आगलागीले ६० लाखको क्षति, तर दुई मिनेट पर दमकल भए पनि काम लागेन !
मलंगवा : सर्लाही सदरमुकाम मलंगवा–१० स्थित बुधबार राति आगलगी हुँदा पाँचवटा पसल जलेर नष्ट भएका छन् ।
आगलगीबाट करिब ६० लाख बराबरको क्षति भएको पीडित व्यापारीले दावी गरेका छन् । मध्यरातमा आगलगी हुँदा राजनारायण ठाकुर र प्रमोद ठाकुरको फर्निचर उद्योग, हुसैनी मुकेरीको सिरक–डसना बनाउने पसल र त्यसमा रहेको मेसिन, राम किसुन पण्डितको किराना पसल, पिन्टु यादवको फ्याक्स प्रिन्ट बनाउने समान र शम्भु ठाकुरको शैलुन जलेर नष्ट भएको हो ।
सबैजना सुतिरहेको अवस्थामा फर्निचर पछाडि रहेको शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट आगलगी भएको प्रहरीले जनाएको छ ।
आगलगीले धेरै वस्तु नष्ट गर्न थालेपछि मात्रै बिहान करिब १ बजे स्थानीयबासीले थाहा पाएका थिए । आगलगीमा राजनारायणको २५ लाख, प्रमोदको १५ लाख मुकेरीको ४ लाख, रामकिशुनको १० लाख, शम्भुको २ लाख ५० हजार र पिन्टुको ३ लाख बराबरको क्षति भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
तर २ मिनेटको दूरीमै थियो दमकल
मलंगवा नगरपालिकाको दमकल बिग्रेर रहेको हुनाले आगो नियन्त्रण समयमै हुन नसकेको पनि स्थानीयको गुनासो थियो । ‘दुई मिनेटको दूरीमै राखिएको मलंगवाको दमकल समयमा आएको भए क्षति हुदैन्थ्यो’, दिपु ठाकुरले भने, ‘दमकल नआउँदा केही मिनेटमै आगोले ठूलो रुप लियो । आगलगी भएको एक घण्टापछि बल्ल ३० किलो मिटर पर रहेको हरिवन नगरपालिकाको दमकल आएको थियो ।’
स्थानीयहरु भने हावाहुरीका कारण आगलगीका घटना भइराख्ने हुँदा दमकल २४ सै घण्टा तयार राख्नुपर्ने भन्दै आक्रोशित बनेका थिए । लामो समयदेखि बिग्रेर राखिएको दमकललाई समयमै बनाएर राखेको भए यति ठूलो क्षति हुँदैनथ्यो भन्दै उनीहरुले स्थानीय प्रशासनसँग आक्रोश व्यक्त गरे ।
नगरपालिकाले भने पुरानो दमकललाई मर्मत नगरिकनै फालिराखेको छ । नयाँ पनि मर्मत गर्न चासो देखाएको छैन । तराईका क्षेत्रमा आगलगीका घटना भइराख्दा दमकल भने समयमै पुग्न नसकेर ठूलो क्षति हुने गरेको छ ।
मलंगवामा पनि आगलागी भएका पसल र दमकल राखिने स्थान दुई मिनेटको फरकमा मात्रै छ । तर पनि दमकललाई उपयोगमा ल्याउन नसकिएको भन्दै स्थानीयले गुनासो गरेका थिए ।
हरिवनबाट आएको दमकलले आगोलाई नियन्त्रण नगरेको भए छेउछाउका धेरै घर पसल सखाप हुने उनीहरुको अनुमान छ । आगोलाई दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा बिहीबार बिहान साढे दुईबजेपछि मात्रै नियन्त्रणमा लिइएको थियो ।