नेटवर्किङ मार्केटिङ गर्ने ६ जना पक्राउ
इटहरी : नेटवर्किङ मार्केटिङ गरेर ठगी गरेको आरोपमा इटहरीबाट ६ जना पक्राउ परेका छन्।२२८ थान ओरियन्सका उत्पादनसहित इलाका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई पक्राउ गरेको हो।
१५ जना पीडितको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी समीरचन्द्र खरेलले जानकारी दिए।१५ जनाले आफूबाट ७ हजार रुपैयाँदेखि एक लाख पाँच हजार रुपैयाँसम्म ठगिएको उजुरी दिएका छन्।
प्रहरीले सर्लाहीका सन्दीपकुमार भुजेल, सुर्खेतका प्रकाश राउत, महेश शर्मा, लक्ष्मीपुनः मगर, मनिषा सुवेदी र अर्जुन चौधरीलाई पक्राउ गरेको हो। उनीहरुले इटहरी ५ मा रहेको कृष्ण पुरीको घरमा ६ महिनादेखि कार्यालय बनाई सदस्य बनाउने र सामाग्री बेच्न लगाउने गरेका थिए।
सामाग्री बिक्री तथा सदस्यता वृद्धिको आधारमा डायमन्द बढ्दै जाने भनेर मानिसलाई फकाउँदै सदस्य बनाउने गरेको खरेलले जानकारी दिए। ओरियन्सका सामाग्रीहरु नै खराब नभएको, तर अनुमति विना ल्याएर नेटवर्क बनाएर बेच्ने गरेकाले उजुरीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर बुद्धी चौलागाईले बताए।
युवालाई ल्याएर प्रशिक्षित गर्ने र उनीहरुलाई प्रयोग गरेर गाउँगाउँ सदस्य बनाउँदै हिड्ने गरेको पाइएको चौलागाईले जानकारी दिए। उनका अनुसार यसअघि पनि दुईवटा यस्तै नेटवर्किङका ठगी मुद्धाहरु दर्ता भएको र दुईजनालाई कारवाही समेत गरिएको प्रहरीले जनाएको छ।