४० लाखको कपडा बरामद
सिमरा : भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा प्रहरीले बाराको जीतपुरबाट ४० लाख मूल्य बराबरको कपडा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय जीतपुरको प्रहरीले राजमार्ग चेकजाँचका क्रममा भन्सार छलेर ट्रकमा लुकाएर ल्याउदै गरेको कपडा बरामद गरेको हो।
सूचनाको आधारमा चेकजाँच गर्दा ना ५ ख ७९८४ नम्बरको ट्रकबाट कपडा बरामद गरेको प्रहरी नायब निरीक्षक सागर राणाले जानकारी दिए। ड्रममा केमिकल बोकेको ट्रकमा त्रिपालले छोपेर राखिएको २२ पोका कपडाको कागज माग्दा नदिएपछि भन्सार छलेर ल्याएको आशंकामा बराम गरिएको उनको भनाइ छ।
पोकाभित्र सुट, कुर्ता-सुरुवाल, साडीलगायत महंगा कपडा रहेको उनको भनाइ छ। बरामद गरिएको कपडाको बजार मूल्य ४० लाख रहेको राणाले बताए। कपडा, ट्रक र चालकलाई पथलैयास्थित राजश्व अनुसन्धान ईकाई कार्यालयमा बुझाएको उनको भनाइ छ।