एकैपटक तीन सन्तान गुमाएको परिवार न्याय नपाउँदा गाउँबाटै उठिबास
भोजपुर : अवोध छोराछोरीको मायाले प्याउली मरेङडाँडाका चेतनाथ फुँयाल र उनकी पत्नी निर्मलाको अहिले पनि दिनरात आँशुमै बित्छ।काखै रित्तिने गरी छोराछोरीको रहस्यमय मृत्युको घटनाले उनीहरुलाई झनै आघात बनाएको छ। घटनाको दोषी भने अझै पत्ता लागेको छैन।
दोषी पत्ता लगाउने र राहतको आशमा दिनरात बाँचेका उनीहरु कहिँकतैबाट न्यायको दीप नबलेपछि अन्ततः घरगोठमा ताल्चा र खेतबारी बाँझै राखी १२ वर्षीया कान्छी छोरी सुष्मितालाई लिएर तराई झरे। 'न्यायको आश गर्दागर्दै श्वास जाने रहेछ, केही लछारपाटो नलागे पछि विरक्तिएर तराई झरेँ, उनले भने, 'न गाउँले छिमेकीको सहयोग मिल्यो न कहिँबाट कुनै न्यायको नै बाटो भेटियो।'
मृत भेटिएका ८ वर्षीय प्रदीप फुयाल र १४ वर्षीया सुष्मा फुँयालका बाबु चेतनाथ र उनकी पत्नी निर्मला गत ०७४ साल असोजमै घरबार छोडी छोरीलाई लिएर तराई झरेका थिए। न्यायको आडमा आँशु मात्र पाएका उनीहरु हाल इटहरी हलगडामा भाडामा बस्दै आएका छन्।ज्याला मजदुरीले दिनभर पसिना बगाउँछन्। बिहान बेलुकीको छाक र छोरी पढाउन इच्छाले चेतनाथ र उनकी पत्नी अहिले हलगडास्थित एक फर्निचरमा दिनको साढे ३ सय रुपैयाँ ज्यालामा फर्निचरका सामानमा पेन्टिङ गर्ने गर्छन्।
तात्कालिन गृहमन्त्री जर्नादन शर्माले सरकारले मृतक बालबालिकाको परिवारलाई काजकिरियाका लागि जनही साढे ३ लाख दिने घोषणा गरेपनि अझैसम्म त्यो पाएका छैनन्। छोरीको भविष्यका लागि सरकारले केही गरोस् भन्ने चाहेका चेतनाथले सरकारले न्याय दिने भनेर अहिलेसम्म वेवास्ता गरेकोमा गुनासो पोखे। भने, 'दोषी त पत्ता लागेन लागेन तर भाको यो एउटी छोरीको भविष्यका लागि सरकारले केही हेरिदेला भन्ने आश थियो। त्यो पनि भएन।'
न्यायको आशमा गाउँको कुनादेखि राष्ट्रपतिको ढोकासम्म ढकढक्याउन पुगेपनि पीडित परिवारका लागि त्यो न्याय आश्वासनमै सिमित भयो। ०७४ भदौ तेश्रो सातातिर सितल निवासस्थित राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालिन गृहमन्त्री जनार्दन शर्मासँग न्यायका लागि घचघच्याउन पुगेपनि पीडित पक्षलाई बचनमै सीमित हुनुपरेको थियो।
घटनामा दुई छोरी र एक छोरा गुमाएका पीडित बाबु रविन्द्र सापकोटाले राज्यको आश्वासनले आफूलाई झनै पीडा थपि दिएको बताएका छन्। तात्कालिन प्रजिअ गोमादेवी चेम्जोङले न्यायको पहल गरिने बताए पनि अहिलेसम्म कुनै पक्षले वास्ता नगरेको उनको गुनासो छ। उनले वर्षदिन बितिसक्दासम्म घटनाको अनुसन्धानले कुनै अत्तोपत्तो नपाएको सुनाए।
न्याय र राहतको प्रतिक्षामा बसेका पीडित परिवारले पटकपटक सम्बन्धित निकायसम्म विन्ती बिसाए पनि व्यवास्ता गरिएको उनीहरुको गुनासो छ।पीडितलाई सरकारी पक्षले गरेको वेवास्ताप्रति स्थानीयबासी पनि निराश छन्।स्थानीय सामाजिक अभियन्ता राजकुमार खत्रीले राज्यले पीडितलाई आश देखाएर पीडामाथि झन् पीडा थपेको बताए। भने, 'सरकारले दिएको आश्वासनपछि न राहत आयो न न्यायको कुनै बाटो।पीडितलाई आशैआशमा मारे।झन् पीडा पुगेको छ उनीहरुलाई।'
अरुण गाउँपालिकाले पनि घटनाको विषयमा चुस्त ढंगबाट निचोड निकाल्न माग गरेको छ। गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले वर्ष दिन वितिसक्दा पनि घटनाको कुनै ठोस नतिजा नआएकाले घटनाको नयाँ ढंगबाट खोजी हुनुपर्ने बताए।
उनले तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारका पालामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँगै पीडित पक्षलाई न्याय र राहतका लागि केन्द्रमा कयौँपटक दौडधुप गरेको बताए। घटनाको विषयमा अहिलेसम्म कुनै सरकारी पक्षले चासो नलिएको उनको गुनासो छ।
यता जिल्ला प्रहरी भोजपुरका डीएसपी केशवकुमार थेवेले मृतक तीन बालबालिकाको मिसिलका आधारमा ६५ जनाको कल डिटेल, सोधपुछ, ३ वटा लेखापढी गरिएको बताएका छन्। धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तीन बालबालिकाको मृत्यु पानीमा डुबेर भएको पोष्टमार्टम निकालेको थियो।
पोष्टमार्टम रिपोर्टपछि थप ल्याव टेष्टका लागि घटनास्थलको पोखरीको पानी र मृतक बच्चाको श्वासनलीमा अड्किएको पानीका कण व्युरोमा पठाएको डीएसपी थेवेले बताए। उता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का डीआईजी निरजबहादुर शाहीले घटनाको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता रहने भएकाले जिल्ला प्रहरीले नै फलोअप गरिरहेको बताए।
मृत भेटिएका तीन बालबालिका।
उनले घटनाको प्रकृति हेरेर केन्द्रको आदेशमा आवश्यक परेको व्युरोले प्राविधिक सहयोग गर्ने बताए। तीन बालबालिकाको रहस्यमय मृत्युको घटनापछि घटनाको अनुसन्धान गर्न तात्कालिन अञ्चल प्रहरी प्रमुख एसएसपी उत्तरकुमार कार्की र जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी काजीकुमार आचार्यको नेतृत्वको संयुक्त टोलीले प्रमाण जुटाउन सकेको थिएन।
पछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिबिआई) का डीएसपी दधिराम न्यौपानेको नेतृत्वमा स्थलगत अनुसन्धानका लागि गत ०७४ साउन १३ गते टोली खटे पनि कुनै प्रमाण फेला पर्न सकेको थिएन।
गत ०७४ असार १० गते शनिबार साँझ बेपत्ता भएका तीन बालबालिका दुईदिनपछि ०७४ असार १२ गते बिहान स्थानीय तोरन कार्कीको पोखरीमा मृत फेला परेका थिए।