सिसडोलमा फोहोर फाल्न अवरोध : सयौं कन्टेनर फर्किए
नुवाकोट : मिनी ट्रकले ठक्कर दिँदा मंगलबार एक बाललको मृत्यु भएपछि नुवाकोटको सिसडोलमा फोहोर फाल्न स्थानीयले अवरोध गरेका छन्। एक बालकको ज्यान गएको र अर्का एक बालक गम्भीर घाइते भएपछि आक्रोशित बनेका स्थानीयले राजधानी उपत्यकाको फोहोर फाल्न रोक लगाएका हुन्।
स्थानीयको अवरोधपछि सयौं कन्टेनर फिर्ता भएका छन्। उपत्यकाको सात सय टन फोहोर दैनिक नुवाकोटको ककनी गाउँपालिका २ सिसडोलमा बिसर्जन हुँदै आएको छ। सिसडोलमा मंगलबार अपरान्ह फोहोर फाल्ने क्रममा बा ४ ख ९६४७ नम्बरको फोहोर बोक्ने मिनी ट्रकले ठक्कर दिँदा ओखरपौबाका स्थानीय १३ वर्षीय संजोक नेपाली गम्भीर घाइत छन्।
उनको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्करबाट स्थानीय १२ वर्षीय राजन नेपाली गम्भीर घाइते छन्। एक बालकको मृत्यु भएको र अर्का बालक घाइते भएको विरोधमा स्थानीयले फोहोर फाल्न नदिएको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए।
बालकको मृत्यु भएपछि स्थानीयले फोहोर बोकेर गएका कन्टेरलाई नुवाकोट प्रवेश गर्ने सीमा तीनपिप्लेमै रोकेका छन्। स्थानीयले पीडितलाई क्षतिपूर्ति, घाइते बालकको निःशुल्क उपचार, कक्षा १२ सम्मको अध्ययन र दोषीलाई कारबाहीको माग गर्दै अवरोध गरेका हुन्।
विरोधमा उत्रिएका पीडित पक्षले उचित क्षतिपूर्ति नपाएसम्म मृतक बालकको शव बुझ्न अस्वीकार गरेका छन्। बालकको शव काठमाडौँस्थित ग्राण्डी अस्पतालमा राखिएको छ। घाइते बालकको समेत सोही अस्पतालमा उपचार भइराखेको छ।