महिला क्रिकेटको अक्सन सकियो, रेखा थापाको टिममा तीन खेलाडी महंगा
काठमाडौं : 'महिला टीट्वेन्टी फ्रेन्चाईज क्रिकेटको अक्सन सकिएको छ। एनसीएल स्पोर्ट्स प्रालिकाे आयोजनामा बैजनाथ क्रिकेट मैदान विराटनगरमा वैशाख ७ गतेदेखि १४ मा हुने लिगको अक्सन आइतबार राजधानीमा सकिएको हो।
अक्सनमा दर्ता भएका जम्मा ८० खेलाडी मध्ये हरेक टिमले १३/१३ जना खेलाडी खरिद गरेका छन्। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, टोलीकी सदस्य सिता रानामगर, नेरी थापा, करुणा भन्डारी चार अलग-अलग टोलीको मार्की खेलाडीका रुपमा यसअघि नै अनुबन्ध गरिएको थियो।
क्रिकेट लिगमा ४ सहरका ४ फ्रेन्चाइज्ड टोलीको सहभागिता रहनेछ। सहभागी टोलीका मालिक अनुप सक्सेना (विराटनगर रोअरिङ्ग लायोनेस), अनिल भण्डारी (भैरहवा क्विन्स), बिमोचन उप्रेती (धनगढी वन्डर वोमेन), रेखा थापा (काठमाडौ सुपर च्याम्पियन्स) रहेका छन्।
प्रतियोगिता खेल्न दर्ता भएका खेलाडिहरुलाइ ग्रेड ए, बी र सी गरि तीन तहमा विभाजन गरिएको थियो। अक्सनमा ग्रेड ए अन्तर्गतका खेलाडीको न्युनतम मूल्य ४० हजार र अधिकतम मूल्य ७५ हजार रुपैयाँ, बी ग्रेडका खेलाडीको न्युनतम मूल्य रु २५ हजार र अधिकतम मूल्य रु ५० हजार रुपैयाँ, त्यस्तै सी ग्रेडका खेलाडीको न्युनतम मूल्य १५ हजार र अधिकतम मूल्य रु २५ हजार रुपैयाँ रहेकाे थियो।