खेलमैदान बनाउन जुटे भकुण्डेवासी

खेलमैदान बनाउन जुटे भकुण्डेवासी

बेंसीसहर : चाउरी परेका गालामा फुलेका दाह्री। आँखामा पावरवाला चस्मा। शरीरमा स्टकोट र टाउकोमा ढाकाटोपी लगाएका अमरबहादुर रावल उमेरले ८० पुगे। यो उमेरमा खेल्न त के हिँडडुल गर्नसमेत उनलाई गाह्रो छ।

तर, आफू खेल्न नसकेर के भयो त, छोरानातिका लागि चर्को घामको प्रवाह नगरी गाउँमा खेलमैदान बनाउन उनी श्रमदानमा जुटेका छन्।

रावल मात्र हैन उनकै दमलीका दर्जनौँ महिला पुरुष आफ्ना नाति पुस्ताका लागि खेल मैदान बनाउन श्रमदान गरिरहेका छन्। बेंसीसहर नगरपालिका–२ भकुण्डेमा स्थानीय अन्नपूर्ण युवा क्लबको अगुवाई बनिरहेको फुटबल मैदानका लागि बृद्धबृद्धाहरुले श्रम गरेका हुन्। बृद्धबृद्धासँगै युवा र बालबालिका पनि खेलमैदान निर्माणमा जुटेका छन्।

‘हाम्रो खेल्ने उमेर त सकियो, अब छोरानाति राम्रो मैदानमा खेलेको हेर्न मन छ’, अमरबहादुर रावलले भने, ‘छोरानातिकै लागि भनेर सकि नसकी श्रम गरेको छु। चन्दापनि दिएको छु।’

भकुण्डेको खत्रीगाउँ नजिकैको गौचरन जमिनलाई सम्माएर खेलमैदान निर्माण गरिएको छ। इलेभेन ए साइडको खेलमैदान निर्माण गर्ने योजना गाउँलेको छ। सीमित स्रोत साधनका कारण हाल नाइन ए साइडको मैदान निर्माण भएको छ। २५ रोपनी क्षेत्रफलमा बनाउन लागिएको मैदानका लागि साढे नौ रोपनी जग्गा व्यक्तिसंग किन्नुपर्ने हुन्छ।

खेलमैदानका लागि काजीराम बस्नेतले १ रोपनी, पदमकुमारी खड्काले साढे ८ आना, विष्णुमाया खड्काले ९ आना, ले.खड्कबहादुर बस्नेतले ९ आना जग्गा दान दिएका छन्। बाँकी ७ रोपनी जग्गा किन्नका लागि चन्दा संकलन गरिएको खेलमैदान निर्माण समितिका अध्यक्ष मिलन थापाले बताए।

१०५ मिटर लम्बाई र ७० मिटर चौडाईको खेलमैदानसँगै स्टेडिएम, कवर्डहल निर्माण गर्ने गाउँलेको योजना छ। सबै निर्माण सक्न साढे २ करोड रुपियाँ लाग्ने अनुमान छ।

हालसम्म प्रतिनिधि सभा सदस्य एंव नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद पूर्वाधार कोषबाट १४ लाख र बेसीसहर नगरपालिकाले ५ लाख रुपैयाँ मैदान निर्माणमा सहयोग गरेका छन्। स्थानीयले ४ लाख ७८ हजार २ सय ७२ रुपियाँ चन्दा संकलन गरेर खर्च गरेका छन्।

‘गाउँले सबै मिलेर खेलमैदान निर्माणमा जुटेका छौं। चर्को घामको प्रवाह नगरी २०० गाउँले ढुंगा निकाल्ने, माटो सम्माउने जस्ता काम गरेका छन्’, अन्नपूर्ण खेलमैदान निर्माण समितिका सचिव गोविन्द खड्काले भने। उनका अनुसार गाउँका बुढापाका, आमा समूह, युवाहरु सबैले खेलमैदान निर्माणमा श्रमदान गरेका छन्।

खेलमैदान निर्माणले गाउँलेमा खुसी छाएको वडाअध्यक्ष गणेश कंडेलले बताए । खेलमैदान पूर्ण रुपमा सम्पन्न गर्न आफूहरू लागिपर्ने उनले बताए। अन्नपूर्ण युवा क्लबका अध्यक्ष दीपक खड्काले खेलमैदान निर्माणले युवाहरुमा उत्साह थपिएको बताए। खेलमैदान निर्माण पूरा भएपछि प्रदेश स्तरीय खेल खेलाउन सकिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.