बाग्मती किनारमै दैनिक गाई ‘मारिन्छन्’ ! अनुसन्धान भइरहेको छ : डीआईजी थापा

बाग्मती किनारमै दैनिक गाई ‘मारिन्छन्’ ! अनुसन्धान भइरहेको छ : डीआईजी थापा

काठमाडौं : हिन्दु आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आसपास र बाग्मती किनारमै दैनिक गाई मारिने गरेको खुलेको छ। आइतबार जोरपाटी माकलबारीमा गाई काटेर ह्याकुलो र खुट्टा लगेर भुँडीको भागमात्र छोडेको घटना सार्वजनिक भएपछि  प्रहरीले अनुसन्धान सुरु गरेको छ। 

सोमबार बाग्मती सरसफाई अभियन्ता उत्तम पुडासैनीलगायतले जोरपाटी नजिकै माकलबारीमा गाई काटेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। गाईको खुट्टा र ह्याकुल्लो मात्रै लगेर बाँकी भाग त्यही छोडेको अवस्थामा सोमबार उनीहरुले क्षत–विक्षत अवस्थामा दुई गाई फेला पारेका थिए। 

पुडासैनीले देखेपछि प्रहरीलाई खबर गरेलगत्तै महानगरीय प्रहरी वृत्त बौद्धले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान थालेको हो। अभियन्ता पुडासैनीले जोरपाटी क्षेत्रमा गाईको मासुको अवैध व्यापार गर्ने गिरोहले ‘गौ हत्या’ गर्दै आएको दाबी गरे। 

‘गाईलाई कुनै जनावरले खाएको जस्तो लाग्दैन। खुट्टा धारिलो हतियारले काटेको जस्तो देखिन्छ’, उनले भने, ‘पटकपटक यहाँ यस्ता घटना भइरहँदा पनि प्रहरी प्रशासनले अनुसन्धानमा चासो दिएको छैन।’

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआइजी शैलेश थापा क्षेत्रीले गाई काटेको घटनाबारे अनुसन्धान भइरहेको बताए। 

‘गाई काट्ने व्यक्तिको खोजी भइरहेको छ’, डीआईजी क्षेत्रीले भने, ‘गाईको मासुको अवैध व्यापार गर्नेलाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याउँछौं।’ 

पुडासैनीले जोरपाटी क्षेत्रमै दर्जनौ गाई खाल्टो खनेर पुरेको बताए। मंगलबार बिहान मात्रै गुह्श्वरी क्षेत्रमा आठ वटा बाछाबाछी पुरेको जानकारी पुडासैनीले दिए। 

‘छाडा गाई बाछाको संरक्षणका लागि हामीले पटक–पटक पशुपती क्षेत्र विकास कोष समक्ष गुहार गर्यौँ’, पुडासैनीले भने, ‘पशुपति क्षेत्र विकास कोषको मौनता आश्चर्य जनक रह्यो। हाम्रो धर्म, संस्कृती र सभ्यतामाथि यत्रो प्रहार हुँदा मौनता साँध्ने जिम्मेवार निकाय कोषका पदाधिकारीलाई पशुपती नाथले रक्षा गरुन।’

गाई वा गोरु मारे तीन वर्ष कैद 
गाई नेपालको राष्ट्रिय जनावर हो।  नेपालको संविधान २०७२ को धारा ९ को उपधारा (३) मा गाई राष्ट्रिय जनावर भएको प्रष्ट उल्लेख छ। ‘नेपालको राष्ट्रिय पूmल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुनेछ’, संविधानमा लेखिएको छ।  

मुलुकी अपराध (संहिता) ऐन २०७४ ले गाई वा गोरु मारेमा त्यस्तो व्यक्तिलाई तीन वर्ष कैद सजाय हुने उल्लेख गरेको छ। मुलुकी अपराध संहिताको धारा २८९ को उपधारा (२) मा भनिएको छ, ‘उपदफा (१) बमोजिमको कामबाट कुनै गाई  वा गोरु मर्न गएमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ।’ 

उपदफा (१) मा कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कुनै काम गर्नु वा गराउनु नहुने उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.