कागतीको नर्सरीबाटै लाखौँ कमाइ
बेंसीसहर : २५ वर्षअघि थातथलो छोडेर चितवन बसाइ सरेका सुन्दरबजार नगरपालिका–१ कुन्छाका एक दम्पत्ती पुनः गाउँ फर्केर कागती नर्सरी र खेतीमा लागेका छन्। ५५ वर्षीया गोवद्र्धन गौली र उनकी पत्नी तारा भट्टराई गाउँ फर्केर कागतीका बिरुवा उत्पादन र खेतीमा लागेका हुन्।
१५ रोपनी क्षेत्रफलमा गरिएको नर्सरीमा डेढ लाख कागतीका बिरुवा हुर्काइएको छ। आफ्नो पुख्र्याैंली दुुई सय र भाडामा दुुई सय गरी चार सय रोपनी जग्गामा फार्म सञ्चालन गरिएको छ।
डेढसय रोपनी जग्गामा कागती, सुन्तला, अदुवा, कफी लगाइएको छ। परीक्षणका लागि स्याउका बिरुवासमेत रोपिएको छ। २०७१ सालबाट सुरु गरिएको फार्ममा हाल पाँच सय बोट सुन्तला, चार हजार पाँच सय कागतीका बोट हुर्किएका छन्। लगाइएका ७० प्रतिशत बोटमा फल फल्न थालेको छ।
भोजपुर, धनकुटा, गुल्मी, जाजरकोट र तनहुँबाट २० क्विन्टल कागती ल्याएर बीउ जमाई बिरुवा उत्पादन गरेको गौलीले बताए । कागती नर्सरी मात्रै नेपालको सबैभन्दा ठूलो रहेको उनको दाबी छ। ‘हाइडेन्सिटी’ प्रविधिमार्फत बिरुवा उत्पादन गरिएको छ। हाइटेक नर्सरीमा कलमी बिरुवा उत्पादनका लागि १३ वटा आमा बोट छन्। नर्सरीमा सुन कागती १, सुन कागती २ र तेह्रथुम लोकल कागतीका प्रजाति छन्। पाइनपल र वासिङ्टन डीसी प्रजातिका जुनारका साथै खुखु, उन्सु, मर्कट, किन्नु, ओता प्रजातिका सुन्तला पनि नर्सरीमा उत्पादन भइरहेको छ।
कागतीका बिरुवा बिक्रीबाट गत वर्ष १२ लाख रुपैयाँ आम्दानी गरेको गौलीले बताए। प्रतिबिरुवा ४० रुपियाँमा बिक्री गरिएको थियो। यस वर्ष ४० लाख रुपियाँ आम्दानी हुने उनको अनुमान छ। गौलीले कागती, सुन्तला र कफी खेतीसँगै भैंसी र बाख्रापालन पनि गरेका छन्। हाल पाँच भैंसी र १२ बाख्रा रहेकोमा अब २० भैंसी र एक सय बाख्रा पु¥र्याउने उनको लक्ष्य छ।
हिर्कुस एग्रो फार्म प्रालि दर्ता गरेर व्यावसायिक कृषिमा लागेका आमाबाबुलाई छोराबुहारीले पनि साथ दिएका छन्। फार्मलाई सघाउन अस्ट्रेलिया पुगेका छोरीज्वाइलाई पनि फिर्ता बोलाइएको गौलीले बताए। ‘फार्म सञ्चालन गर्दै जाँदा स्वदेशमै व्यावसायिक कृषिबाट आम्दानी गर्न सकिन्छ भन्ने उत्साह पलाएको छ’, गौलीले भने, ‘अस्ट्रेलियामा पीआर पाएर बसेका छोरी ज्वाइलाई पनि यतै बोलाएको छु। उहाँहरु आउँदै हुनुहन्छ।’
पाँच करोड रुपैयाँ लगानी गरिएको उक्त फर्ममा ६५ प्रतिशत सेयर पत्नी ताराको नाममा छ। बाँकी सेयर गोवद्र्धन, छोरा सम्बद्र्धन र छोरी कुञ्जको नाममा छ। सिँचाइका लागि दुई किलोमिटर तल ताप्ले खोलाबाट पानी लिफ्टिङ गरी ल्याइएको छ। पाँच÷पाँच हजार क्षमताका चारवटा ट्यांकी राखिएको छ। यसका लागि फलफूल तथा सुन्तला जात बाली विकास परियोजना कीर्तिपुरले २० लाख अनुदान दिएको थियो।
गाउँका किसानलाई लक्ष्य गरी पाताल कृषि सहकारी संस्था लिमिटेड सञ्चालन गरिएको छ। यसबाट गाउँका किसानलाई कृषिमा ऋण दिने र बचत गराउने गरिएको छ। गाउँलेले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार व्यवस्थापन गरिएको गौलीले बताए। उनका अनुसार फर्ममा १६ जनालाई रोजगारी दिइएको छ।
उच्च शिक्षाका लागि चितवन झरेका गौलीले बीएससी पास गरेपछि पाल्पाको एक विद्यालयमा १० वर्ष पढाएका थिए। २०५१ शिक्षण पेसा छोडेर तत्कालीन विद्रोही माओवादी पार्टीमा प्रवेश गरी भूमिगत भएका गौली २०५० मा दुई वर्ष जेल बसेका थिए। जेलबाट छुटेपछि झापाबाट चिया ल्याएर चितवन चिया उद्योग खोले। चिया उद्योग छाडेर १० वर्ष घरजग्गा कारोबारमा लागेका उनी त्यो पेसा पनि छाडेर कृषिमा लागेका हुन्।