमान वातावरणीय अवस्थालाई देखाएको छ’, प्रतिस्पर्धा जितेपछि कार्कीले भनिन्,‘आशा छ प्रतिस्पर्धाले आगामी दिनमा जैविक विविधता जोगाउन मानिसमा प्ररेणा मिल्नेछ।’
शहरीकरण तिव्र गतिमा बढिरहेका बेला रुखको महत्व दर्साउन सन् २०११ ‘ट्रि अफ द इयर’ प्रतिस्पर्धा सुरु गरिएको थियो। सोही उद्देश्यका साथ एशियन संस्करणको प्रतिस्पर्धा सन् २०१७ मा सुरु भएको हो।