मृतकलाई झारफुक

मृतकलाई झारफुक

विराटनगर : कोसी अञ्चल अस्पतालको शवगृहबाट सोमबार बिहान एक महिलाको शव बाहिर निकालियो। आफन्तले फोटो र भिडियो खिच्न रोक लगाए। हातमा सेउला लिई अगरबत्ती बालेका चार धामी उफ्रिँदै शवछेउ पुगेर झारफुक गर्न थाले।

उनीहरू थिए, मोरङ जहदा गाउँपालिका–४ का ६५ वर्षीय उदयकुमार मण्डल, २८ वर्षीय सञ्जय मण्डल, १८ वर्षीया लीलम मण्डल र लता मण्डल। मृतक थिइन्, जहदाकै वडा नम्बर ७ की ४० वर्षीया भुवनदेवी मण्डल। घरनजिकै आइतबार राति ९ बजे सर्पले देब्रे खुट्टामा डसेपछि उनलाई उपचारका लागि अस्पताल ल्याइएको थियो। राति १० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

धामीले भने जसरी पनि भुवनदेवीलाई ‘बचाएरै छाड्ने’ वाचा गर्दै भीड र आफन्तलाई ढाडस दिइरहेका थिए। परिवारकै सदस्यले सामूहिक रूपमा झारफुक गर्न लगाएका रहेछन्। बिहान ८ बजे सुरु भएको झारफुक लगातार तीन घण्टा चलेको थियो। मृतकलाई धामीले बचाउने कुरा सुनेर हेर्न आएको विराटनगरका पुरुषोत्तम अधिकारीले बताए। ‘डाक्टरले मृत्यु भइसक्यो भन्दा पनि धामीले बचाउन सक्ने भन्ने अचम्मको कुरा सुनियो’, उनले भने, ‘त्यही भएर आश्चर्य मान्दै यी सबै जना जम्मा भएका हुन्।’

‘जीवित’ रहेकी महिलालाई डाक्टरले मरेको बनाइदिएको भन्दै धामीहरू अस्पतालबाट बाहिरिएका थिए। त्यसपछि कर्मचारी र प्रहरीले शव शवगृहमै हुलेका थिए। परिवारका सदस्यले गाउँमै लगी झारफुक गरेर बचाउने भन्दै शव जिम्मा लगाउन दिनभर आग्रह गरिरहेका थिए। ‘हामीले तीन घण्टासम्म जोखना हेर्दा भुवनदेवीको मृत्यु भएको देखेनौं। सर्पले डसेर यस्तो हुँदैन’, ६५ वर्षीय उदयकुमारले भने, ‘बोक्सीले अप्ठेरो बनाएको हामीले पायौं। अलिक समय लिएर झारफुक गर्दा ठीक भइहाल्छ।’ सर्पको विष झार्न झारफुक गरेको उनले सुनाए। टुनामुनाचाहिँ फुकाउन नसकिएको दाबी उनले गरे।

झारफुक गरेर बचाउने भन्दै आफन्तले आइतबार राति पनि जिद्दी गरेका थिए। धेरै नेता र चिनेजानेका पहुँचवालाबाट पनि प्रहरी अधिकारीलाई फोन आएको थियो। तर, प्रहरीले शव लैजान दिएन। सर्पले डसेको दुई घण्टाभित्र धामीकहाँ पु¥याउन पाए बचाउन सकिने मृतकका देवर मनोज मण्डलले बताए। ‘सर्पले डसेकालाई धामीले विष झारेर निको पारिरहेका छन्। हामीलाई पनि राति १२ बजेसम्म पु¥याउन सकियो भने भाउजूलाई बचाउन सकिन्छ भन्ने लागेको थियो’, उनले भने, ‘तर, प्रहरीले झारफुक गर्न लैजान दिएन। धेरै आग्रह गर्दा पनि राति भएको भन्दै धामीहरू अस्पताल आउन मानेनन्।’

धामीले दुई दिनभित्र पनि बचाउन सकिने बताएपछि चार जनालाई अस्पतालमै ल्याइएको भुवनदेवीका  श्रीमान् विनोद मण्डलले बताए। धामीले मरेको छैन भनेको कुरामा विश्वास लागेको उनले सुनाए। ‘गाउँमै लगेर झारफुक गर्न पाए निको पार्न सकिन्थ्यो कि भन्ने आस छ’, उनले भने, ‘गाउँ लैजाने कुरामा अस्पताल र प्रहरी बाधक बने।’ उनका अनुसार गाउँमा सर्पले डस्दा अस्पताल लगिँदैन। भने, ‘सर्पले डसेको भन्ने थाहा पाएको भए म अस्पताल ल्याउन दिन्नथें। भाइहरूले ल्याएछन्।’

भुवनदेवीको दाहिने पैतालामा चोट लागेको छ। मोटरसाइकलमा चढाउने र ओराल्ने क्रममा घिस्रिएर चोट लागेको उपचारमा ल्याएकाहरूले बताए। एउटा खुट्टामा सर्पले डस्ने र अर्कोमा चोट लाग्ने विषयले घटनाको अनुसन्धान गर्न आवश्यक देखिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बताए। ‘स्वाभाविक मृत्युबाहेक सबै घटनामा शवको पोस्टमार्टम गर्नुपर्छ। त्यहीमाथि यो घटना सर्पले डसेर भएको भनिएको छ’, उनले भने, ‘अस्वाभाविक घटनामा जसले जे भने पनि प्रहरीले कानुनी प्रक्रिया पूरा गर्छ।’

उनका अनुसार धामी लगाउन पाए बाँच्ने भनेपछि सामाजिक रीति पूरा गर्न प्रहरीले सहजीकरण गरेको हो। ‘धामीले हाम्रो मान्छे बचाइदिन्छ भन्दै धेरैले भने’, उनले भने, ‘भोलिका दिनमा कुनै विवाद नआओस् भनेर धामीझाँक्रीलगायतको रीतिरिवाज र आफन्तको इच्छा पूरा गर्न दिएका हौं।’

अस्पतालका डाक्टर पुरनचन साहले ती महिलाको मृत्यु अस्पताल ल्याउनासाथ भएको सुनाए। गोमनले डसेको हुन सक्ने उनले आशंका गरे। ‘सर्पको विष झारेर धामीझाँक्रीले बचाउन सक्छन् भन्ने कुरा अन्धविश्वासको पराकाष्ठा हो’, उनले भने, ‘सर्पले डसे तत्काल स्वास्थ्य संस्था वा अस्पतालमा लगिहाल्नुपर्छ।’ धामीझाँक्रीको भर नपरी चाँडो अस्पताल पु¥याउन सके घाइतेलाई बचाउन सकिने उनको भनाइ छ। शव पोस्टमार्टम गरेर सोमबार साँझ परिवारका सदस्यको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.