अंकुशमा उपल्ला कर्मचारी

अंकुशमा उपल्ला कर्मचारी

सरकारले नीति–निर्माण र कार्यान्वयन तहमा संलग्न उच्च अधिकारीलाई अवकाशपछि ‘तत्काल’ दातृ सेवा प्रवेशमा रोक लगाउन खोज्दै छ । कर्मचारीतन्त्रमा पदमा रहँदा सरकारी साधन/ स्राेतको अनेक कोणबाट शोषण गर्ने र पदबाट बाहिरिएपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय संस्थामा परामर्शदाता बन्ने उनीहरूको खेल रोक्ने उद्देश्यअनुरूप कानुनी मस्यौदा तयार भएको हो । त्यसो त, परामर्शदाता मात्र होइन, कतिपय त जागिरे नै बन्छन् ।

प्रस्तावित ‘संघीय निजामती सेवा विधेयक’ मा अवकाश प्राप्त सचिव, सहसचिव र सोसरहका हकमा तिनको दुई वर्ष ‘कुलिङ पिरियड’ अर्थात् पदीय रौनक चिस्याउने नीति सरकारले लिएको छ । उता प्रशासन सुधार आयोगले उच्च अधिकारीको पदावधि पाँच वर्ष तोकिनुपर्ने प्रस्ताव गरेको थियो । उपल्ला तहका कर्मचारीकै हातबाट विधेयक प्रस्तावित भएपछि कुलिन पिरियड दुई वर्ष कायम गर्न सफल भएका हुन् । बाह्य मुलुकको अभ्याससमेत अध्ययन गरेर मात्र कानुन निर्माण हुनुपर्छ ।

प्रस्तावित मस्यौदाले कानुनी रूप लिएमा सरकारी सेवाका सचिव र सहसचिवहरू ‘दुई वर्षसम्म कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वा दातृ निकायमा जागिर र परामर्श सेवा’ का निम्ति अयोग्य हुनेछन् र व्यवस्थाविपरीत काम गरेमा सेवासुविधा खोसिनेछ । सेवामा रहँदा मुलुकको हितमा भन्दा दाता तथा स्वार्थी समूहलाई लाभ पुर्‍याउने क्रियाकलापमा संलग्न हुने र अवकाशपछि तिनैको परामर्शदाता र जागिरे बन्ने प्रवृत्ति ह्वात्तै मौलाएपछि रोकावट नीति आएको हो । त्यसअतिरिक्त सरकारको पूर्वस्वीकृतिविना कुनै काम गर्न नपाउने कठोर प्रस्ताव पनि सरकारको छ । जागिर हुँदाकै बखत कानुन उल्लंघन गर्ने कर्मचारीहरूले जागिरपछि त्यसको पालना गर्छन् भन्न सकिन्न । सरकारी निगरानी नभएमा यो केवल हात्तीको देखाउने दाँतमा सीमित हुनेछ ।

सरकारी कानुनी व्यवस्था विशेषगरी आईएनजीओ र दातृ समुदायलक्ष्यित देखिन्छ । तर उपल्ला तहका पात्रहरू दाता मात्र होइन अनेक स्वार्थ बोकेका व्यापारिक कम्पनी र फर्ममा कार्यकारी पदमै संलग्न भएका भेटिन्छन् । सरकारी पदमा रह“दाका बखत फाइदा पुर्‍याएवापत तिनले आकर्षक जागिर पाउने हुन् । यसमा विधेयकलाई मौन राखिएको हो या कर्मचारीकै स्वार्थमा यो बुँदा नपरेको हो ? यस्ता खालका दृश्य चर्कै ढंगले बढेकाले संशोधन हुनुपर्छ । अर्कोतिर विधेयकमा निजामती कर्मचारीलाई मात्र समेट्न खोजेको देखिन्छ , तर, यो सुरक्षा संयन्त्रका उपल्ला तहका कर्मचारीदेखि न्याय सेवाका हकमा समेत लागू हुनुपर्छ । अर्थात्, नागरिकको कर भोग गर्ने हरेक सरकारी सुविधाभोगीहरूलाई ‘कुलिङ पिरियड’ भित्र पार्नुपर्छ ।

हामीकहा“ सचिव तथा उपल्ला श्रेणीका पात्रहरू संवैधानिक, कूटनीतिक, आवधिक आयोगका पद प्राप्त गर्न मन्त्री र राजनीतिकर्मीहरूलाई लोभ्याउने र रिझाउने प्रवृत्तिबाट लिप्त छन् । उनीहरू राजनीतिक पात्रलाई खुसी पार्न कानुनविपरीतका क्रियाकलापमा संलग्न हुन पनि पछि पर्दैनन् । तिनीहरू सरकारी कामभन्दा चाकडीमा लिप्त भएकै कारण सरकारी सेवा तहसनहस हुँदै गएको हो । तिनै सरकारी अधिकारीको छाडापनका कारण सुशासन खस्किएको छ र विकास बजेट खर्च हुन नसकेको अवस्था छ । अक्षम र निष्क्रिय निकायमा परिणत भइरहँदा पनि उपल्ला हाकिम जवाफदेही हुँदैनन् । तिनै पात्रहरू अझ पुरस्कृतको हुनुको दुर्भाग्यपूर्ण नियति मुलुकले खेप्दै आएको छ ।

संवैधानिक अंगहरू क्रियाशील हुन नसक्नु र अपेक्षित प्रतिफल प्राप्त हुन नसक्नुमा थाकेर थिलथिलो भएका तिनै कर्मचारीलाई नियुक्ति दिनु पनि हो । त्यसकारण दातृ निकाय मात्र होइन, अब संवैधानिक र अन्य प्रकृतिका सरकारी पदमा नियुक्तिमा पनि वर्जित गर्नुपर्छ । अर्कोतिर कर्मचारीलाई मात्र होइन, प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार र विज्ञका हकमा समेत यस्तो नियम चाहिन्छ । व्यापारिक लगानीकर्ता र दाताको निगाहमा गैरसरकारी संस्था सञ्चालन गरिरहेकै पात्रहरूको नियुक्ति सरकारी संयन्त्रमा बाक्लिँदो छ ।

कडा मस्यौदा प्रस्ताव भए पनि संसद्बाट विधेयक पारित हुँदाका बखतसम्म यसमा तलमाथि हुन सक्ने सम्भावना जीवित छ । किनभने विगतमा संसदीय समितिमा विचाराधीन हुँदाकै बखत पनि तोडमोड भएका उदाहरण छन् । शक्तिशाली उपल्ला तहका कर्मचारीहरूले निजामती ऐन–नियमलाई आफ्नो खेलौनासरह बनाएका छन् । त्यहीकारण बढी संशोधित हुुनेमा निजामती ऐन–नियम पर्छ । अर्कोतिर स्वार्थको द्वन्द्वका सवालमा सामान्य बहससमेत नभएको स्थिति छ । स्वार्थको सामान्य सीमारेखा पनि नछुट्टिनुको दुर्भाग्य लोकतन्त्रले खेप्दै छ । स्वार्थको बझानबाट बचाउन निजामती कर्मचारीका हकमा मात्र होइन कि नागरिकको कर खाने हरेक सरकारी सुविधाभोगीलाई अंकुश लगाउने गरी सरकारले कानुन निर्माण गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.