मिथिला चित्रकलामा छुवाछुतदेखि भ्रुण हत्यासम्म (फोटो)

मिथिला चित्रकलामा छुवाछुतदेखि भ्रुण हत्यासम्म (फोटो)

काठमाडौं : पेटमा छोरी बोकिरहेकी एक गर्भवती महिला। छोरीलाई कमलको फूलमा राखेर बोकेको बिम्ब।

छोरी आफ्नो औँलाले पृथ्वीतिर देखाइरहेकी छन्। एक छेउबाट केही मानिसहरू महिलाको पेटमा तीखा धनुषवाण देखाइरहेका छन्। मानौँ उनीहरू महिलाको पेटमा घोच्न चाहन्छन्।

मिथिला चित्रकार रञ्जु यादवका यस्तै २९ वटा चित्रले नेपाली समाजमा रहेका विभिन्न कुरीतिमाथि प्रश्न उठाउँछन्। काठमाडौंको नेपाल आर्ट काउन्सिलमा गएको शनिबारदेखि सुरु भएको ‘कलर्स अफ चेन्ज’ (परिवर्तनका रङहरू) शीर्षकको यो प्रदर्शनीमा राखिएका अधिकांश चित्रले नेपालको तराई मधेसमा रहेका सामाजिक विसंगतिमाथि व्यङ्ग्यमात्र गर्दैनन्, त्यस्ता कुप्रथामाथि प्रश्न पनि गर्छन्। पाँच दिवसीय प्रदर्शनी चैत २० सम्म चल्ने छ।

कमलको फूलमा छोरी फुलाइरहेकी ती आमा र उनको पेटमा घोच्न तयार मानिसहरूको विम्बले नेपाली समाजमा रहेको भ्रुण हत्यालाई देखाउँछ। छोरीलाई दुःखको पर्याय देख्ने समाजिक सोचलाई यो चित्रमार्फत उनले प्रहार गरेकी छन्।

मिथिलाकलामा अधारित आफ्ना चित्रहरूले समाजमा भइरहेको परिवर्तनलाई इङ्गित गरेको चित्रकार यादवको भनाई छ।  

एउटा चित्रमा नेपालमा व्याप्त छुवाछुत प्रथालाई देखाइएको छ। प्रदर्शनीका सबै पेन्टिङमा सामाजिक विषयहरू रहेको चित्रकार यादवले बताइन्। ‘हाम्रो समाजमा जति विभेद छन्, बाल विवाह, दाइजो प्रथा, छुवाछुत, बालिका भ्रूण हत्या, यसैलाई विषय बनाएको छु’, उनले भनिन्, ‘यसका साथै महिला सशक्तिकरणलाई चित्रमा देखाएको छु।‘ दाइजोका नाममा हुने केटाहरूको व्यापारलाई पनि उनले आफ्ना चित्रमा समेटेकी छन्।

नेपाली महिलाहरू अहिले पनि समाजले बनाएको बन्धनभित्र बाँधिनुपरेको अवस्थालाई चित्रमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ। चित्रकलाले समाजमा सकारात्मक तरङ्ग ल्याओस् भन्ने आफ्नो चाहना रहेको उनले सुनाइन्। महिलाहरुलाई पनि शिक्षा र अवसर दिएमा देश हाँक्न सक्छन् भन्ने सन्देश चित्रमा छ।

बाल्यकालदेखि नै चित्रकलामा शौखिन उनले घरका भित्तामा नै धेरै चित्र बनाइन्। भन्छिन्, ‘कहिले कहिले त घरमा दिनभर चित्र बनाएर गाली पनि खान्थेँ।‘

६/७ कक्षा पढ्न थालेदेखि नै कपडामा चित्र बनाउन थालेको गएका ७ वर्षदेखि व्यावसायिक रुपमा चित्र बनाउन थालिन्। तराई मधेसमा कयौँ समाजिक विकृति नजिकबाट देखेकी उनले  त्यसैलाई चित्रमा उतारिन्।

‘मेरो नजिको गाउँमा दाइजोको कारणले पुरै परिवार मिलेर मारेको घटना देखेँ। त्यो देखे पछि यस्तो कुरीतिको लागि म पनि केही त गरुँ भन्ने लाग्यो’, भन्छिन्, ‘मैले चित्रको माध्यमबाट यस्ता कुरीति हटाउन प्रयास गर्छु भनेर चित्रमा सामाजिक मुद्धालाई प्राथमिकता दिएको हुँ।’

यसै वर्ष उनले बङ्गलादेशमा चित्रकला प्रदर्शनी गरेकी थिइन्। तर एकल चित्रकला प्रदर्शनी भने यो नै पहिलो भएको उनले बताइन्।

आफ्ना चित्रसँगै रञ्जु। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.