बाजुरामा निःशुल्क स्वास्थ्य शिविर
बाजुरा : बाजुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र बडिमालिका नगरपालिकाको संयुक्त आयोजनामा बुधबारदेखि शिविर सुरु भएको प्रदेशका जनस्वास्थ्य अधिकृत रमेश कुँवरले जानकारी दिए।
स्वास्थ्य शिविरमा बालरोग, स्त्री रोग, हाडजोर्नी तथा नसा सम्बन्धि समस्यासँगै आँखा र दाँतको उपचार हुने अधिकृत कुँवरको भनाइ छ। शिविरको पहिलो र दोस्रो दिन बिरामी दर्ता र चेकजाँच गर्ने र तेस्रो दिनबाट शल्यक्रिया सेवा दिने कुँवरको भनाइ छ।
शिविरमा कर्णाली स्वास्थ्य प्रतिष्ठानका १५ चिकित्सक सहभागी हुने बाजुरा जिल्ला अस्पतालका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए। पाँच दिन सञ्चालन हुने शिविरमा बिरामीको चाप बढ्दै गए समय थप गर्न सकिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक पुजन रोकायाले जानकारी दिए।
विशिरको उद्घाटन बुधबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद सुवेदीले गरेका छन्। बाजुरा जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र रोकायाले शिविरबाट सबैले लाभ लिने विश्वास व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी चेत्तराज बरालले बाजुराको स्वास्थ्य क्षेत्रमा योगदान दिने चिकित्सकलाई धन्यवाद दिँदै समायोजनबाट नयाँ चिकित्सक नआएसम्म काम गर्न अनुरोध गरे। शिविरमा स्थानीयको भिड लागेको छ।