मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा नेविसंघको कालो झण्डा
सुर्खेतः नेपाल विद्यार्थी संघले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयु) मा कालो झण्डा गाडेको छ। तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुनुपर्ने माग गर्दै नेविसंघले विश्वविद्यालयमा कालो झण्डा गाडेको हो। चरणबद्ध आन्दोलनमा उत्रिएको नेविसंघले सोमबार विश्वविद्यालयको केन्द्रीय कार्यालय, केन्द्रीय क्याम्पस र विभिन्न संकायहरुमा कालो झण्डा गाडेको छ।
यो विश्वविद्यालयमा स्ववियुको अवधि गत भदौ १२ गते नै सकिएको हो। विश्वविद्यालय प्रशासनले मंसिरमा नै चैत २५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो। तर निर्वाचनको तयारी नभएपछि नेविसंघले तोकिएको मिति चैत २५ मा नै निर्वाचन गराउन माग गर्दै आन्दोलन गरिरहेको छ। सोहीक्रममा सोमबार विश्वविद्यालयमा कालो झण्डा गाडिएको नेविसंघ मध्यपश्चिम विश्वविद्यालयका संयोजक अनिलबहादुर शाहीले बताए।
नतिजा आफ्नो पक्षमा नआउने संकेत पाएपछि अन्य विद्यार्थी संगठनहरु मौन बसेको र आफूहरुको अनुकुल नेतृत्व नआउने भएका कारण विश्वविद्यालयका पदाधिकारीहरु पनि स्ववियु निर्वाचन नगराउने पक्षमा रहेको नेविसंघको आरोप छ।
स्ववियु निर्वाचनको माग गर्दै नेविसंघले यसअघि पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने र धर्ना लगायतका कार्यक्रमहरु गरिसकेको छ। विरोध स्वरुप कालो पट्टी बाँध्ने र विश्वविद्यालयमा कालो झण्डा गाडिएको भन्दै नेविसंघले आन्दोलनका थप कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ।
यस्तै नेविसंघले सिट्टी जुलुस प्रदर्शन गर्ने, उपकुलपति र रजिस्ट्रारलाई मतपत्र र मत पेटिका हस्तान्तरण गर्ने, पदाधिकारीलाई केन्द्रीय कार्यालयमा प्रवेश निषेध गर्ने, पदाधिकारीका सवारी साधन चल्न नदिने र पदाधिकारीका कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
स्थापनाकालदेखि नै यो विश्वविद्यालयमा विभिन्न पक्षबाट विभिन्न बहनामा आन्दोलन र हडताल भइरहेका छन्। स्थापनाको छोटो अवधिमा नै विश्वविद्यालय आन्दोलन र हड्तालका कारण थला पर्दै आएको छ। यस क्षेत्रका नागरिकले चन्दा संकलन गरेर स्थापना गरिएको यो विश्वविद्यालय राजनीतिक स्वार्थको चंगुलमा फस्न थालेको भन्दै स्थानीयले चिन्ता गर्न थालेका छन्। पछिल्लो समय स्ववियु निर्वाचनको मुद्दाले विश्वविद्यालयमा विवाद उत्पन्न भएको छ।
सुर्खेत : मध्यपश्चिम विश्वविद्यालयमा कालो झण्डा गाढ्दै नेविसंघका कार्यकर्ताहरु। तस्बिर : अन्नपूर्ण