आमाको मृत्यु, बावु अस्पतालको शैयामा : छोराछोरीको बिचल्ली
बाजुरा : हिमाली गाउँपालिका-६ पाडीकी बच्ची लुहारको गएको साउनमा मृत्यु भयो।मुटु र फोक्सोको बिरामी लुहारको उपचार गर्न नपाइ मृत्यु भयो। उनका श्रीमान शान्त लुहार पनि मुटु र फोक्सोको बिरामी छन्। उनको अछामको पयालपाटा अस्पालमा उपचार भइरहेको छ।आमाको मृत्यु र बावु पनि रोगले थला परेपछि शान्त लुहारका पाँच छोराछोरी विचल्लीमा परेका छन्।
अलपत्र पर्नेमा १४ वर्षीया कल्पना लुहार, १३ वर्षीया पुष्पा लुहार, ९ वर्षीय प्रबिन्द्र लुहार, ७ वर्षीय सुमना लुहार र २ वर्षीय अप्सरा लुहार रहेको स्थानीय कर्ण बुढाले बताए।'बुवा लामो समयदेखि बिरामी हुनुहुन्छ, आमाको मृत्यु भइसकेको छ, घरमा न अन्न छ न लगाउने लुगाकपडा।गाउँलेको साहारा र काम गरेर ज्यान पालिरहेको पुष्पा लुहारले भनिन्।'
आर्थिक अभावमा उपचार हुन नसकी आमाको मृत्यु भएको र बुवाको उपचार भइरहेको बताउँदै पुष्पाले भक्कानिदै भनिन्,' बुवालाई पनि संचो हुँदैन,आमाले छोडेर जानुभयो, हामी गरीबलाई भगवानले पनि दु:ख दिँदा रहेछन्।'
शान्तका दुई छोरीको विवाह भइसकेको छ। उनका पाँचजना छोराछोरी स्कुल जान्छन्।तर विद्यालय भर्ना भएपनि कापी कलम र कपडाको अभावमा नियिमित जान सकेका छैनन।
उनका छोरी कल्पना कक्षा ९मा, पुष्पा कक्षा ६मा, छोरा प्रबिन्द्र कक्षा ३मा, सुमना कक्षा १ मा पढ्दैछन् भने कान्छी छोरी २ वर्षकी छन्। 'बुवाले अरुको काम गरेरै हामीलाई सहयोग गर्दै आउनु भएको थियो, दिदी कल्पनाले पनि गाउँलेकहाँ काम गर्नुहुन्छ, बुवा बिरामी भएपछि निकै समस्या भएको प्रबिन्द्रले दुखेसो सुनाए।
'खरले छाएको छाप्रो छ, अरु जग्गा जमिन कुनै छैन्, लुहारका छोराछोरीले अरुको खेतबारीमा काम गरेर र मागेर खाने गरेको स्थानीय रमिला रावलले बताइन्।गाउँलेले दिएको खानेकुरा र लुगाफाटो दैनिकी गुजारा गर्दै आएको उनले बताइन्। शान्त लुवार अरुको हलो जोतेर परिवार पाल्ने गरेका थिए।आफू नै बिरामी भएपछि शान्तका पाँचजना छोरा छोरीको बिच्चलीमा परेका हुन्।
शान्तको परिवार आर्थिक अभावमा निकै कमजोर छ। शान्तको फोक्सोको समस्याले उनको मुटुको दायाँ भाग फेल भएको बयलपाटा अस्पतालका मेडिकल डाइरेक्टर डा. विकास गौचनले बताए। अहिले शान्तको बयलपाटा अस्पतालमा इर्मेजेन्सीमा उपचार भइरहेको गौचनले बताए। उनले सधैंभरी औषधि खानुपर्ने र ओजीलो र गाह्रो काम गर्न नहुने बताएका छन्। 'बावुको उपचारका लागि औषधि किन्ने पैंसा छैन, अब कहाँबाट ल्याउने हो,' पुष्पाले रुँदै भनिन्।