दैवको दुश्मनी
दैवले किन देख्न सक्दैन हँ ?
झिंगटी र फुसले बारेको
मझेरीमा चुलो बलेको ?
महाजनले हडपेर बाँकी रहेको जग्गामा
चारवटा खाँबो ठड्याएर
पराल बेरेको गुँडमा
बचेराले चारोको हाहाकार गरेको बेला
किन आँधी पठाउँछ ?
तहसनहस बनाउन ?
पैतालो हाल्न
आफ्नै नामको लालपुर्जा नभएको
जाबो जोताहासँग
कुन ईख पालेर
दैबले खेदिरहन्छ हँ ?
अस्ति भर्खर त हो
शीतलहरको बहानामा
अघिल्लो हुरीमा जोगिएका
छिमेकको काख रित्याएको
त्यही शोकमा आँसु बगाउँदै गरेको
थाहा हुदाँ हुँदै
मध्यरातमा किन चक्रवात पठाएको
मेरो बस्तिमा ?
कुनै दिन सग्लो बाँच्न नसकेको
जाबो सडकछापसँग
किन यत्रो दुश्मनी ?
गएको बर्खा त हो
बस्तीमा बाढी हुलेर
निमोठिएको भतिज कमल
बिसाउने भूइँसम्म नहुँदा
कोशीमा बगाएको ।।
शोकमा बाँच्न बानी परेको ठानेर
यामैपिच्छे
झूपडीको बस्तीमा नरसंहार मच्चाउने
ए दैव,
तँ विरुद्द जन्मकैदको सजायँ मागदाबी सहित
न्याय माग्न कुन अदालत जाउँ ?