बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्षमाथि हातपात
बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात भएको छ। रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किदै गर्दा बलबहादुर भण्डारी लगायत ५/६ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताए।
उनले भने ‘म सडकको विषयमा छलफल गरेर वडा नम्बर ४ का अध्यक्षसँगै फर्किरहेको थिए। एक्कासी म माथि हातपात भयो। दिउँसो साढे ४ बजेतिर म माथि आक्रमण भएको हो।’
अध्यक्षसँगै रहेको वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीच जंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो। उनले भने ‘चार पाँच जनाको समूह आएर उहाँमाथि लट्ठीले आक्रमण गर्यो। हामीले तपाईँ भाग्नुस भन्यौं, त्यसपछि उनीहरुले ढुंगा फ्याकेर आक्रमण गरे। भाग्यबस अध्यक्षज्यूलाई ढुंगा नलाग्दा अप्रिय घटना हुन पाएन।’
अध्यक्ष चन्दमाथि हातपात गर्ने समूह भागेको छ भने अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको र हातपात गर्ने समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। घटना के कति कारणले भयो भन्ने बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए।
उनले भने ‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। सडकको विषयमा पनि विवाद थियो भन्ने खालको कुरा सुनिएको छ। के भएको रहेछ हामी बुझ्ने प्रक्रियामा छौं।’ गाउँपालिका अध्यक्ष चन्दले भने सडकका बिषयमा कुनै विवाद नरहेको दाबी गरे।